सबैले बुझ्ने भाषामा भनिदिनुस्, जंकफुड भनेको के हो ?

    • स्वास्थ्य पेज

  • १३ बैशाख २०८१, बिहीबार

जनस्वास्थ्यविज्ञ डा अरुणा उप्रेतीसँगको कुराकानी ।

सबैले बुझ्ने भाषामा भनिदिनुस्, जंकफुड भनेको के हो ?

जंकफुड भनेको शरीरलाई काम नै नलाग्ने खाना हो । यसमा अत्याधिक मात्रामा क्यालोरी हुन्छ । तर शरीरलाई चाहिने प्रोटिन, क्याल्सियम, भिटामिन जस्ता पोषक तत्वहरु हुँदैनन् । केही जंकफुडमा भएपनि अति नै कम हुन्छ । दैनिक खाजाको रुपमा उपभोग गर्ने चाउचाउ, कुरमुरे, चिप्स, बिस्कुट पाउरोटी लगायत प्याकेजिङ खाना सबै जंकफुड हुन् ।

यस्तो खानामा अत्याधिक मात्रामा नुन, चिनी, ट्रान्स फ्याट (खराब चिल्लो), आकर्षक र लामो समय नकुहिने बनाउन र सुरक्षित राख्नका लागि विभिन्न प्रकारका रंग र रसायन मिसाएको हुन्छ । विशेषगरी जंकफुड मैदा, नुन र चिनीबाट बनाइएको हुन्छ, जसलाई सेतो विषमा रुपमा लिइन्छ ।

मैले त जंकफुडलाई राष्ट्रिय रोग भनेर मानेको छु । घरमा एकदिन बासी खाना नै खाँदा रोग लाग्छ खानुहुँदैन भन्छौं, तर त्यही जंकफुड एक-दुई वर्ष पुरानो पनि स्वादिलो मानी-मानी खाने चलन छ ।

जंकफुडले के कसरी हानि गर्छ भनी नेपालमा केही अध्ययन अनुसन्धान गरिएको छ ?

नेपालमा खास केही त्यस्तो अनुसन्धान भएको छैन । बच्चाहरुले खाने खानेकुरामा कति नुन र चिनी छ भनेर एउटा अनुसन्धान भएको थियो, त्यसबाहेक अरु कुनै अनुसन्धान भएको छैन ।

म आफैंले सानो–सानो रुपमा गरेको अनुसन्धान त नभनौं अनुभव भने छ । म जुम्ला जाँदा साना बच्चाहरुले ‘चिनो’ चाउचाउ खाइरहेका रहेछन् । यसो प्याकेट खोलेर हेर्दा त घुन लागेको, फंगस लागेको त्यस्तो रहेछ । त्यस्तो खानेकुरा बच्चाले खाएपछि त त्यसले कलेजोमा सिधा असर गर्छ नि । तर आमाबुवालाई थाहा छैन । उनीहरुले पैसा दिन्छन्, बच्चाले किनेर खान्छन् । त्यसले बच्चाको कलेजो बिग्रिन्छ । कलेजो बिग्रिएपछि त शरीरको अंगप्रत्यांग वयस्क नहुँदै खराब भइसक्छ ।

बच्चाले खाइरहेको जंकफुडमा नुन र चिनी बढी भयो भनी कहिले अध्ययन भएको थियो 

यो चार वर्षअघिको कुरा हो । हेलेन केलर इन्टरनेसनल र नेपालको स्वास्थ्य मन्त्रालय मिलेर एउटा विस्तृत अध्ययन गरेको थियो । यसबारे बेलायतबाट प्रकाशित हुने द गार्जियनमा ‘बेबिज इन नेपाल गेट क्वाटर अफ क्यालोरी फ्रम जंक फुड’ शीर्षकको लेख नै छापिएको छ । कसरी यसले बच्चाहरु ख्याउटे, पुड्को, कमजोर हुन्छन् भनी उल्लेख गरिएको छ । १२ देखि २३ महिना उमेर समूहका ७४५ जना बच्चाबीच यो अध्ययन गरिएको थियो ।

पढेको वा सुनेको आधारमा मात्रै जंकफुडले हानि गर्छ भनिरहेका छौं कि यसको कुनै प्रमाणित तथ्यमा टेकेर ?

प्रमाणित तथ्य कति छ कति । तपाईंले ‘जंकफुड एण्ड क्यान्सर’ भनेर एकचोटि इन्टरनेटमा हेर्नु त कति रिसर्च भेटिन्छ । जंकफुड एण्ड क्यान्सर, जंकफुड एण्ड डाइबिटिज भनेर वेबसाइटमा खोज्नुहोस् त, यति धेरै रिसर्च भएको छ कि यसबारे केही भन्नै पर्दैन ।

तपाईं स्वयंले चाहिं जंकफुडले हानि गर्छ भनेर कुनै रिसर्च गर्नुभएको छ त ?

त्यो त मैले देखेकै छु नि । अध्ययन गर्नै पर्दैन । म नेपालभरि ७३ वटा जिल्लामा पुगेर बालबालिकालाई पत्रु खाना खुवाएर कुपोषित बनाइएको, बिरामी भएर अस्पताल जानुपर्ने अवस्थामा देखेको छु । के खाना खुवाएको भन्दाखेरि सबै अभिभावकले ‘मेरो बच्चाले दालभात खाँदैन, बिस्कुट, पाउरोटी, चाउचाउ खान्छ’ भनेका छन् । यसबारे मैले त रिसर्च नै गरेको छु । आजभन्दा सात वर्षअघि विश्व स्वास्थ्य संघसँग मिलेर मैले जंकफुडले असर गर्छ भनेर गरेको रिसर्च गरेको छु ।

यदि यो हानिकारक हो भने खाद्य गुण नियन्त्रण विभागले किन बिक्री गर्न दिएको होला ?

यो त राजनीतिक मुद्दा हो । यसलाई रोक्न सक्ने क्षमता खाद्य गुण नियन्त्रण विभागसँग छैन । रोक्न सक्ने त कोहीसँग पनि क्षमता हुँदैन । यसमा मान्छे आफैंले सचेत भएर आफैंले नियन्त्रण गर्ने हो । जस्तो चुरोट रक्सी खराब हुन्छ भन्ने सबैलाई थाहा हुन्छ । तर किन रोक्न सक्दैन भन्ने प्रश्न आउँछ नि । मान्छेले चुरोट नखानु हानि गर्छ, मुटु बिगार्छ भनिरहेकै हुन्छ, फोक्सो बिगार्छ । रक्सीले कलेजो बिगार्छ भनिरहेकै हुन्छ । विज्ञापनमा पनि डरलाग्दो फोटो देखाइएको हुन्छ । तैपनि मान्छेले खान छाड्दैन ।

जसरी मान्छेले आफ्नो छोराछोरीलाई रक्सी र चुरोट दिंदैन, त्यसैगरी उनीहरुलाई पत्रु खाना दिन छाड्नुपर्छ । बजारमा त जे पनि बिक्री हुन्छ । चुरोट रक्सी बिक्री भइरहेको छ । मुसाको विष पनि बिक्री भइरहेको छ । जंकफुड त बच्चाका लागि मुसाको विष जस्तै हो । आज खाएर भोलि नै मर्ने त होइन । तर बिस्तारै बिस्तारै विष जस्तै हो ।

अहिलेको पुस्ता धेरै स्मार्ट छन्, उनीहरुलाई त हामीले उपदेश भन्दा पनि उदाहरण दिने होला । जंकफुडले यस्तो हानि गर्छ भनेर हामीसँग उदाहरण छ ?

नेपालमा सबै मान्छेलाई रक्सी र चुरोटले हानि गर्छ भन्ने थाहा छ नि हैन ? त्यही पनि मान्छेले खान्छ । मान्छेको जात के भने जबसम्म आफूलाई पर्दैन तबसम्म छाड्दैन । कतिपय आमाबुवा आफ्नो बच्चा बिरामी भएर, अस्पताल लगेर उपचार गरेपछि पनि फेरि जंकफुड खुवाउने गरेको घटना मैले धेरै देखेकी छु । त्यसैले हाम्रो काम भनेको यसले राम्रो गर्दैन भनेर भनिरहने मात्र हो । जबसम्म सरकारले सरकारी माध्यमबाट यो खराब हो भन्दैन, तबसम्म मान्छेलाई बुद्धि आउँदैन ।

  • १३ बैशाख २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech