दैलेखका सबै स्थानीय तहमा आयुर्वेद सेवा

    • स्वास्थ्य पेज

  • ९ बैशाख २०८१, आईतवार

नेपालगन्जः दैलेखका सबै स्थानीय तहमा आयुर्वेद स्वास्थ्यसेवाको पहुँच विस्तार भएको छ। नागरिकलाई सहज रूपमा आयुर्वेद स्वास्थ्यसेवा उपलब्ध गराउने उद्देश्यले यहाँका ११ वटै स्थानीय तहमा आयुर्वेद स्वास्थ्यसेवा विस्तार गरिएको हो।
यहाँका ११ स्थानीय तहमध्ये तीनवटा स्थानीय तहमा यसअघि आयुर्वेद स्वास्थ्यसेवा सञ्चालनमा रहेको थियो। बाँकी आठवटा स्थानीय तहमा आयुर्वेद स्वास्थ्यसेवा दिनका लागि नागरिक आरोग्य सेवाकेन्द्र स्थापना गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका निमित्त कार्यालय प्रमुख रामप्रसाद महतोले बताउनुभयो ।

सर्वसाधारणलाई उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना बढाउने लक्ष्यका साथ यहाँका सबै स्थानीय तहमा आयुर्वेद स्वास्थ्यसेवा विस्तार गरिएको महतोको भनाइ छ। ‘तीनवटा स्थानीय तह नारायण नगरपालिका, नौमूले गाउँपालिका र दुल्लु नगरपालिकामा पहिलेदेखि सेवा दिँदै आएका छौँ। अन्य आठ स्थानीय तहमा आयुर्वेद स्वास्थ्यसेवा दिन नागरिक आरोग्य सेवाकेन्द्र स्थापना गरिएको हो’, उहाँले भन्नुभयो । नागरिक आरोग्य सेवाकेन्द्रमार्फत नागरिकले आरोग्य सेवाकेन्द्रबाट उपचारात्मक सेवा, निरोगी रहन स्वस्थ जीवन कार्यक्रम, योग, पञ्चकर्म, स्तनपायी आमालाई दूधवर्धक औषधि वितरण लगायतका सेवा उपलब्ध गराइने निमित्त कार्यालय प्रमुख महतोले बताउनुभयो ।

भैरवीमा नागरिक आरोग्य सेवाकेन्द्र स्थापना भएसँगै नागरिकलाई आयुर्वेद सेवा लिन सहज भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र थापाले बताउनुभयो। उहाँले नागरिक आरोग्य सेवाकेन्द्रलाई निरन्तरता दिन चुनौती रहेको बताउँदै स्वस्थ रहन आयुर्वेद उपचार महत्त्वपूर्ण रहेको बताउनुभयो । दैलेखमा पछिल्ला वर्षमा आयुर्वेद स्वास्थ्यसेवा लिनेको संख्या बढ्दै गएको देखिन्छ। नागरिकले आयुर्वेद उपचारको महत्त्व बुझेसँगै सेवा लिनेको संख्या बढ्दै गएको आयुर्वेद स्वास्थ्यकेन्द्र दैलेखका निमित्त कार्यालय प्रमुख महतोले बताउनुभयो ।

  • ९ बैशाख २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech