लुम्बिनी प्रदेशमा सेवा निवृत्त महिला स्वास्थ्य स्वंमसेवकलाई ५० हजार दिएर बिदाई गर्ने अभियान नेपालगन्जबाट सुरु

स्वास्थ्य शिक्षा जागरणमा महिला स्वमंसेवकहरुले पुर्‍याएको योगदान अतुलनीय छ: मन्त्री खनाल


    • स्वास्थ्य पेज

  • १८ चैत्र २०८०, आईतवार

नेपालगन्ज: लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य शिक्षा जागरणमा महिला स्वमंसेवकहरुले पुर्‍याएको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले आज नेपालगन्जमा ६० वर्ष पुरा भइ सेवाबाट बिदाई हुने महिला स्वास्थ्य स्वमंसेवकलाई स-सम्मान बिदाई गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री खनालले न्यून सेवामा पनि स्वास्थ्य शिक्षा जागरणमा महिल स्वमंसेवकहरुले पुर्‍याएको योगदान अत्यन्तै महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले मातृमृत्युदर तथा शिशु मृत्युदरमा कमी ल्याउन महिला स्वमंसेवकहरुले सहयोगी भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।

`न्यून सेवा सुबिधामा पनि महिला स्वमंसेवकहरुले स्वास्थ्य जागरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ उहाँले भन्नुभयो-`यसलाई अझै प्रभावकारी बनाउने बाताबरण सिर्जना गर्न मन्त्रालय लागी परेको छ ।´ उहाँले महिला स्वमंसेवकहरुको सेवा सुबिधा थप्ने सवालमा प्रदेश सरकार सकारात्मक भएपनि बजेट अभावका कारण नसकिएको उल्लेख गर्नुभयो । तर सेवा निवृत्त हुने स्वमंसेवकहरुलाई भने प्रदेश सरकारले जनही ५० हजार दिने अभियान सुरु गरेको उहाँले बताउनुभयो । त्यसको सुरुवात बाँकेबाट गरिएको पनि मन्त्री खनालले जानकारी दिनुभयो ।

`सेवा निवृत्त महिला स्वमंसेवकको सम्मान स्वरुप प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि ५० हजार दिन सुरु गरेको छ उहाँले भन्नुभयो-`अब यसलाई निरन्तरता दिनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध छ ।´ प्रदेशमा करिब नौ हजार महिला स्वमंसेवक छन् । ती मध्य एक वर्षमा करिब चार सय सेवा निवृत्त हुने गरेको तथ्यांक छ । संघीय सरकारले सेवा निवृत्त हुने महिला स्वास्थ्य स्वमंसेवकलाई २० हजार दिने गरेको छ ।

यो हिसाबले लुम्बिनी प्रदेशमा सेवा निवृत्त हुने स्वमंसेवकले ७० हजार पाउछन् । नेपालगन्ज उपमहानगरपालिकाले भने आफ्नो नगर क्षेत्रका स्वमंसेवकलाई थप ५० हजार दिने गरेको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो । नगर क्षेत्रका सेवा निवृत्त महिला स्वास्थ्य स्वमंसेवकले एक लाख २० हजार पाउने छन् ।

बाँकेमा चालु आर्थिक वर्षमा ३४ जना महिला स्वास्थ्य स्वमंसेवक सेवा निवृत्त हुँदैछन् । नेपालगन्ज उपमहानगरपालिकामा १०, जानकीमा ४, कोहलपुरमा १, राप्ती सोनारीमा ५, बैजनाथमा २, डुडुवामा ५, खजुरामा ६ र नरैनापुरमा १ जना गरि ३४ जना सेवा निवृत्त हुँदैछन् । आज नेपालगन्ज र जानकीका महिला स्वास्थ्य स्वमंसेवाको स-सम्मान बिदाइ गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको सभापतित्वमा भएको सम्मान तथा बिदाई कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्यहरु सुशीला नेपाली, मीना सिद्दिकी, प्रदेश स्वास्थ्य सचिब डा.जनार्धन पन्थी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाही, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द लगायतले बोल्नुभएको थियो ।

  • १८ चैत्र २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech