डा. अधिकारीको नेतृत्वमा भेरीमा जटिल खालका शल्यक्रिया हुँदै

    • स्वास्थ्य पेज

  • १६ चैत्र २०८०, शुक्रबार

भेरी अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रो तथा हेपाटोविलियरी सर्जन डा कृष्ण अधिकारीसँग स्वास्थ्य चेकजाँच गराउँदै जन्मजात पित्त नली सुन्निएकी घोराही उपमहानगरपालिका वडा नं. ११ गणेशपुर दाङकी ५० वर्षीया मनकुमारी चौधरी ।

नेपालगन्जः घोराही उपमहानगरपालिका वडा नं. ११ गणेशपुर दाङकी ५० वर्षीया मनकुमारी चौधरीले घोराहीका अधिकांश अस्पतालमा चेकजाँच गराउनुभयो । औषधी पनि खानुभयो । तर सन्चो भएन् । जन्मजात पित्त नली सुन्निएरकी मनकुमारीको फागुनमा घोराहीमै चिकित्सकहरुले भिडियो एक्स रे गरेपछि शल्यक्रियाका लागि सुझाव दिए । घोराहीमा सम्भव नहुने भन्दै उनीहरुले शल्यक्रियाका लागि काठमाडौं लैजान सुझाए । तर नेपालगन्जमै पनि विशेषज्ञ चिकित्सक भएको जानकारी पाएपछि परिवारका सदस्यहरुले मनकुमारीलाई भेरी अस्पतालमा ल्याए ।

पश्चिम नेपालका एक्ला कन्सल्टेन्ट ग्यास्ट्रो तथा हेपाटोविलियरी सर्जन डा कृष्ण अधिकारी नेतृत्वको टिमले फागुन १३ गते मनकुमारीको शल्यक्रिया सफलतापूर्वक ग¥यो । ‘जन्मजात पित्तको नली सुन्निएका बिरामीको पहिलोपटक भेरीमा शरीर चिरेर शल्यक्रिया गरिएको हो डा.अधिकारीले स्वास्थ्य पेजसँग भन्नुभयो–‘समयमै पित्त नलीको शल्यक्रिया नगर्ने हो भने क्यान्सरको जोखिम हुन्छ ।’ जन्मेपछि पित्त सुन्निएका बिरामीको शल्यक्रिया गरिँदै आए पनि जन्मजात पित्त सुन्निएका बिरामीको भने शल्यक्रिया भएको थिएन् ।

मनकुमारी डिस्चार्ज भइसक्नु भएको छ । उहाँका भाई बहादुर चौधरीले दिदीको अवस्था अहिले सामान्य रहेको बताउनुभयो । फागुन १९ गते अस्पतालबाट डिस्चार्ज हुनु भएकी मनकुमारीले पनि समयमा रोगको पहिचान भएर उपचार पाउँदा खुसी व्यक्त गर्नुभयो । यस्तै भेरी अस्पतालमा पहिलो पटक आन्द्रामा प्वाल परेको रोगका एक जना बिरामीको दुरविन विधिबाट शल्यक्रिया गरिएको छ ।

भेरी अस्पतालमा पहिलोपटक दुरबिन विधिबाट ४० वर्षीय शान्तराम केवटको आन्द्रामा प्वाल परेको शल्यक्रिया गरिएको गरिएको हो । अस्पतालमा आन्द्रामा प्वाल परेका बिरामीको शरीर चिरेर शल्यक्रिया गरिँदै आएकोमा केवटको भने पहिलोपटक दुरबिन विधिबाट शल्यक्रिया गरि उपचार गरिएको डा.अधिकारीले बताउनुभयो ।

कन्सल्टेन्ट ग्यास्ट्रो तथा हेपाटोविलियरी सर्जन डा. अधिकारी भेरी अस्पतालमा आइसकेपछि पेट रोग सम्वन्धी जटिल शल्यक्रियाहरु भइरहेका छन् । यस्ता बिरामीहरु यसअघि भारत वा काठमाडौं जानुपर्ने बाध्यता रहेको थियो । डा अधिकारीको नेतृत्वमा डा.सन्तोष सिर्पाइली, डा.विधान पौडेल र डा.कमर हसन अन्सारी शल्यक्रियामा खटिने गरेका छन् ।

  • १६ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech