गर्भावस्थामा गिजाको समस्याले के कस्ता जोखिम ल्याउन सक्छ ?

    • डा. नियुक्ति अर्जेल / गिजा तथा दन्तरोग विशेषज्ञ

  • २६ जेष्ठ २०८१, शनिबार

मुख कीटाणुहरूको प्रवेशद्वार हो । धेरै प्रकारका ब्याक्टेरिया वातावरणीय प्रदूषण, फोहोर हात वा खानामार्फत मुखमा प्रवेश गर्छन् । साथै खानाका बाँकी रहेका सूक्ष्म कणहरू पनि दाँतको बीचमा अड्किएर मुखमा सड्ने र कुहिने हुन्छ ।

स्वस्थ मुखको विशेषता भनेको स्वस्थ गिजा र दाँत हो । दैनिक एक पटक ब्रस गरेर दाँत सफा र स्वास्थ्य हुन्छ भन्ने धेरैलाई लाग्छ । तर स्वस्थ मुखको लागि दाँत मात्र होइन, गिजाको हेरचाह पनि जरुरी हुन्छ ।

गिजा दाँतको जग हो । हाम्रो दाँत हड्डीमा अड्केको हुन्छ । हामीले मुखको स्वास्थ्यलाई ध्यान दिएनौ भने गिजाको रोग लाग्न सक्छ । नियमित ब्रस गरिएन वा गिजाको सफाइमा ध्यान दिइएन भने गिजा सुन्निने, गिजाबाट रगत बग्ने, दाँत दुख्ने र श्वास गनाउने जस्ता समस्या देखा पर्छन् ।

गिजाको समस्यालाई हेलचेक्र्याइँ नगरौ

गिजाको समस्यालाई सामान्य रूपमा लिइयो र समयमा उपचार गरिएन भने ‘पेरियोडोन्टाइटस’ रोग लाग्न सक्छ ।  त्यो रोगले गिजा यति कमजोर हुन्छ कि दाँत हल्लिने र झर्ने समस्या समेत आउन सक्छ ।

गिजा अरू रोग लागेको छ कि छैन भनेर हेर्ने माध्यम पनि हो । जसको गिजा कमजोर छ उनीहरूलाई मुटुको समस्या हुन सक्छ । मधुमेह, अल्जाइमरको समस्या छ कि भनेर पनि गिजाको माध्यमबाट थाहा पाउन सकिन्छ । बाथरोग भएको मुखमा हड्डी खिइएर दाँतहरू हल्लिसकेका हुन्छन् । सबै रोगको समस्या गिजामा देखिन्छ ।

गर्भावस्थामा गिजाको समस्या

गर्भावस्थामा हार्मोनको गडबडीले गिजाको समस्या देखा पर्छ । गर्भावस्थामा देखिने दन्त समस्यालाई ‘प्रेग्नेन्सी जिंजीभाइटिस’ भनिन्छ । गिजा रातो हुने, सुन्निने र गिजाबाट रगत बग्ने लक्षण यस बेला देखिन्छ ।

गर्भावस्थामा कुनै महिलालाई गिजाको समस्या देखा देखियो र त्यसको उपचार भएन भने समयभन्दा अगावै बच्चा जन्मिने, कम तौलको बच्चा जन्मिने समस्या समेत हुन्छ । मुखको स्वास्थ्य अवस्था राम्रो भएन भने बच्चाको दाँत र गिजाको विकासलाई पनि असर गर्न सक्छ ।

धेरै महिला त बच्चा जन्मिएपछि मेरो गिजामा समस्या देखियो भन्दै आउँछन् । तर बच्चा जन्मिएपछि भन्दा पनि गर्भावस्थामा नै महिलालाई गिजाको समस्या देखिएको हुन्छ । त्यो बेला हेल्चेक्राइँ गरेर पछि समस्या बढेको हो । त्यसैले गर्भावस्थाको योजना बनाउनुअघि एक पटक दन्तरोग विशेषज्ञसँग भेट्नुपर्छ ।

कतिपय महिला गर्भावस्थामा उपचार गर्न डराउने गर्छन् । तर गर्भवती भइसकेपछि गिजाको समस्या देखियो भने पनि त्यसको उपचार गर्न मिल्छ । चिकित्सकको सल्लाहअनुसार गर्भावस्थामा प्रयोग गर्न मिल्ने उपचार गर्न सकिन्छ । गर्भावस्थाको दोस्रो चरण अर्थात् तीनदेखि ६ महिनामा उपचार गर्न सकिन्छ ।

गर्भावस्थामा दाँत तथा गिजाको समस्या निम्तिने कारण

गर्भावस्थामा गिजाको समस्या देखा पर्ने मुख्य कारण हार्मोनको गडबडी नै हो । साथै गर्भावस्थामा खाना नरुच्ने, बान्ता आउने जस्ता समस्या पनि देखा पर्छ । बान्ताका बेला आउने पेटको एसिडले दाँतमा रहेको इनामेललाई मेटाउन सक्छ, जसले दाँतको संवेदनशीलता बढाउँछ र दाँत खिइने समस्या ल्याउँछ ।

गर्भावस्थामा महिलाहरूलाई विभिन्न खानेकुरा खान मन लाग्ने हुन्छ । कसैलाई त गुलियो खानेकुरा धेरै खान मन लाग्ने पनि हुन्छन् । धेरै गुलियो खानेकुरा खानेर मुखको सरसफाइमा राम्ररी नगर्ने गर्दा पनि दाँत तथा गिजाको समस्या देखा पर्छ ।

गर्भावस्थामा हुने गिजाको समस्याबाट बच्ने उपाय

बच्चा जन्माउने योजना बनाउने बेला नै गिजाको जाँच गर्ने केही समस्या छ भने उपचार गर्नुपर्छ । यदि गर्भवती भएपछि गिजाको समस्या देखियो भने त्यसलाई हेलचेक्र्याइँ नगर्ने चिकित्सकको सल्लाह लिनुपर्छ ।

गर्भवती महिलाले प्लाक निर्माण हुनबाट जोगिनका लागि दिनको दुई पटक अनिवार्य दाँत माझ्नुपर्छ । हरेक खानेकुरा खाएपछि मुख कुल्ला गर्ने । साथै दाँतको बीचमा अड्किएको फोहोर निकाल्न डेन्टल फल्सको पनि प्रयोग गर्नुपर्छ ।

गर्भावस्थामा सन्तुलित खाना प्रोटिन, भिटामिन र क्याल्सियमयुक्त खाना खाने र गुलियो खानेकुरा कम खाइयो भने पनि गिजाको समस्याबाट बच्न सकिन्छ ।

  • २६ जेष्ठ २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech