बालबालिकालाई घाउचोट लागेमा नगर्नुस् यस्ता लापरबाही

    • स्वास्थ्य पेज

  • २१ असार २०८१, शुक्रबार

बालबालिकाहरू हिँड्ने, दौडने गरिरहन्छन् । कहिलेकाहीँ लडेर वा नजानेर धारिला हतियार प्रयोग गर्दा उनीहरूलाई घाउचोट लाग्न सक्छ । यसतर्फ अभिभावक पनि सजग हुनुपर्छ । बच्चाहरू बस्ने ठाउँनजिक धारिला सामग्री राख्नुहुँदैन । उनीहरूलाई रेखदेख गरिरहनुपर्छ । कतिपयले सामान्य चोट चाँडै निको हुन्छ भन्ने सोचेर उपचारमा लापरबाही पनि गर्छन् । तर, बच्चालाई चोट लागिसकेपछि असह्य दुखाइ हुन्छ । उनीहरूको पीडालाई हल्का लिन हुँदैन ।

– बच्चालाई चोट लाग्दा ठूलो स्वरले गाली नगर्नुहोस् । गाली गर्नाले बच्चाले अर्कोपटक चोट लाग्दा अभिभावकसँग लुकाउन सक्छन् ।

– बच्चाको काटेको घाउको उपचारमा विशेष ध्यान दिनुहोस् । तत्काल घाउ किन भयो, कसरी भयो जस्ता प्रश्न गरेर बच्चालाई अनावश्यक मानसिक यातना दिनुहुँदैन । उपचार खोज्नुपर्छ ।

– घाउ लागेका वेला सकेसम्म कपास प्रयोग नगर्नुहोस्, कपास घाउमा टाँसिन्छ । काटेको घाउमा कपास टाँसियो भने पछि सफा गरेर निकाल्न गाह्रो हुन्छ ।

– काटेको घाउबाट रक्तश्राव रोक्ने परम्परागत विधि (जस्तै : मसी, खरानी, गोबर, पिठो) प्रयोग नगर्नुहोस् ।

– यदि घाउचोटमा माटोको कण, ढुंगा, बालुवा वा कुनै बाहिरी वस्तु छ भने धाराको पानीले तुरुन्तै घाउ सफा गरिदिनुपर्छ । त्यसो गर्दा थप संक्रमण हुनबाट जोगिन्छ ।

– पानीले सफा गर्दा अधिक रगत बग्न सक्छ, रगत बग्दैमा आत्तिनु हुँदैन (घाउबाट सबै देखिने कणहरू सफा गर्नुपर्छ ।

– यदि काटेको भागमा ठूलो वस्तु (जस्तै : चक्कु, ठूलो ढुंगा, काठ, सिसा) अड्किएको छ भने त्यसलाई नचलाउनुहोस् । किनभने, ठूलो वस्तुले रगत रोकेर राखेको हुन सक्छ । उक्त वस्तु निकाल्नेबित्तिकै अत्यधिक रक्तश्राव हुन सक्छ ।

– घाउमाथि कसिने गरी सफा कपडा बाँधिदिनुहोस् । बगेको रगत रोक्न सफा कपडाको सामान्य दबाबले सहयोगी भूमिका खेल्छ ।

– कतिपय अभिभावकले आफ्नो बच्चालाई घाउचोट लाग्दा आत्तिएर वरपरका व्यक्तिलाई देखाउनका लागि घाउ खोल्ने, बन्द गर्ने, पुनः खोल्ने कार्य गरेको देखिन्छ । त्यसो गर्नुहुँदैन ।

– चोट लागेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ । किनभने, ठूलो घाउलाई घरमै जानी–नजानी उपचार गर्ने कोसिस गर्दा झन् समस्या थपिन्छ । त्यसैले सफा कपडाले घाउ बेरेर बच्चालाई नजिकको स्वास्थ्य संस्थामा लैजानुहोस् ।

– एकपटक सफा कपडाले घाउ बेरिसकेपछि स्वास्थ्य संस्था नपुगुन्जेल घाउको ख्याल गर्नुहोस् ।

– कहिलेकाहीँ नसा काटिएको पनि हुन सक्छ । त्यसले रगत बग्ने गति एकदम छिटो हुन्छ । अनि अत्यधिक दुखाइ पनि हुन्छ ।

– काटेको घाउको प्रकृति हेरेर, साधारण उपचारदेखि टाँका लगाउनेसम्मको उपचार आवश्यक हुन सक्छ ।

– बच्चालाई घाउचोट लागेपछि धेरै रुन्छन् । त्यस्तो वेलामा खानेकुरा दिएर फकाउने प्रयास गरिन्छ । तर, यस्तो वेलामा खानेकुरा खुवाउनेभन्दा पनि स्वास्थ्य संस्था लैजाने हतारो गर्नुपर्छ । यदि ठूलो घाउ भएको रहेछ भने बिरामीलाई बेहोस गरेर शल्यक्रिया गर्नुपर्नेसमेत हुन्छ ।

सतर्कता 
कैँची, चक्कुलगायत धारिला सामग्रीलाई बच्चाबाट टाढै राख्नुपर्छ । अभिभावकले बच्चानजिक कुनै पनि औषधि राख्नुहुँदैन । बच्चाले खेल्दै गर्दा आफ्नो मुखमा औषधि हाल्न सक्छ, जसले उनीहरूको स्वास्थ्यमा असर पर्छ । विद्युतीय तार, फोन, स्विच बोर्डलगायतलाई बच्चाहरूनजिक राख्नुहुँदैन । कोठाको बत्तीको स्विचबाट पनि बच्चालाई टाढै राख्नुपर्छ । बच्चाले खेल्दाखेल्दै काँचको सामान फुटाउन सक्छन् र चोट लाग्न सक्छ ।

  • २१ असार २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech