लुतो के हो, किन आउँछ, लुतो लाग्नै नदिन के गर्ने ?

    • डा. विकास पौडेल / छाला तथा यौन विशेषज्ञ

  • ७ चैत्र २०८०, बुधबार

लुतो सरसफाइमा उचित ध्यान नदिंदा आउने गर्छ । समय–समयमा ननुहाउने, समूहमा गुम्सिएर बस्ने, लुतो लागेको व्यक्तिको सम्पर्कमा रहनेहरुलाई यो रोग लाग्ने सम्भावना बढी हुन्छ । बच्चालाई लुतो भएमा आमालाई पनि सर्छ ।

लुतोका लक्षण

लुतो आउनेबित्तिकै यसले लक्षण देखाउँदैन । तीन–चार हप्तापछि शरीरका विभिन्न अंगको छाला चिलाउने हुन्छ । जस्तै, औंलाको काप, तल्लो पेट, नाइटोको वरिपरि, तिघ्रामा धेरै चिलाउँछ । त्यस्तै पुरुषलाई अण्डकोष र महिलालाई स्तनमा चिलाउने, बच्चाहरुलाई अनुहार, हत्केला र खुट्टामा चिलाउने र ठूल्ठूला फोकाफोका आउने गर्छ । वृद्धहरुलाई ढाडमा मसिनो दाना मात्र पनि आउने गर्छ । मुख्यतया साँझपख अत्यधिक चिलाउने गर्छ । त्यस्तै शरीरको विभिन्न भागमा स–साना रात राता बिबिरा पानीका फोका फोका देखापर्छ ।

त्यस्तै नचिलाउने लुतो पनि हुन्छ । यो कुष्ठरोग, प्यारालाइसिस, एचआईभी एड्स, नसासम्बन्धी रोग भएका, हातखुट्टा भाँच्चिएर लामो समय बेडरेस्ट रहेका तथा रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई लाग्ने गर्छ । जसलाई क्रस्टेड लुतो भनिन्छ ।

यसमा लुतोमा जस्तै स–साना बिबिरा आउने हुन्छ तर नचिलाउने हुन्छ । चिलाए पनि एकदम कम चिलाउने हुन्छ । यसमा शरीरको हरेक अंगमा बाक्लो बाक्लो कत्ला आउने, हात तथा नङमा बाक्लो जिरा परेको हुन्छ । यो छालारोग विशेषज्ञलाई जाँच गराएर मात्र थाहा पाउन सकिन्छ ।

लुतोका जटिलता

छालामा समस्या हुने, चिलाएर घाउ हुने, पाक्ने, दाग बस्ने हुन सक्छ । लामो समयसम्म लुतो रहिरहेमा मिर्गौलामा समेत समस्या आउन सक्छ । अण्डकोषमा ठूल्ठूलो डल्लो बस्ने पनि जोखिम हुन्छ ।

निको हुन्छ कि हुँदैन ?

लुतो पूर्ण रुपमा निको हुने रोग हो । लुतो पूर्ण रुपमा निको हुन सामान्यतया करिब तीनदेखि चार हप्ता लाग्छ । पानीको फोका कम भए पनि चिलाउने समस्या भने अलि लामोसम्म हुन सक्छ ।

उपचार

लुतो पहिलो उपचार नै सरसफाइ हो । लुतो लागिसकेपछि सरसफाइमा अत्यन्त ध्यान दिनुपर्छ । जसले गर्दा लुतो अरुलाई नसरोस् । अर्को लुतोको धेरै औषधि बजारमा पाइन्छ खाने र लगाउने दुवै । लगाउने औषधि राति सुत्ने बेलामा लगाएर सुत्ने र भोलि बिहान राम्रोसँग नुहाउने र लगाएर लुगा सबै धोएर मात्र लगाउने गर्नुपर्छ । छालारोग विशेषज्ञको सल्लाह अनुरुप औषधिको प्रयोग गर्नुपर्छ । अत्यधिक चिलाएमा नचिलाउने औषधिको सेवन गर्न सकिन्छ । त्यस्तै घरमा एक जना सदस्यलाई लुतो लागेको छ भने घरका सबै सदस्यले उपचार गर्नुपर्ने हुन्छ । नभए यो रोग सर्ने सम्भावना बढी हुन्छ ।

लुतो लाग्नै नदिन के गर्ने ?

सरसफाइमा ध्यान दिने, लुतो लागेको व्यक्तिको सही उपचार गर्ने, लुतो लागेको व्यक्तिसँग टाढा रहने, लुतो लागेको व्यक्तिको लुगा नलगाउने, सँगै एउटै पलङमा नसुत्ने, यदि प्रत्यक्ष सम्पर्क भएमा लुगा फेरिहाल्ने र अन्य सामान राम्रोसँग धोएर मात्र प्रयोग गर्नुपर्छ । यदि घरको सदस्यलाई लुतो भएमा परिवारका सबै सदस्यले उपचार गर्नुपर्छ ।

  • ७ चैत्र २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech