नेपालगन्जः नेपाल मेडिकल काउन्सिल ले सामाजिक सञ्जालमार्फत भइरहेको अनलाइन स्वास्थ्य परामर्श र बिरामीसँग सम्बन्धित सामग्री सार्वजनिक गर्ने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
काउन्सिलले जारी गरेको सूचनामा फेसबुक, टिकटक लगायतका माध्यममा विभिन्न रोगहरूको उपचारका लागि औषधि सिफारिस गर्ने, बिना परीक्षण सल्लाह दिने तथा स्वास्थ्यसम्बन्धी भिडियो सामग्री व्यापक रूपमा प्रसारण भइरहेकोप्रति चिन्ता व्यक्त गरिएको छ।
स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले बिरामीको उचित परीक्षण, आवश्यक जाँच तथा दर्ता प्राप्त चिकित्सकको प्रत्यक्ष मूल्याङ्कन बिना औषधि सेवन गर्न सुझाव दिनु जोखिमपूर्ण हुने काउन्सिलको ठहर छ। यसले बिरामीको स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै अनावश्यक जटिलता निम्त्याउन सक्ने र दीर्घकालीन हानि पुर्याउन सक्ने सूचनामा उल्लेख गरिएको छ।
काउन्सिलले चिकित्सकहरूलाई बिरामीसँग सम्बन्धित भिडियो सामग्री सार्वजनिक नगर्न, अनिवार्य अवस्था आएमा बिरामीको अनुहार र पहिचान नखुलाउने व्यवस्था गर्न निर्देशन दिएको छ। साथै सामाजिक सञ्जालमार्फत परीक्षण बिना औषधि सिफारिस गर्ने कार्य तत्काल बन्द गर्न पनि आग्रह गरिएको छ।
यस्तै, स्वास्थ्यसम्बन्धी जानकारी वा परामर्श दिँदा वैज्ञानिक प्रमाणमा आधारित तथ्य र पेशागत आचारसंहिताको पूर्ण पालना गर्न काउन्सिलले जोड दिएको छ।
काउन्सिलले सर्वसाधारणलाई पनि सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहका आधारमा औषधि प्रयोग नगर्न र आवश्यक परामर्शका लागि योग्य तथा दर्ता प्राप्त चिकित्सकसँग मात्र सम्पर्क गर्न सुझाव दिएको छ।







