बाँके डेंगुको उच्च जोखिममाः ७ महिनामा १७ जनामा डेंगु

गत आ.व. ०८०-०८१ मा सबैभन्दा बढी कोहलपुर नगरपालिकामा ४५, खजुरामा ३६, नेपालगन्जमा १२ र बैजनाथ गाउँपालिकामा १ जनामा डेंगु पुष्टि भएको थियो ।


    • स्वास्थ्य पेज

  • ३० श्रावण २०८१, बुधबार

नेपालगन्जः सन् २०२४ को ७ महिनामा बाँकेमा १७ जनामा डेंगुको उपचार गरिएको छ । बाँकेको भेरी अस्पताल, मेडिकल कलेजमा १७ जनाले डेंगुको उपचार गराइएको स्वास्थ्य कार्यालय बाँकेकी कीटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी गराइन् । । आर्थिक बर्ष ०८०-०८१ मा अस्पताल बाहेक बाँकेका स्वास्थ्य संस्थामा ९४ जनामा डेंगु पुष्टि भएको तथ्यांक छ ।

स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अनुसार, गत आ.व. ०८०-०८१ मा सबैभन्दा बढी कोहलपुर नगरपालिकामा ४५, खजुरामा ३६, नेपालगन्जमा १२ र बैजनाथ गाउँपालिकामा १ जनामा डेंगु पुष्टि भएको थियो । यसबर्ष नेपालका चार जिल्ला बाहेक सबै जिल्लामा डेंगु संक्रमित फेला परिसकेका छन् ।

हिमाल, पहाड र तराईका जिल्लाहरूमा निरन्तर डेंगु संक्रमित फेला परिरहँदा त्यसको नियन्त्रण चुनौति बनिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको संख्या तिव्र बढिरहेको छ । हालसम्म देशभर ३ हजार ८४ जनामा डेंगुको संक्रमण देखिइसकेको छ । यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण बढ्ने आँकलन गरिएको थियो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार असोजदेखि मंसिरसम्म जिल्लामा डेंगु संक्रमित बढी फेला पर्ने गरेका छन् । स्वास्थ्य कार्यालय बाँकेकी कीटजन्य रोग फोकल पर्सन गौतमले डेंगु फैलाउने मच्छरका लागि उपयुक्त वातावरण भदौंदेखि मंसिरसम्म हुने गरेको बताउँछिन् । ‘विगतको तथ्यांक हेर्दा डेंगु फैलने जोखिम असोजदेखि सुरु हुन्छ’, उनले भनिन्, ‘अन्य समयमा पनि संक्रमित फेला परिरहेको पाइन्छ ।’

उच्च ज्वरो आउनु,जोर्नी र मांशपेशीहरूमा असह्य पीडा हुनु, आँखाको गेडी दुख्नु, अत्याधिक टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु, यस्ता लक्षणहरु देखापरेमा डेंगी हुन सक्छ । तत्काल चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्ने उनको भनाइ छ ।

लामखुट्टेबाट बच्न पूरै शरिर ढाक्ने लुगा लगाउने, घर, कार्यस्थल र सार्वजनिक स्थानमा पानी जम्न नदिने, पानी राखेको भाँडालाई छोपेर राख्ने, लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउनले, घरभित्र लामखुट्टे छिर्न नसक्ने गरी झ्याल –ढोकामा जाली र सुत्ने बेलामा झुल लगाएर सुत्ने, अध्याँरा कुना–काप्चामा किटनाशक औषधी छर्कने र एयर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएका प्लेटहरु नियमित सफा गर्ने हो भने डेंगुबाट बच्न सकिने उनले बताइन् ।

  • ३० श्रावण २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech