सर्वस्व फत्तेबाल आँखा अस्पताललाई दान गर्नु भएका समाजसेवी श्रीजंग शाहको निधन

    • स्वास्थ्य पेज

  • १७ जेष्ठ २०८१, बिहीबार

नेपालगन्ज: आफ्नो सर्वस्व अस्पताललाई दान गरेका समाजसेवी श्रीजंग शाहको निधन भएको छ । शाहको १०१ वर्षको उमेरमा हिजोसाँझ काठमाडौंमा निधन भएको हो ।

शाहले बुवा फत्तेजंग र आमा बालदिब्यश्वरीले आफ्नो घरजग्गा दान गरेर निर्माण गरेको नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पताललाई ६ वर्षअघि सर्वस्व दान गर्नुुुभएको थियो । शाह फत्तेबाल आँखा अस्पतालका संरक्षक हुनुहुन्छ ।

श्रीजंगका बुबाआमा स्वर्गीय कप्तान फत्तेजंग र बालदिब्यश्वरी शाहले २०४३ सालमा अस्पताललाई घरसहित करिब पाँच बिघा जग्गा दिनुभएको थियो ।

उहाँको दान गरेकै घरबाट सञ्चालित अस्पताल अहिले पश्चिम नेपालको सबैभन्दा ठूलो आँखा अस्पताल बनेको छ । ९ बेडबाट सुरु भएको अस्पताल अहिले १ सय ५० बेड पुगेको छ । वार्षिक डेढ लाखभन्दा बढी बिरामीको आँखा परीक्षण हुँदै आएको छ ।

श्रीजंग कान्तिपथस्थित श्रीकुञ्जमा बस्दै आउनुभएको थियो । आफू बसिरहेको कान्तिपथको घरसहित ३ रोपनी ३ आना ३ पैसा २ दाम जग्गा दान गरेपछि उहाँको प्रशंसा भएको थियो । पारिवारिक स्रोतका अनुसार, दान गरेको घरजग्गाको मूल्य सवा अर्बभन्दा धेरै हुन आउँछ ।

  • १७ जेष्ठ २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech