आफूखुसी रुघाखोकीको औषधि खाँदा के हुन्छ ?

    • स्वास्थ्य पेज

  • २५ चैत्र २०८०, आईतवार

मौसम परिवर्तनसँगै रुघाखोकी र ज्वरोको प्रकोप बढ्छ । यस्तो अवस्थामा आफूखुसी रुघाखोकीको औषधि किनेर खाइहाल्ने प्रवृत्ति व्यापक छ । रुघाखोकीको औषधिको प्रयोग पिनास, नाकबाट पातलो सिंगान बग्ने, नाक चिलाउने, हाच्छ्यूँ आउने आदि समस्यामा बढी गरिन्छ । तर यस्ता औषधि आफूखुसी प्रयोग गर्नुहुँदैन ।

रुघा लागेको बेला श्वासप्रश्वास प्रणालीको प्रवेशबिन्दु नाकभित्रको सतही कोष सुजन हुने अवस्थालाई ‘राइनाइटिस’ भनिन्छ । नाकमा एलर्जी र संक्रमण भएपछि नाकको सतही कोषहरु सुन्निन्छ र रुघाका रुपमा पातलो सिंगान बग्न थाल्छ । राइनाइटिस पनि विभिन्न प्रकारको हुन्छ । एलर्जिक राइनाइटिस, एक्युट राइनाइटिस (एक्कासी हुने), क्रोनिक राइनाइटिस (जीर्ण खालको), फंगल राइनाइटिस लगायत विभिन्न प्रकारको राइनाइटिस हुन्छ ।

बिरामीहरूले माथि उल्लेखित लक्षणको आधारमा रुघा लाग्यो भन्छन्, तर यी विभिन्न प्रकारको राइनाइटिसको औषधि उपचार एकै प्रकारको हुँदैन ।

एलर्जीको कारण रुघा लागेको छ भने रुघाखोकीको औषधि खाएर मात्र त समस्या समाधान हुँदैन । एलर्जी के कारणले भएको हो त्यसबाट बच्नुपर्छ । एलर्जी हुनाको कारण पत्ता नलगाएर रुघाखोकीको औषधिको सेवन मात्र गरियो भने समस्या झन् बढ्न सक्छ ।

त्यसैले नाक बन्द भएमा वा रुघा लागेमा के कारणले भएको हो त्यो बुझ्न जरुरी हुन्छ । सोहीअनुसार औषधि उपचार गर्नुपर्छ । रुघा लाग्ने बित्तिकै रुघाखोकीको औषधि खाइहाल्नुहुँदैन ।

रुघाखोकीको औषधि खानै नहुने औषधि भने होइन । बिरामीको अवस्था हेरेर चिकित्सकहरूले पनि यो औषधि सिफारिस गर्छन् । त्यसैले बिरामीलाई कुन अवस्थामा यो औषधि खाने भन्ने कुरा थाहा हुनु जरुरी हुन्छ । यो कुरा थाहा नभई आफूखुसी औषधि खाइयो भने विभिन्न साइड-इफेक्ट पनि देखिन थाल्छ ।

हुन त हरेक औषधिको केही न केही साइड-इफेक्ट हुन्छ । तर जब औषधिहरू आफूखुसी मात्रा नमिलाई खाइन्छ, त्यसले थप साइड-इफेक्ट निम्तिन सक्छ ।

रुघाखोकीको औषधिले नाकको सतही कोषहरु सुन्निएको समस्यालाई कम गर्छ । रुघा मात्र हो भने त यसको सेवनले समस्या काम गर्ला । तर रुघासँगै टाउको दुख्ने, श्वासप्रश्वास समस्या छ भने यसले समस्या समाधान हुँदैन । लामो समय चिकित्सकको सल्लाहबिना रुघाखोकीको औषधि मात्रै खाइरह्यो भने नाकभित्र मासु पलाउन सक्छ ।

रुघा लागेको बेला नाकको सतही कोषहरु सुन्निंदा रक्तसञ्चार बढेको हुन्छ । आफूखुसी रुघाखोकीको औषधि खाँदा सुन्निएको नाकमा रक्तसञ्चार कम भएर नाकबाट रगत बग्ने समस्या पनि हुन्छ ।

रुघाखोकीको औषधिमा रुघाविरुद्धको औषधिसँगै  सिटामोल पनि मिसिएको हुन्छ । त्यसैले लामो समय चिकित्सकको सल्लाहबिना रुघाखोकीको औषधि सेवन गरियो भने कलेजो र मिर्गौलामा असर गर्न सक्छ ।

रुघाखोकीको औषधिको आफूखुसी सेवनले रक्तकोषिकाहरु कम हुने समस्या समेत देखापर्ने सम्भावना हुन्छ । यसको जथाभावी सेवनले प्लाज्मा, रातो रक्तकोषहरु, सेतो रक्तकोषहरू र प्लेटलेट आदि कम हुन्छ ।

  • २५ चैत्र २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech