काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकीकृत छाता ऐन ल्याउन नहुने बताएकी छिन्।
मन्त्रालयले आयोजना गरेको वित्तीय व्यवस्थापन सम्बन्धी गोष्ठीमा मन्त्री गौतमले एकीकृत ऐनले स्वास्थ्य विज्ञान प्रतिष्ठानको उन्नती नभई अवनति गर्ने बताइन्।
उनले भनिन्, ‘मैले प्रतिष्ठानको एकीकृत छाता ऐनको ड्राफ्ट पढेर हेरे। त्यो अहिले नगरौँ भन्छु म। यसले प्रतिष्ठानहरुको उन्नति होइन अवनति गर्ने देखिन्छ।’ सबै प्रतिष्ठानहरुको फरक फरक उद्देश्य, सिद्धान्त, दक्षता र विज्ञता भएकाले सबैलाई एकै ठाउँमा राख्नु उपयुक्त नहुने उनले बताइन्।
सबै प्रतिष्ठानलाई एउटै छातामुनि राख्न त्यो व्यावहारिक नहुने र यसले गुणस्तर समेत घट्ने उनको भनाइ छ।
‘प्रत्येक प्रतिष्ठान आ आफ्नो सिद्धान्त, दक्षता, विज्ञता छ। त्यसैले सबैको सिद्धान्त र उद्देश्यलाई एकै ठाउँमा राख्दा त्यो व्यावहारिक पनि हुँदैन र यसले गुणस्तरीय पनि घट्दो रहेछ। एकीकृत हुँदैमा राम्रोसँग चल्छ भन्ने हुँदैन।’ उनले भनिन्।









