मोटोपनको समस्याबाट बच्न के गर्ने ?

    • स्वास्थ्य पेज

  • २२ फाल्गुन २०८०, मंगलवार

पहिले पहिले मोटो मानिस देखे कति खाइलाग्दो, स्वस्थ भनेर भनिन्थ्यो । अनि दुब्लो मानिस भेटे खान नपाएको, अस्वस्थ, रोगी भनेर मानिन्थ्यो । तर शरीर अत्यधिक मोटाउनु स्वस्थ हुनुको संकेत होइन, यो रोगहरुको कारण पो हो ।

मोटोपन कैयौं प्राणघातक रोग निम्त्याउने प्रमुखमध्येको कारण हो । निरन्तर रुपमा मोटाउँदै जाँदा शरीरमा विभिन्न रोग लाग्ने सम्भावना पनि बढ्छ । जसमध्ये उच्च रक्तचाप, हृदयघात, मधुमेह, फ्याटी लिभर, मस्तिकघात, घुर्ने र दम मोटोपनका कारण हुने मुख्य रोग हुन् ।

मोटोपन अहिले विश्वव्यापी रुपमै आम समस्या बनिरहेको छ । यसकै कारण कतिपयको अल्पायुमै मृत्यु हुने गरेको छ । मोटोपनलाई विगतमा सामान्य समस्याका रूपमा हेरिए पनि अहिले चिकित्सकहरू गम्भीर रोगका रूपमा लिन्छन् ।

मोटोपनको कारण

अस्वस्थ खानपिन (बढी चिल्लो र बोसोयुक्त खानाको सेवन), शारीरिक व्यायाममा कमी, रक्सी र चिल्लो पदार्थको सेवन, रगतमा नराम्रो बोसो, कोलेस्टेरोल बढ्नु जस्ता कारणले मोटोपनको समस्या हुन्छ ।

थाइराइड, लामो समयसम्म औषधि सेवन, डिप्रेसन, दम, जोर्नीको दुखाइमा प्रयोग हुने स्टेरोएड, महिलाले खाने गर्भनिरोधक चक्की, डिपोप्रोभेरा लगायतले पनि मोटोपन बढाउँछ ।

मोटोपनको समस्याबाट बच्न के गर्ने ?

-प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

-धेरैपटक तर थोरैथोरै गरेर खाना खानुपर्छ ।

-सकेसम्म तेल भएको खाना, जंकफुड खानु हुँदैन ।

-गुलियो खानेकुरा (चक्लेट, गुलियो पेय पदार्थ र चिल्लो खानेकुरा) खानुहुँदैन । यसो गर्दा पेटमा बोसो जम्ने समस्या कम हुन्छ ।

-तरकारी र फलफूल बढी खानुपर्छ । बिहान बेलुका सकेसम्म मौसमी फलफूल खाने, सलाद, गाँजर, काँक्रो, मुला जस्ता तरकारीले शरीरमा एन्टिअक्सिडेन्ट, मिनरल र भिटामिन परिपूर्ति गरिदिन्छ ।

-बेलुका खाना खाइसकेपछि कम्तीमा १० मिनेट हिंड्नुपर्छ ।

-सकेसम्म सुत्नुभन्दा तीन-चार घण्टा पहिले नै खाना खानुपर्छ ।

-भातमा कार्बोहाइड्रेटको मात्रा बढी हुने भएकाले कम खानु राम्रो हुन्छ । खानामा सागसब्जी र सलाद बढी समावेश गर्नुपर्छ ।

-रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ सेवन नगर्ने

-नियमित व्यायाम गर्ने, बिहान छिटोछिटो हिंड्ने, दौडिने, नाच्ने, उफ्रिने, फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, पौडी, टेनिस, डोरी खेल्ने, साइकल चलाउने र परेड खेल्ने, पसिना आउनेगरी आधा घण्टा दौडिने ।

-कुनै समस्या देखिएमा सम्बन्धित चिकित्सकलाई जाँच गराउनुपर्छ ।

  • २२ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech