नेपालगन्जः लुम्बिनी प्रदेश सरकारले आफू मातहतका सबै अस्पताल विकास समितिहरू विघटन गरेको छ । वैशाख १६ गते बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।
प्रदेशको आर्थिक, समामाजिक तथा पूर्वाधार समितिको सिफारिसबाट १४ वटा अस्पतालको विकास समिति विघटन गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री खेम सारु मगरले जानकारी दिए ।
केही अस्पतालमा समितिको म्याद सकिएको र केहीमा पुर्ननियुक्ति गर्नु पर्ने भएकाले सबै विकास समितिहरु एकैसाथ विघटन गरिएको मन्त्री मगरले बताए ।
समिति विघटनको निर्णय वैशाख १६ गते भए पनि सार्वजनिक गरिएको थिएन । एमाले–कांग्रेस बीचमा सत्ता समीकरण हुँदा त्यसै अनुकूलका व्यक्ति मनोनित गर्न अस्पताल विकास समितिहरू विघटन गरिएको बताइएको छ ।
समिति विघटन गरिएका अस्पतालहरूमा दुई दलबीच कुन अस्पतालमा कसलाई अध्यक्ष बनाउने भन्नेबारे मोटामोटी सहमति भइसकेकाले छिट्टै नै नयाँ समिति गठन गरिने बताइएको छ ।
दाङमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पताल गरी दुई र १२ जिल्ला अस्पताल गरी लुम्बनी प्रदेशमा १४ वटा अस्पताल प्रदेश सरकार मातहत छन् ।