बर्दिया अस्पताल न्यूनतम सेवा मापदण्डमा लुम्विनी प्रदेशमा पहिलो

    • स्वास्थ्य पेज

  • ४ पुष २०८०, बुधबार

नेपालगन्जः बर्दिया अस्पताल न्यूनतम सेवा मापदण्डमा लुम्विनी प्रदेशमा पहिलो भएको छ । आर्थिक वर्ष २०७९\०८० को न्यूनतम सेवा मापदण्डमा अहिलेसम्म गरिएको मूल्यांकनमा बर्दिया अस्पताल पहिलो भएको अस्पतालका निर्देशक डा.सुभाष पाण्डेले जानकारी दिनुभयो ।

लुम्विनी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद गिरी, भेरी अस्पताल नेपालगन्जका नर्सिङ प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठ, निर्देशनालयका प्रजनन् स्वास्थ्य कार्यक्रमका फोकलपर्सन कौशल भण्डारी, स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखा न्यूनमत सेवा मापदण्ड शाखा प्रमुख डा नरेन्द्र खनालसहितको टोलिले दुई दिन लगाएर गरेको स्थलगत मूल्यांकनमा बर्दिया अस्पताल पहिलो भएको निर्देशक पाण्डेले बताउनुभयो ।

९३९ वटा विभिन्न सूचकमा गरिएको मूल्यांकनमा अस्पतालले एक सय मा ९६ अंक ल्याएको छ । अस्पतालको प्रशासन व्यवस्थापन, क्लिनिकल उपचार, सर्पोट कार्यक्रम लगायतलाई आधार मानेर मापन गर्ने गरिएको छ । अस्पतालको प्रशासन, व्यवस्थापन, बजेट खर्चको अवस्था, विशेषज्ञ सेवा, निशुल्क उपचार सेवा, फोहरमैला व्यवस्थापन लगायतलाई आधार मानेर मूल्यांकन गर्ने गरिएको छ ।

प्रदेश मातहतमा रहेका अस्पतालहरुको जारी मूल्यांकनमा बर्दिया अस्पताल दोस्रो स्थानमा छ । भक्तपुर अस्पताल ९७ अंकसहित अहिलेसम्म पहिलो स्थानमा रहेको छ । लुम्विनी प्रदेशमा रोल्पा ८५ अंक सहित अहिलेसम्म दोस्रो स्थानमा छ । प्रदेश मातहतका अन्य अस्पतालहरुको मूल्यांकन गर्ने काम जारी रहेको बताइएको छ ।

डा.पाण्डे नेतृत्वको बर्दिया अस्पताल सेवा प्रवाहमा अब्बल बन्दै गएको छ । अस्पतालको व्यवस्थापनसँगै सेवा प्रवाहमा समेत अव्वल देखिदै गएपछि न्यूनतम सेवा मापदण्डमा प्रदेशकै नमुना अस्पतालको रुपमा अगाडि बढेको छ । अस्पतालले पाठेघरको मुखको क्यान्सरको निशुल्क जाँच, सिकलसेल एनिमिया चेकजाँच समेत निशुल्क हुने गरेको पाण्डेले बताउनुभयो ।

  • ४ पुष २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech