नेपालगन्जका मासु पसलको अनुगमन

    • स्वास्थ्य पेज

  • १६ चैत्र २०८०, शुक्रबार

नेपालगन्ज:  नेपालगन्ज उपमहानगरपालिकाले मासु पसलहरुमा अनुगमन थालेको छ । पशु सेवा शाखाले आज वडा नम्बर ४ का आधा दर्जन मासु पसलमा अनुगमन गरेको छ । स्वच्छ मासु उत्पादन तालिम दिइएका वडा नम्बर ४ का १५ वटा मासु पसल मध्ये आधा दर्जन पसलमा अनुगमन गरिएको पशु सेवा शाखा प्रमुख लक्ष्मी शाहीले बताउनुभयो । तालिम लिएपछि ब्यवसायीहरुले व्यवहारमा कति लागू गरेका छन् भनेर अनुगमन गरिएको शाहीको भनाइ छ ।

कार्की कर्नर फ्रेस हाउस, द ब्ल्याक मिट हाउस, राप्ती भेरी मिट शप, हमाल फ्रेस हाउस, मुकिम फ्रेस हाउस र न्यू भाले फ्रेस हाउसमा अनुगमन गरिएको हो । न्यूरोड, बसपार्क र गणेशपुर क्षेत्रका मासु पसल अनुगमन गरिँदा अधिकांशले मूल्यसूची नराखेको पाइएको छ । कतिपय पसलमा सरसफाईको कमी समेत देखिएको छ । त्यस्ता पसललाई सजग बनाइएको छ ।

बध गर्ने र मासु कटिंग गर्ने ठाउँ छुट्टाछुट्टै बनाउन पनि सचेत गराइएको छ । सिसाको फ्रेम प्रयोग गर्न, आवश्यक कागजपत्र देखिने गरी राख्न, नवीकरण नगरेकालाई एक हप्ताभित्र नवीकरण गर्न, भर्खर सञ्चालनमा आएकालाई ब्यवसाय दर्ता गर्न समय दिइएको पशु सेवा शाखा प्रमुख शाहीले बताउनुुुभयो ।

अनुगमन टोलीमा आर्थिक विकास समिति संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, पशु प्रजनन कार्यालयका पशु चिकित्सक डा. मिलनकुमार चौधरी, नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठ, पशु सेवा शाखा प्रमुख शाही, पशु सेवा शाखाका अच्युत गौतम, रिता राना, प्रेस सल्लाहकार नवीन गिरी लगायत सहभागी हुनुभएको थियो । अनुगमनलाई निरन्तरता दिइने शाहीले बताउनुभयो ।

  • १६ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech