वर्षातमा फैलन सक्छन् यी रोगका जीवाणु 

    • स्वास्थ्य पेज

  • १६ असार २०८०, शनिबार

मनसुनको समयमा अधिक वर्षा हुने हुँदा पानीका मुहान प्रदूषित हुन्छन् । जसकारण, झाडापखाला, जन्डिस, टाइफाइडलगायत विभिन्न रोग फैलने जोखिम रहन्छ । त्यसैले यस समय खानपान र सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

इन्फ्लुएन्जा : इन्फ्लुएन्जा हुँदा भाइरल रुघाखोकी लाग्ने, ज्वरो आउने हुन्छ । यो सामान्यतः आफैँ निको हुने रोग हो । तर, कहिलेकाहीँ यसले स्वास्थ्यमा जटिलता ल्याउन सक्छ । त्यसैले उच्च ज्वरो आउने, धेरै खोकी लाग्ने, स्वाँ–स्वाँ हुनेलगायतका समस्या भयो भने स्वास्थ्य संस्था गई चिकित्सकको सल्लाहअनुसार औषधि उपचार गर्नुपर्छ ।

झाडापखाला : दिसामा भएका रोगका जीवाणुहरू पानी, खाना र हातका माध्यमबाट शरीरभित्र प्रवेश गरेपछि झाडापखाला हुन्छ । दूषित पानी पिएमा, सडेगलेको, झिँगा बसेको खाना खाएमा, काँचै खाने तरकारी वा फलफूल सफा नगरी खाएमा, हात नधोई खाना खाएमा झाडापखालाको जोखिम रहन्छ । त्यसकारण, सरसफाइमा ध्यान दिनुपर्छ । उमालेको पानी पिउनुपर्छ, राम्ररी पकाएर मात्रै खानेकुरा खानुपर्छ । झाडापखाला लागेको अवस्थामा जीवनजल बढी खानुपर्छ । स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।

ज्वरो : वर्षायाममा जोर्नी दुख्ने, रुघाखोकी लाग्ने र ज्वरोले सताउने पनि हुन्छ । ज्वरो आउनुका कारण धेरै हुन सक्छन् । त्यसैले लगातार ज्वरो आएमा चेकजाँचका लागि स्वास्थ्य संस्थामा जानुपर्छ ।

स्क्रब टाइफस : यो रोग मुसामा लाग्ने किर्नाको टोकाइबाट मानिसमा सर्दछ । झाडीमा बस्ने उक्त किर्नाभित्र हुने ‘ओरेन्सिया सुसुगामोसी’ नामक जीवाणु मानिसको शरीरभित्र प्रवेश गरेपछि यो रोगको संक्रमण देखिन्छ । किर्नाले टोकेको पाँचदेखि ६ दिनमा मानिसलाई ज्वरो आउने, शरीरमा रातो बिमिरा आउने, शरीर दुख्ने, ग्रन्थि सुन्निनेलगायत लक्षण देखिन्छन् । ‘ओरेन्सिया’ जीवाणु छालाबाट शरीरभित्र पसेपछि रगतका माध्यमबाट अन्य भागमा सर्छ । समयमै उपचार नभए शरीरका अन्य अंग मुटु, कलेजो, फोक्सो, मिर्गौलामा समेत फैलिएर बिरामीको मृत्यु हुन सक्छ । त्यसैले किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजंगलमा जाँदा लामो बाहुला भएका कपडा लगाउनुपर्छ । घर वा कोठा सफा राख्नुपर्छ, जसकारण मुसा घरमा नआओस् ।

लामखुट्टेको टोकाइबाट बचौँ 
लामखुट्टेको टोकाइबाट मलेरिया, कालाजार, जापानिज इन्सेफलाइटिस, डेंगुलगायतका रोग लाग्न सक्छ । यसबाट बच्न अनिवार्य झुल प्रयोग गर्ने, शरीरमा लामखुट्टे भगाउने लोसनको प्रयोग गर्ने, घरवरपर सरसफाइ गर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्नेलगायत गर्न सकिन्छ ।

सतर्कताका केही उपाय 
– पानी राम्रोसँग उमालेर वा शुद्धीकरण गरेर मात्रै पिउने ।
– खाना बनाउनुअघि, खानुअघि शौचालय तथा कुनै पनि कामबाट घर फर्केपछि साबुनपानीले हात धुने ।
– जथाभावी दिसापिसाब नगर्ने ।
– बासी सढे–गलेका, झिँगा भएका खानेकुरा नखाने । फलफूललगायत काँचै खाने खानेकुरा राम्ररी पखालेर मात्र खाने ।
– जथाभावी फोहोर नफाल्ने । घरवरिपरि सफा राख्ने, पानी जम्न नदिने, झाडी नराख्ने ।
– शरीर ढाक्ने कपडा लगाउने ।
– बान्ता हुने, पेट दुख्ने, झाडापखाला लाग्ने, कसैकसैमा दिसामा रगत आएमा, उच्च ज्वरो आएमा स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ । जथाभावी आफूखुसी औषधि नखाने ।

  • १६ असार २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech