डडेल्धुराः डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करूणाकर ओझामाथि दुर्व्यवहार भएको घटनाप्रति अस्पताल प्रशासनले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ।
अस्पतालद्वारा जारी प्रेस विज्ञप्तीअनुसार बुधबार दिउँसो १ः ३५ बजे अध्यक्ष ओझालाई उनकै कार्यकक्षभित्र नेकपा बहुमतको नाम लिएका केही व्यक्तिहरूले दुर्व्यवहार गरेका थिए। प्रमाणविहीन र तथ्यहिन आरोप लगाउँदै अस्पतालजस्तो संवेदनशील र पवित्र संस्थाभित्र गरिएको उक्त व्यवहारले अस्पताल प्रशासनलाई लज्जित बनाएको विज्ञप्तीमा उल्लेख छ।
विकास समिति अध्यक्ष ओझा यस क्षेत्रको समग्र स्वास्थ्य प्रणाली सुदृढ गर्न तथा बिरामीलाई सहज, प्रभावकारी सेवा दिन निरन्तर अग्रपङ्क्तिमा खटिँदै आएको अस्पतालको भनाइ छ। यस्ता घटनाले अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष असर पर्नुका साथै कर्मचारी तथा पदाधिकारीहरूको मनोबल गिराउने अस्पतालको ठहर छ।
अस्पताल विकास समितिले उक्त घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।
घटनापछि कर्मचारीको मनोबल कमजोर बनेको जनाउँदै अस्पतालले भोलि विहीबारदेखि आकस्मिक सेवा बाहेक अन्य सबै सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
यस्तो छ अस्पताल विकास समितिको विज्ञप्ति









