गर्भपतनको कति समयपछि फेरि गर्भधारण गर्न सकिन्छ ?

    • स्वास्थ्य पेज

  • ६ श्रावण २०८१, आईतवार

गर्भपतन कुनै पनि दम्पतीका लागि पीडादायी अनुभव हो । विशेषगरी महिलाका लागि यो शारीरिक र भावनात्मक रूपमा पीडादायी हुन्छ । गर्भपातपछि फेरि गर्भवती हुनु चिन्ताको विषय हुनसक्छ, किनकि एकपटक महिलाले आफ्नो सन्तान गुमाएपछि फेरि गर्भधारण गर्न डर हुन्छ । धेरै दम्पतीको दिमागमा आउँछ- गर्भपतनपछि कति समयपछि गर्भधारण गर्नुपर्छ ?

यदि कुनै महिलाले गर्भपतनपछि पुन: गर्भधारण गर्ने योजना बनाइरहेकी छिन् भने केही कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

गर्भपतनपछि कति समय आराम गर्ने ?

चिकित्सकले शल्यक्रिया गरेर गर्भपतन गर्दा लामो समयसम्म रक्तस्राव हुँदैन । दुई-तीन दिन आराम गरेर स-साना काम गर्न सकिन्छ । तर जसको विभिन्न औषधि सेवनका कारण वा अन्य कारणले प्राकृतिक रुपमा गर्भपतन हुन्छ उनीहरूमा लामो समयसम्म रक्तस्राव हुन्छ । भारी रक्तस्राव सामान्यतया चारदेखि ६ दिनसम्म देखिन्छ । यस्तो अवस्थामा महिलालाई कम्तीमा चारदेखि ६ हप्ता आराम गर्न सल्लाह दिइन्छ ।

दुई हप्तापछि महिलाले घरमा केही हल्का काम र हल्का शारीरिक क्रियाकलाप पनि गर्न सक्छन् । गर्भपतनपछि निको हुन कति समय लाग्छ भन्ने कुरा महिलाको शारीरिक अवस्था र गर्भपतन कसरी भएको हो भन्ने कुरामा निर्भर हुन्छ ।

गर्भपतनको कति समयपछि यौन सम्पर्क सुरक्षित हुन्छ ?

गर्भपतनपछि फेरि गर्भपतन गर्ने योजना बनाउनुअघि केही महिना कुर्नुपर्ने हुन्छ । सामान्यतया संक्रमणको जोखिमका कारण गर्भपतनपछि दुई हप्तासम्म शारीरिक सम्बन्ध नगर्न सल्लाह दिइन्छ । गर्भधारण गर्नुअघि कम्तीमा एक अवधि (४ देखि ६ हप्ता) कुर्नुपर्छ, ताकि शरीर पूर्ण रूपमा निको हुन सक्छ र फेरि गर्भधारण गर्न तयार हुनसक्छ । धेरै अवस्थामा चिकित्सकहरुले एकदेखि तीन महिनासम्म शारीरिक सम्बन्ध नगर्न सल्लाह दिन सक्छन् ।

गर्भपतन भएको कति समयपछि पुन: गर्भधारण गर्न सकिन्छ ?

सामान्यतया, गर्भपतन गरेको दुई महिनापछि महिलाले ओभ्युलेसन सुरु गर्न सक्छिन् । यो गर्भावस्था योजनाका लागि राम्रो समय मानिन्छ । अनुसन्धानअनुसार ७० प्रतिशत महिलाले गर्भपतनपछि अर्को तीन महिनाभित्र पुनः गर्भधारण गर्न सक्छन् ।

भावनात्मक रूपमा तयार हुनु जरुरी

गर्भपतनपछि फेरि गर्भधारण गर्ने प्रयास गर्नुअघि महिलाका लागि शारीरिक र भावनात्मक रूपमा पूर्ण रूपमा निको हुनु महत्त्वपूर्ण हुन्छ । गर्भपतनपछि महिलालाई मानसिक अवस्था सामान्य बनाउन समय लाग्न सक्छ । यस्तो अवस्थामा फेरि गर्भधारण गर्नुअघि शारीरिक र मानसिक रूपमा तयार हुनु महत्त्वपूर्ण हुन्छ ।

गर्भधारण गर्नुअघि डाक्टरको सल्लाह लिनुपर्छ

गर्भपतनपछि फेरि गर्भधारण गर्नुअघि चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ । चिकित्सकले राम्ररी स्वास्थ्य जाँच गरेपछि गर्भधारणका लागि सही समय सुझाउँछन् ।

एजेन्सीको सहयोगमा

  • ६ श्रावण २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech