पुष ४ देखि फर्मासिस्ट र फार्मेसी सहायकलाई नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य

    • स्वास्थ्य पेज

  • ५ मंसिर २०८१, बुधबार

काठमाडौंः नेपाल फार्मेसी परिषद्ले पुष ४ देखि फर्मासिस्ट र फार्मेसी सहायकलाई नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य गरेको छ। परिषद्ले एक सूचना जारी गर्दै उक्त नियमका विषयमा जानकारी दिएको हो।

‘फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिस्ट र फार्मेसी सहायकले आगामी पुष ४ देखि औषधि डिस्पेन्सिङ गर्दा देहायको नामट्याग सहितको सेतो एप्रोन लगाएर मात्र डिस्पेन्सिङ गर्नुपर्नेछ,’ परिषद्ले जारी गरेको सूचनामा भनिएको छ, ‘फर्मासिस्ट र फार्मेसी सहायकले यसको उल्लंघन गरेमा परिषद्को कोड अफ कन्डक्ट पालना नगरेको मानिनेछ ।’

फर्मासिस्टले सेतो एप्रोनको हरियो ब्याकग्राउन्ड र सहायकले निलो ब्याकग्राउन्डमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अंकित भएको एप्रोन प्रयोग गर्नुपर्ने परिषद्ले जनाएको छ । औषधि ऐन २०३५ को दफा १७ को उपदफा २ ले औषधि चिकित्सकको सल्लाहबमोजिम बिक्रि वितरण गर्दा फर्मासिस्ट, फार्मेसी सहायक वा व्यवसायी आफैँले गर्नु पर्नेछ ।

फर्मासिस्ट, फार्मेसी सहायक वा व्यवसायी बाहेक अरुले त्यस्तो औषधि बिक्रि वितरण गर्दा पनि उपस्थिति भने अनिवार्य गरिएको छ । तर विभिन्न समयको अनुगमनमा फार्मेसी पसलमा फर्मासिस्ट हुँदैनन् । फार्मेसी पसलमा फर्मासिस्ट नभई अन्य कुनै अनाधिकृत व्यक्तिको संलग्नतामा औषधिको बिक्रि वितरण गरिहेका छन् ।

औषधिको बिक्रि वितरण गर्दा फर्मासिस्टको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरेपनि यो व्यवहारमा लागू भने भएको छैन । साथै ४ पुसबाट ड्रेसकोडको पालना भए-नभएको सम्बन्धी अनुगमन परिषद्बाट हुने र पालना नभएको अवस्थामा परिषद्को नियमावली २०५९ को परिच्छेद ३ को ३.२ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने परिषद्ले जनाएको छ ।

  • ५ मंसिर २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech