विशेषज्ञ सेवा दिँदै कोहलपुर नगरपालिका

    • स्वास्थ्य पेज

  • १६ चैत्र २०८०, शुक्रबार

कोहलपुरः कोहलपुर नगरपालिकाले नगर अस्पतालबाट अव विशेषज्ञ सेवा दिने भएको छ । कोहलपुर नगरपालिकामा रहेको नगर अस्पतालबाट आइतवार, बुधवार र शुक्रबार विशेषज्ञ सेवा प्रदान गरिने छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरसँगको सहकार्यमा विशेषज्ञ सेवा दिन लागिएको स्वास्थ्य वीमा संयोजन समितिका सदस्य वीरेन्द्र कुमार शाहले जानकारी दिनुभयो ।

आइतवार प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवा, बुधवार जनरल फिजिसियन र शुक्रबार शल्य चिकित्सा सेवा प्रवाह गर्ने शाहको भनाइ छ । स्वास्थ्य वीमा वोर्डमा सूचिकृत मेडिकल कलेज कोहलपुरका चिकित्सकहरुले नगर अस्पतालबाट विशेषज्ञ सेवा प्रदान गर्नेछन् । जटिल खालका समस्या देखिएका बिरामीहरुलाई मेडिकल कलेजमा रिफर गरिनेछ ।

कोहलपुर नगरपालिका स्वास्थ्य वीमा संयोजन समिति संयोजक समेत रहेका नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले वैशाखको पहिलो सातादेखि विशेषज्ञ सेवा दिने तयारी गरेको हो । मेडिकल कलेजमा वीमा कार्यक्रम बैशाख पहिलो सातादेखि सुरु गर्ने तयारी छ ।

उक्त कार्यक्रम सुरु भएपछि नगर अस्पतालमा पनि विशेषज्ञ सेवा सुरु हुने शाहले बताउनुभयो । नगर पालिकाले आफ्नै फार्मेसी समेत संचालनको तयारी गरेको छ । त्यसका लागि कर्मचारी माग भइसकेको स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले जानकारी दिनुभयो ।

  • १६ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech