नेपालगन्जका मासु पसलमा अनुगमनः छ्या यस्तो दुर्गन्धित मासु पनि विक्री गर्ने ?

    • स्वास्थ्य पेज

  • ६ पुष २०८०, शुक्रबार

नेपालगन्जः संयुक्त बजार अनुगमन समिति बाँकेले नेपालगन्जका आधा दर्जन मासु पसललाई कारवाही गरेको छ । सडेगलेका मासु विक्री वितरण गर्ने र सरसफाईमा गम्भीर हेल्चेक्र्याइ गर्ने आधा दर्जन मासु पसलेलाई कारवाही गरिएको अनुगमन समितिका संयोजक बाँकेका सहयाक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङले बताउनुभयो । कारवाहीबाट ८० हजार रुपैयाँ उठेको उहाँले बताउनुभयो । समितिले शुक्रबार विहान नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ रामवाग र वडा नं.२० राँझाका दुई दर्जन मासु पसलको अनुगमन गरेको थियो । तीमध्ये राँझाका अधिकांश मासु पसलहरुले अस्वस्थकरण मासु विक्रीवितरण गर्ने गरेको पाइएपछि उनीहरुलाई कारवाहीको दायरामा ल्याइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार न्यू भेरी मिट एण्ड दाना सप्लार्यसलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त पसलबाट कुहिएको ७ किलो कुखुराको मासु समेत टोलिले जफत गरेको छ । त्यसैगरी न्यू योनिशाभा फ्रेस हाउस र दानिस फ्रेस हाउसलाई पनि २०–२० हजार रुपैयाँ जरिवाना गरिएको छ । योनिशाभाबाट खान अयोग्य ५० किलो कुखरा र दानिस फ्रेस हाउसबाट ८ किलो खसीको मासु जवफ गरिएको पनि सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले बताउनुभयो । त्यसैगरी रामवागमा रहेको सलिम अहमद खसी मासु फ्रेस हाउसलाई पनि टोलिले कारवाही गरेको छ । उक्त हाउसमा ५ किलो कुहिएको खसीको मासु फेला परेपछि १० हजार जरिवाना गरिएको छ । मुर्तुजा मासु पसलमा समेत कुहिएको १० किलो मासु फेला परेपछि संचालक मुर्तुजा चिकवालाई पनि १० हजार जरिवाना गरिएको भेटेरिनरी निरीक्षक डा.शंकर न्यौपानेले बताउनुभयो ।

‘झन्डै दुई दर्जन मासु पसलको अनुगमन गर्दा आधादर्जन पसलहरुको अवस्था अत्यन्तै नाजुक देखियो उहाँले भन्नुभयो–‘मानव स्वास्थ्यसँग गम्भीर खेलवाड गरेको पाइएपछि उनीहरुलाई कारवाही गरिएको हो । दर्ता नगरी संचालन भएका पसलहरुलाई तत्काल दर्ता गर्न निर्देशन पनि दिएका छौं ।’ ती मासु पसलको अवस्था हेर्दा अनुगमन टोलिका अधिकांशले छ्या अव त मासु खानै घिन लाग्यो भन्दै नाक खुमच्याएका थिए । फ्रिजमा कुहिएर गहनाउने अवस्थाको मासु, झिंगा भन्किएको त्यो दृष्य र फोहोरै फोहर देख्दा अनुगमन टोलिका अधिकांशले नाक खुमच्याएका थिए ।

अनुगमन टोलि पुग्दा केही व्यवसायी पसल बन्द गरेर भागेका थिए । राँझा चोकको चौधरी फ्रेस हाउसका संचालक अर्नुन चौधरी अनुगमन टोलि देख्ने वित्तिकै पसल बन्द गरेर भागेका थिए । यसअघि विहीबार पनि टोलिले जमुनाह, गणेशमान चोक र धम्वोजी क्षेत्रका माछा–मासु पसलको अनुगमन गरेको थियो । झन्डै आधादर्जन पसललाई कारवाही गर्दा ५० हजार जरिवाना उठेको थियो । फ्रेस हाउसहरुले कुहिएका मासु विक्री वितरण गर्ने, सरसफाई नगर्ने, मासु ढुवानीमा उपयुक्त चिस्यानको मापदण्ड पूरा नगरी ढुवानी गर्ने गरेको समितिले जनाएको छ ।

  • ६ पुष २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech