नेपालगन्जः शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा मुटुको जटिल मानिने ‘निकाइडो’को सफलतापूर्वक शल्यक्रिया गरिएको छ । स्याङ्जाकी ७ वर्षीया बालिकाको गएको कार्तिक २६ गते सफलतापूर्वक शल्यक्रिया गरिएको केन्द्रका प्रमुख कन्सल्टेन्ट कार्डियो सर्जन डा.रविन्द्र भक्त तिमलाले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।
ती बालिका जन्मजात मुटुरोग समस्याबाट जुधिरहेकी थिइन् । ट्रान्सपोजिसन अफ गे्रट आर्टरिज, भेन्टीकुलर सेप्ट डिफेक्ट, पलमोनरी स्टेनोसीस भनिने उक्त रोगमा मुटुुको देव्रे खण्डबाट निकल्नु पर्ने मुल धमनी दाहिने खण्डबाट र दाहिने खण्डबाट निस्कनु पर्ने पलमोनरी आर्टरी देव्रे खण्डबाट निस्किएको थियो । उक्त शल्यक्रियाबाट मुटुको मुल धमनी दायाँ भागबाट छुट्याइ देव्रे भागमा प्रतिस्थापन गरिएको डा. तिमलाले बताउनुभयो ।
यस्तै देव्रे भागबाट निस्किएको पलमोनरी आर्टरी दायाँ भागमा प्रतिस्थापन गरिएको छ । मुटुको तल्लो भागको दुई कोठा बीचको प्वाल पनि टालिएको छ । शल्यक्रियाका लागि साढे ९ घण्टा समय लागेको थियो । त्यसक्रममा चार घण्टा मुटु बन्द गर्नु परेको पनि डा. तिमलाले बताउनुभयो ।
केन्द्रमा उपचाररत ती बालिकाको स्वास्थ्य अवस्था अहिले सामान्य बन्दै गएको छ । उनलाई केही दिनमा डिस्चार्जको तयारी गरिएको छ । यस्तो शल्यक्रिया नेपालमै पहिलो पटक गरिएको पनि उहाँले जानकारी दिनुभयो । कार्डियो सर्जन डा.तिमलाको नेतृत्वमा डा.मारिषा अर्याल, डा. सुजन बोहरा, एनेन्स्थेसियोलोजिष्ट डा.स्मृति महाजु लगायतको सहभागिता रहेको थियो ।
यसअघि डा. तिमलाको नेतृत्वमा नेपालमै पहिलो पटक मुटुको जटिल आर्टेरियल स्विच, कोनो रष्टन एओर्टा भेन्ट्र्रिकुलोप्लास्टी, पल्मोनरी थ्रोम्बोएन्डारटेरेक्टोमी, टोटल आर्च रिप्लेसमेन्ट, सेनिङ्ग अपरेसन लगायतका शल्यक्रियाहरु सफलतापूर्वक गरिएको थियो । यस्ता प्रकृतिका शल्यक्रियाहरु अहिले नियमित भइरहेको पनि उहाँले बताउनुभयो ।