भवानी राणा नेतृत्वको फरच्युना हेल्थकेयरद्वारा नेपालमै गुणस्तरीय सिरिञ्ज उत्पादन सुरु

    • स्वास्थ्य पेज

  • ८ बैशाख २०८१, शनिबार

नेपालगन्ज: फरच्युना हेल्थकेयरद्वारा नेपालमै गुणस्तरीय सिरिञ्ज उत्पादन सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको ग्रुपले नेपालमै विश्व गुणस्तरीय सिरिन्ज उत्पादन थालेको छ।

उक्त कम्पनीका उत्पादनहरुलाई उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले एक कार्यक्रमबीच सार्वजनिक गर्नुभएको छ। उहाँले नयाँ उद्योग स्थापनाले मुलुकको अर्थव्यवस्थामा टेवा पुग्ने बताउनु भएको छ ।  यो उद्योगले लगानीका क्षेत्रमा भएको नैराश्यतालाई ब्रेक गर्ने काम गरेको उहाँको  भनाइ छ ।

उक्त कार्यक्रममा बोल्दै नेपालको स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय सिरिन्ज उपलब्ध गराउने लक्ष्यसहित फरच्युना हेल्थकेयर प्रालिले ‘फरच्युनाु ब्रान्डमा विभिन्न साइजका गुणस्तरीय सिरिन्जहरु उत्पादन सुरू गरेको फरच्युनाकी अध्यक्ष राणाले जानकारी दिनुभयो ।

नेपाली बजारमा वार्षिक ५८ करोड रुपैयाँको सिरिञ्ज आयात भइरहेको र तिमध्ये अधिकांश उत्पादन गुणस्तरीय नहुँदा स्वास्थ्यकर्मी र विरामीले दुःख पाइरहेको अवस्थालाई अन्त्य गर्न फरच्युना ब्राण्डका सिरिञ्ज प्रतिवद्ध रहेको कम्पनीका अध्यक्ष राणाले बताउनुभयो ।

ललितपुरको चुनीखेलमा स्थापित उद्योगले ‘फरच्युना’ ब्रान्डमा विभिन्न साईजका गुणस्तरिय सिरिजहरु उत्पादन सुरु गरेको छ । मुलुकको औद्योगिक विकास, आयात प्रतिस्थापन तथा गुणस्तरीय उत्पादनको प्रतिवद्धता सहित फरच्युना हेल्थकेयरले स्वदेशी अस्पताल, क्लिनिक तथा निजी प्रयोजनका लागि आवश्यक सिरिजहरुको उत्पादन सुरु गरेको बताएको छ ।

फरच्युना हेल्थकेयरले  १ एम.एल.देखि ५० एम.एल. सम्मका निडल सहितका सिरिञ्जहरु तथा इन्सुलिन सिरिञ्ज लगायतका उत्पादन सुरु गरेको छ । कम्पनीले चाँडै नै आईभी क्यानुला, हाइ क्वालिटी ग्लभ्स, ब्लड कलेक्सन ट्युव, आइभी क्यानुला फिक्सटर, एब्जर्बेन्ट कटन उल आइपी, गज, आइभी सेट, यूरीन ब्याग, क्रेप एन्ड रोल ब्यान्डेज लगायतका उत्पादन बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ । सबै उत्पादनहरुको गुणस्तरमा सम्झौता नगर्ने र मूल्य पनि आयातित सिरिञ्जको तुलनामा कम रहेको कम्पनीको दावी छ ।

उद्योग स्थापना तथा उत्पादन विविधीकरणका लागि ८० करोड रुपैयाँ पुँजी राखेको फरच्युना हेल्थकेयर प्रालिले हालसम्म ५० करोड रुपैयाँ लागानी भइसकेको अध्यक्ष राणाले जानकारी दिनुभयो । कम्पनीले आफ्ना उत्पादन विश्व स्वास्थ्य संगठनले औषधि उद्योगका लागि तोकेको मापदण्ड जीएमपीमा आधारित रही आईएसओ मापदण्डको स्ट्यान्डर्ड पूरा गरिसकेको र नेपाल गुणस्तर चिह्न प्राप्तिका लागि पनि प्रक्रिया अघि बढिसकेको कम्पनीले जनाएको छ।

प्रवन्ध सञ्चालक तथा जिसी ग्रुपका अध्यक्ष इश्वर जिसीका अनुसार कोभिड महामारीपछि मेडिकल सामाग्रीहरु उत्पादनमा आत्मनिर्भर बन्नैपर्छ भन्ने सन्देशलाई आत्मसाथ गर्दै यस फरच्युना हेल्थकेयर प्रालिले सिरिञ्जलगायतका मेडिकल समाग्रीहरु उत्पादन गरी सुलभ मूल्यमा उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराएर आयात प्रतिस्थापन गर्ने आफूहरुको लक्ष्य रहेको समेत बताउनुभयो  ।

  • ८ बैशाख २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech