धेरै समय बस्ने बालबालिकाको धमनीमा हुन सक्छ समस्या

    • स्वास्थ्य पेज

  • २० चैत्र २०८०, मंगलवार

नेपालगन्जः हिजोआज बालबालिकाहरू खेलकुद र उफ्रिनमा भन्दा धेरै समयमा स्मार्टफोन र टिभीमा बिताउँछन् । उनीहरूले बसेर बिताउने समय निकै बढेको छ । एउटा नयाँ अध्ययनका अनुसार बाल्यकालमा धेरै समय बसेर बिताउँदा धमनी कडा हुने समस्या निम्तन्छ । धमनीहरू कडा भए भने रक्त सञ्चारमा समस्या हुनसक्छ ।

भविष्यमा यो मुटुको रोगको कारण बन्न सक्छ । तर साधारण खालको शारीरिक गतिविधिले यो खतरा कम गर्न मद्दत गर्न सकिन्छ । धमनीहरू कडा हुनु भनेको अकाल मृत्युको जोखिम बढ्नु हो । ११ देखि २४ वर्षका बालबालिकाहरू दैनिक ६ देखि ९ घण्टासम्म बसेर बिताउने गरेको अध्ययनले देखाएको छ । यसले मोटोपना देखिने, असामान्य स्तरमा बोसो जम्मा हुने, शरीर सुन्निने र मुटुको रोगलगायत समस्याहरूको जोखिम बढाउँछ ।

धमनीहरू कडा हुनु भनेको बाल्यकाल र किशोरावस्थामा मोटोपना देखिने, इन्सुलिन प्रतिरोधी हुने, उच्च रक्तचाप, मेटाबोलिक सिन्ड्रोम र मुटुसम्बन्धी रोग आदिका लागि नयाँ जोखिम कारक भएको शोधकर्ताहरूको भनाइ छ । उमेर बढ्दै जाँदा धमनीहरू स्वाभाविक रूपमा दह्रो हुँदै जान्छन् । यो प्राकृतिक नियम हो ।

तर बाल्यकालमा दिनहुँ लामो समय बसकै कारण धमनीहरूको बढी दह्रो हुनु प्राकृतिक रूपमा हुने दह्रोपन भन्दा बढी खतरनाक हुने र यसका कारण अकाल मृत्युको जोखिम ४७ प्रतिशतसम्म बढ्ने अध्ययनमा पाइएको छ । दैनिक कम्तीमा ३ घण्टाको हलुका खालको शारीरिक गतिविधि गर्दा बाल्यकालमा लामो समयसम्म बस्दा धमनीहरू दह्रो हुने समस्या कम हुने अध्ययनमा पाइएको छ । बच्चाहरूलाई हरेक दिन कम्तीमा ३–४ घण्टा छिटो छिटो हिँड्ने, वा घरको काम गर्ने जस्ता हल्काफुल्का शारीरिक व्यायाम गर्न प्रोत्साहित गर्नुपर्ने शोधकर्ताहरू बताउँछन् ।

  • २० चैत्र २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech