नागरिक आरोग्य सेवा केन्द्रमा थेरापी सेवा सुरु

    • स्वास्थ्य पेज

  • १३ चैत्र २०८०, मंगलवार

नेपालगन्जः बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं.९ ढकेरीस्थित नागरिक आरोग्य सेवा केन्द्रमा पूर्वकर्म तथा पञ्चकर्म (थेरापी) सेवा सुरु भएको छ । राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले एक कार्यक्रमका बीच आज उक्त सेवाको सुभारम्भ गर्नुभयो ।

सेवा केन्द्रमा ओपिडी सेवा, निःशुल्क औषधी वितरण, जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धनका लागि रसायन औषधी वितरण, सुत्केरी महिलालाई लक्षित गरी स्तनपायी सेवा, दुग्धवर्धक र सुरक्षात्मक औषधी वितरण, विद्यालय आयुर्वेद तथा योग शिक्षा लगायतका सेवाहरु प्रवाह गर्ने आयुर्वेद शाखा प्रमुख अञ्जना थारुले जानकारी दिनुभयो ।

त्यसैगरी नसर्ने रोगको न्यूनीकरणमा समेत सेवा केन्द्रले सन्देश प्रवाह गर्ने उहाँले बताउनुभयो । नशा च्यापिएका, बातरोग, मोटोपन घटाउने लगायतको समस्या थेरापीबाट समाधान गर्न सकिने उहाँको भनाइ छ । सेवाग्राहीहरुको रोग पहिचानगरी उपचारमा सहजता थप्न पूर्वकर्म तथा पञ्चकर्मले ठूलो भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष पौडेलले चिकित्सा विज्ञानसँगै आयुर्वेद उपचारलाई पनि पालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । पछिल्लो समय मानिसहरुको दैनिक जनजीवन अस्तव्यस्त भइरहेकाले बढ्दो नसर्ने रोगको न्यूनीकरणका लागि यो उपचार पद्धति पनि एक प्रभावकारी उपाय भएको उहाँको भनाइ छ ।

वडा नं.९ का वडा अध्यक्ष सोहनलाल थारुको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पालिकाका उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, बाँके आयुर्वेद केन्द्रका प्रमुख डा गीता रेग्मी, बरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. अनिल कुमार थारु, वडा नं.८ का वडाअध्यक्ष शालिकराम डाँगी, वडा सदस्य राधिका सुनार, महादेवपुरी स्वास्थ्य चौकीका प्रमुख नवराज शाह, खजुरा आयुर्वेद शाखा प्रमुख किरण खनाल, ढकेरी अस्थायी प्रहरी चौकीका प्रमुख जंगबहादुर महतरा, विद्यालयका प्रअ, महिला स्वयमसेविकाहरु, आमा समूह, महिला समूह, जेष्ठ नागरिकहरुकोे उपस्थिति रहेको थियो ।

  • १३ चैत्र २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech