को बन्दै छ भेरी अस्पताल विकास समितिको अध्यक्ष ?

    • स्वास्थ्य पेज

  • ३२ जेष्ठ २०८०, बिहीबार

नेपालगन्जः भेरी अस्पताल विकास समिति अहिले पदाधिकारी विहीन छ । गएको जेठ १३ गते प्रमोद धिताल अध्यक्ष रहेको समितिको पदावधी सकिएपछि दुई सातादेखि अस्पताल विकास समिति पदाधिकारी विहीन भएको हो । विस २०७७ साल जेठ १३ गते अध्यक्षमा धिताल, सदस्यहरुमा कृष्ण प्रसाद श्रेष्ठ, धनराम वली र सरस्वती मल्ल समितिमा नियुक्त हुनु भएको थियो ।

उहाँहरुको तीन वर्षीय कार्यकाल समाप्त भएको दुई साता वितिसक्दा पनि समितिले नयाँ नेतृत्व पाउन सकेको छैन । अहिले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत नेकपा समाजवादी लगायतको सरकार छ । काँग्रेसले स्वास्थ्यमन्त्री पाएको छ । अस्पताल विकास समितिमा राजनीतिक नियुक्ती हुने गर्छ ।

काँग्रेसको स्वास्थ्यमन्त्री भएकाले स्वभाविकरुपमा अध्यक्ष काँग्रेसको कोटामा परेको छ । तर काँग्रेसभित्रै अध्यक्ष बन्नेहरुको प्रतिस्पर्धा चलेपछि समितिलाई नेतृत्व दिन ढिलाइ भएको स्रोतले बताएको छ । काँग्रेसबाट अध्यक्षमा पुरन सिंह ठकुरी, वीरेन्द्र बहादुर शाह, पंकज गुप्ता र डा.सकेत रिसालले लविङ गर्दै आउनुभएको छ ।

तर यी चारजना मध्ये शाह र डा.रिसालबीच अहिले तीब्र प्रतिस्पर्धा चलेको छ । शाह तरुण दल बाँकेका अध्यक्ष हुनुहुन्छ भने डा.रिसाल भेरी अस्पतालका बरिष्ठ फिजिसियन हुनुहुन्छ । शाह र डा.रिसाल दुवै संस्थापन निकट भएकाले दुवैले आआफ्नो निकट नेताहरुलाई लविङ गर्दै आउनुभएको छ ।

शाह काठमाडौंमा बसेर नेताहरुसँगको लविङमा हुनुहुन्छ भने डा.रिसालले नेपालगन्जबाटै नेताहरुलाई दवाव दिँदै आएको स्रोतले बताएको छ । संस्थापनतिरका नेताहरु भने सकेसम्म डा. रिसाललाई रोकेर शाहलाई अस्पताल विकास समितिको अध्यक्ष बनाउनु पर्नेमा जोड दिँदै आएका छन् ।

तर डा.रिसालले केन्द्रीय नेताहरुलाई नै फोन गरेर आफुलाई अध्यक्ष बनाउन दवाव दिएपछि समितिलाई नेतृत्व दिन सकस भइरहेको छ । सदस्यमा भने काँग्रेसको कोटामा पार्टी सहसचिव रेणुसिंह ठकुरी सुनिश्चित जस्तै रहेको स्रोतको भनाइ छ ।

  • ३२ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech