आँखाको ज्योति फर्किएपछिको खुसी

राप्तीसोनारी गाउँपालिकाले तिलगंगा आँखा उपचार तथा सर्जिकल केन्द्र सिसहनियाको सहकार्यमा पालिकाका विभिन्न वडामा गरेको आँखाको मोतिविन्दु छनौट शिविरमा छानिएका बिरामीको सफल शल्यक्रिया गरिदिएपछि उनीहरुमा खुसीयाली छाएको छ ।


    • प्रियास्मृति ढकाल

  • ६ पुष २०८०, शुक्रबार

नेपालगन्जः राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगन्जकी ६५ वर्षीया अमृता परिवार वर्षौंपछि आँखा देख्दा दंग पर्नुभयो । लामो समयपछि आँखा देख्न पाउँदा उहाँको अनुहार खुसीका आँसुले भिजेको थियो । राप्तीसोनारी–५ विनौनाका ७२ वर्षीय चेतराम थारुको अनुहारमा पनि चमक देखिन्थ्यो । मोतीबिन्दुको सफल शल्यक्रियापछि आँखा देख्न पाएकोमा उहाँ निकै खुसी देखिनुहुन्थ्यो। ‘आँखा नदेख्दा खान, लगाउन र हिँडडुल गर्न पनि अरूको सहारा लिनुपर्ने अवस्था थियो उहाँले भन्नुभयोे–‘अब त आफैं वरपर गर्न सक्ने भए । आँखाको ज्योति कम भएपछि कैयौँपटक लडेको उहाँको भनाइ थियो ।’ उहाँले आँखाको ज्योति फर्किएकोमा पालिकालाई भगवानको उपमा दिनुभयो । ‘कहिले घरमै लडेँ त कहिले हिँड्दा र काम गर्दा लडेँ । शरीरले हार नखाए पनि आँखाको शक्ति कमजोर हुँदा जीवन ओछ्याउनमै बित्ने भयो भन्ने लागेको थियो तर पुनः संसार देखेँ’,राप्तीसोनारी गाउँपालिका–२ कचनापुरकी ८४ वर्षीया कान्छी नानी थारुले भन्नुभयो ।

राप्तीसोनारी गाउँपालिकाले तिलगंगा आँखा उपचार तथा सर्जिकल केन्द्र सिसहनियाको सहकार्यमा पालिकाका विभिन्न वडामा गरेको आँखाको मोतिविन्दु छनौट शिविरमा छानिएका बिरामीको सफल शल्यक्रिया गरिदिएपछि उहाँहरुमा खुसीयाली छाएको छ । अमृता, चेतराम र कान्छी नानी जस्तै ७१ जनाले मोतीबिन्दुको शल्यक्रियापछि पुनः संसार देख्नुभयो । विगतमा मोतीबिन्दुको शल्यक्रिया गर्न आफ्नै खर्चमा नेपालगन्ज आउनु पर्ने बाध्यता रहेकोमा पालिकाले गरेको छनौट शिविरमा छानिएका बिरामीको शल्यक्रियाका लागि अस्पतालसम्म आउने जाने व्यवस्थापन समेत पालिकाले गरिदिएको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिनुभयो ।

पालिकाले छनौट भएका बिरामीलाई सिसहनिया लगेर निःशुल्क शल्यक्रिया गरेको पालिका अध्यक्ष तप्त बहादुर पौडेलले बताउनुभयो । उहाँका अनुसार पछिल्लो पटक पालिकाका चार वटा वडामा मातिविन्दु छनौट शिविर आयोजना गरिएको थियो । त्यसबाट १४९ जना बिरामी फेला परेका थिए । वडा नं.९ बाट २७, वडा नं.८ बाट ४३, वडा नं.२ बाट ४० र वडा नं.५ बाट ३९ जना गरी १४९ जना मोतिविन्दुका बिरामी छनौट भएका थिए । उनीहरु मध्ये ७१ जनालाई पालिकाले सिसहनिया लगेर निःशुल्क शल्यक्रिया गरिदिएको स्वास्थ्य शाखाका सुरेश कुमार शर्माले जानकारी दिनुभयो ।

छनौट भएका अन्य बिरामीहरुको पनि पालिकाले निशुल्क शल्यक्रिया गर्ने जनाएको छ । ग्रामीण क्षेत्रका अधिकांश बासिन्दामा समयमा आँखा जाँच नहुँदा मोतीबिन्दुका कारण ज्योति गुमाउनुपर्ने बाध्यता रहेको छ । अध्यक्ष पौडेलले तिलगंगा आँखा अस्पतालको टिमलाई धन्यवाद दिँदै अब यसलाई निरन्तरता दिने बताउनुभयो । गाउँपालिकामा अब आँखा उपचार केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको र त्यसका लागि प्रक्रिया अघि बढिसकेको र अब छिटै सञ्चालनमा ल्याउने समेत उहाँले बताउनुभयो । त्यसका लागि तिलगंगा आँखा अस्पतालसँग पालिकाले सम्झौता गरिसकेको छ । पालिकाले राप्तीसोनारी अस्पतालबाट आँखा उपचार सेवा प्रवाह गर्ने गरी तयारी अगाडि बढाइसकेको अस्पतालका प्रमुख डा.राम साहले जानकारी दिनुभयो ।

  • ६ पुष २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech