बिपी क्यानसर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने

    • स्वास्थ्य पेज

  • २६ चैत्र २०८०, सोमबार

चितवन: चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने तयारी गरेको छ। अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङग सेवा विस्तार गर्ने योजना बनाएको अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले जानकारी दिनुभयो । उहाँले अस्पतालमा आउने बिरामीको चाप कम गर्न र बिरामीलाई उच्चस्तरको सेवा प्रदान गर्नका लागि सेवा विस्तार गर्न लागेको बताउनुभयो ।

अस्पतालको शल्यक्रिया सेवामा स्तरोन्नति गरी थप प्रविधिमैत्री बनाइ सेवा प्रदान गर्ने योजनामा लागिएको पनि उहाँको भनाइ छ । अस्पतालको प्याथोलोजी सेवामा मोलिक्यूलर प्रयोगशाला पूर्णरुपमा सञ्चालन गरिने, रेडियसन सेवामा थप अत्याधुनिक मेसिन जडान गरिने उहाँले बताउनुभयो ।

न्यूक्लियर मेडिसिनतर्फ राष्ट्रिय गौरवको रुपमा रहेको साइक्लोट्रोनसहितको पेट सिटी स्क्यान सेवा स्थापना गरी उक्त सेवाका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्नेतर्फ अस्पताल लागेको उहाँको भनाइ छ। अस्पतालबाटै दक्षजनशक्ति उत्पादन गर्नका लागि शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने प्रक्रियामा रहेको पनि उहाँको भनाइ छ। बिपीमा उपचारका लागि छिमेकी देशबाटसमेत बिरामी आउने गरेका छन् ।

  • २६ चैत्र २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech