विद्यालय नर्स कार्यक्रमको नेपालगन्जमा समिक्षा

    • स्वास्थ्य पेज

  • ४ पुष २०८०, बुधबार

नेपालगन्जः लुम्विनी प्रदेश स्वास्थ्य निर्देशनालयले नेपालगन्जमा विद्यालय नर्स कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठि गरेको छ । बाँके, बर्दिया र रुकुमपूर्वका विद्यालय नर्सहरुलाई नेपालगन्जमा बोलाएर कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठि गरिएको निर्देशनालयका प्रजनन् स्वास्थ्य कार्यक्रमका फोकल पर्सन कौशल भण्डारीले जानकारी दिनुभयो । लुम्विनी प्रदेशमा विद्यालय नर्स कार्यक्रम ५२ वटा विद्यालयमा संचालनमा छ । पाइलट कार्यक्रमका रुपमा चलिरहेको विद्यालय नर्स कार्यक्रम संचालित विद्यालयको संख्या यो भन्दा बढी हुन सक्ने अनुमान छ । संघीय, प्रदेश र स्थानीय तहसँगै कतिपय विद्यालय आफैले समेत विद्यालयमा नर्स राखेका कारण कार्यक्रम संचालन भएको विद्यालय संख्या बढ्न सक्ने देखिएको हो ।विद्यालयमा खटिएका नर्सहरुले किशोरकिशोरीमा हुने शारिरीक समस्या, मानसिक, सामाजिक र संवेगात्मक समस्या समाधानमा सहजीकरण, व्यक्तिगत तथा महिनावारी सरसफाई, विद्यालय तथा वातावरण सरसफाई, यौन शिक्षा, पोषण र गुणस्तरीय खानामा सुधार तथा लागु औषध नियन्त्रणका लागि विद्यार्थीहरुको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने गरेको फोकल पर्सन भण्डारीले बताउनुभयो ।

गोष्ठिमा विद्यालय नर्सहरुले विद्यालयमा गर्दै आएको कामहरुको बारेमा अनुभवहरु शेयर गरेका थिए । त्यसक्रममा उनीहरुले व्यक्तिगत र महिनावारी सरसफाईको प्रभावकारीता बढी देखिएको बताए । उनीहरुले खासगरी किशोरीअवस्थामा हुने रक्तअल्पताको समस्यामा समेत सुधार आएको बताए । यस्तै पोषण र गुणस्तरीय खानामा समेत सुधार आएको उनीहरुले बताए । विद्यालय नर्स कार्यक्रम सुरु भएका विद्यालयमा जंगफुड पुरै निरुत्साहित भएको उनीहरुको भनाइ छ । पोषण गुणस्तरीय खानाको बारेमा जानकारी दिएपछि विद्यालयमा जंगफुड निषेध भएको र अभिभावकहरुमा समेत सचेतना फैलिएको पाइएको विद्यालय नर्सहरुले अनुभव सुनाए । विद्यालय नर्स कार्यक्रमप्रति विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, विद्यार्थी, शिक्षक र अविभावकको समेत सकारात्मक दृष्टिकोण बनाउन उनीहरुले आवश्यक रहेको बताए ।

विद्यालय नर्सलाई आवश्यकताअनुसार तालिमको व्यवस्था हुनु पर्ने, प्राथमिक उपचारको लागि आवश्यक औषधि, औजार र उपकरण उपलब्धता हुनु पर्ने, विद्यालय नर्सले सेवा दिने/परामर्श गर्ने कक्षको व्यवस्था हुनुपर्ने, विद्यालय नर्स, रेफरल अस्पताल र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय र साझेदारी हुनु पर्ने सुझाव समेत उनीहरुले दिएका थिए । त्यसैगरी कतिपय विद्यालयमा विद्यालय नर्सहरुलाई स्वास्थ्य शिक्षा जस्ता पाठ्यक्रम पढाउन समेत लगाउने गरेको पाइएको उनीहरुको गुनासो थियो । विद्यालय नर्सहरुको भूमिका विद्यालयमा स्वास्थ्य सचेतना फैलाउने काम हो । तर उनीहरुलाई कतिपय विद्यालयले पाठ्य सामाग्री पढाउन लगाउने गरेको पाइएको छ । गोष्ठिमा फोकल पर्सन भण्डारीसहित भेरी अस्पतालका नर्सिङ प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका परिवार नियोजन सुपरभाइजर निरीक्षक कुमार थापा, युनिसेफका प्रकाश चन्द्र जोशी लगायतले सहजीकरण गर्नुभएको थियो । यसअघि दाङ र रोल्पाका विद्यालय नर्सहरुसँग पनि समिक्षात्मक गोष्ठि गरिएको थियो ।

  • ४ पुष २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech