नेपालगन्ज: आफ्नो सर्वस्व अस्पताललाई दान गरेका समाजसेवी श्रीजंग शाहको निधन भएको छ । शाहको १०१ वर्षको उमेरमा हिजोसाँझ काठमाडौंमा निधन भएको हो ।
शाहले बुवा फत्तेजंग र आमा बालदिब्यश्वरीले आफ्नो घरजग्गा दान गरेर निर्माण गरेको नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पताललाई ६ वर्षअघि सर्वस्व दान गर्नुुुभएको थियो । शाह फत्तेबाल आँखा अस्पतालका संरक्षक हुनुहुन्छ ।
श्रीजंगका बुबाआमा स्वर्गीय कप्तान फत्तेजंग र बालदिब्यश्वरी शाहले २०४३ सालमा अस्पताललाई घरसहित करिब पाँच बिघा जग्गा दिनुभएको थियो ।
उहाँको दान गरेकै घरबाट सञ्चालित अस्पताल अहिले पश्चिम नेपालको सबैभन्दा ठूलो आँखा अस्पताल बनेको छ । ९ बेडबाट सुरु भएको अस्पताल अहिले १ सय ५० बेड पुगेको छ । वार्षिक डेढ लाखभन्दा बढी बिरामीको आँखा परीक्षण हुँदै आएको छ ।
श्रीजंग कान्तिपथस्थित श्रीकुञ्जमा बस्दै आउनुभएको थियो । आफू बसिरहेको कान्तिपथको घरसहित ३ रोपनी ३ आना ३ पैसा २ दाम जग्गा दान गरेपछि उहाँको प्रशंसा भएको थियो । पारिवारिक स्रोतका अनुसार, दान गरेको घरजग्गाको मूल्य सवा अर्बभन्दा धेरै हुन आउँछ ।