नेपालगन्जः गाईभैँसीमा देखिने लम्पी स्किन रोग नेपालका ४० जिल्लामा फैलिसकेको छ । पशु सेवा विभागका अनुसार हालसम्म ४० लाख गाईभैँसीलाई लम्पी स्किन रोग पुष्टि भएको छ । यसबाट ७ हजार बस्तुभाउ मरेको विभागको तथ्याङ्क छ ।
नेपालमा पहिलो पटक २०७७ सालमा सङक्रमजन्य लम्पी स्किन रोग पुष्टि भएको थियो । त्यसबेला करिब ३ हजार पशुमा यो रोग पुष्टि भएको थियो । विगत गाईभैँसीमा देखिने यो रोग अफ्रिकामा मात्र सीमित थियो । तर सन् २०१२ पछि मध्यपूर्व, दक्षिण–पूर्वी युरोप, रुस, काजकिस्तान हुँदै बंगलादेश र भारतमा केही वर्षअघि यो रोग देखापरेको थियो ।
लम्पी स्किन रोग पक्स समूहको काप्रीपक्स भाइरसबाट लाग्ने पशु सेवा विभागका वरिष्ठ पशु विज्ञ तथा सूचना अधिकारी डा.चन्द्र ढकालले बताउनुभयो । लम्पी स्किन रोग भैँसीमा भन्दा गाईमा बढी देखिने उहाँको भनाइ छ । हाल नेपालका विभिन्न जिल्लामा यो सङ्क्रामक रोग देखिएकाले सचेत हुन डा ढकालको आग्रह छ ।
लम्पी स्किन रोगबाट सङ्क्रमित भएका गाईभैँसीको दूध विक्री वितरण नगर्न र नखान उहाँको सुझाव छ । हालसम्म पशुबाट मानिसमा यो रोग सरेको नपाइए पनि संक्रमित पशुलाई विभिन्न किसिमको औषधि खुवाइने भएकाले दूध खान नहुने ढकालले बताउनुभयो ।
रोगको पहिचान कसरी गर्ने ?
डा ढकालका अनुसार गाईभैँसीमा लम्पी स्किन रोग देखिँदा गाईभैँसीमा यस्ता लक्षणहरू देखिन्छन् ः
–१०४ फरेनहाइटभन्दा बढी ज्वरो आउँछ ।
–सिँगान बग्ने तथा र्याल धेरै निकाल्छन् ।
–छालामा १–५ सेन्टिमिटरको गोलो गिर्खाहरू देखिन्छ । सुरुमा गिर्खा टाउको घाँटीमा देखिएर त्यसपछि शरीर भरि फैलिन्छ ।
–शरीरमा रौँ भएका पशुमा बाहिर गिर्खा नदेखिन सक्छ । यसलाई छाम्दा भेट्न सकिन्छ ।
–सामान्य सङ्क्रमण हुँदा गिर्खा कम हुन्छ, गम्भीर सङ्क्रमण हुनेमा यो धेरै हुन्छ ।
–शरीरका विभिन्न भागहरूमा विशेष गरी घाँटी, पछाडिको खुट्टाहरूमा, पेट र थुन वरिपरि सानादेखि ठुला गिर्खाहरू देखिन्छन् ।
–दूध उत्पादन २५–८०% सम्म घट्न सक्छ ।
–गर्भ तुहिने तथा बाँझोपना देखिन सक्छ ।
–मृत्युदर कम भए पनि धेरै पशुहरू (५–४५%) बिरामी हुन सक्छन् ।
–गिर्खाहरू केही समयपछि हराउन पनि सक्छ । गिर्खा निको भएन भने घाउ बन्ने, किरा पर्ने, पाक्ने भई थप जटिल हुन्छ ।
–यो रोगले गाईबस्तुमा कुनै पनि लक्षण नदेखाई मृत्यु समेत हुन सक्छ ।
कसरी सर्छ यो रोग ?
–लामखुट्टे, झिँगा, किर्ना, भुसुना आदिले सङ्क्रमित टोकाइबाट एउटा गाईभैँसीबाट अन्यमा सर्छ ।
–पशुको ओसारपसार र लसपसबाट पनि यो सर्न सक्छ ।
–सङ्क्रमित गाईभैँसी र स्वस्थ गाईभैँसीको उपचार गर्दा एउटै सुई प्रयोग गरिएमा ।
–सङ्क्रमित गाईभैँसीले दानापानी खाएको भाडामा अन्य पशुलाई खुवाउँदा ।
–रोगी पशुको सम्पर्कमा स्वस्थ पशु आएमा ।
उपचार तथा रोकथाम
– यसको ठोस उपचार छैन ।
– प्राविधिकको सल्लाहमा लक्षण अनुसारको उपचार गरिन्छ ।
– लम्पी स्किन रोगविरुद्धको खोप लगाउने ।
– सङ्क्रमित क्षेत्रबाट गाईभैँसीको ओसारपसार नियन्त्रण गर्ने ।
– लामखुट्टे, झिँगा, किर्ना आदिको नियन्त्रण गर्ने र गोठ वरिपरिको वातावरण सफा राख्ने ।
–प्रशस्त मात्रा पानी र घाँस कुँडो खुवाउने ।
–थाहा नभएको स्थानबाट पशु ल्याएको अवस्था केही दिनसम्म अन्य पशुबाट छुट्टै राख्ने ।
– लामखुट्टे, झिँगा, किर्ना, भुसुनाको टोकाइबाट बचाउन गोठको नजिकै घसेटाहरू बाल्ने, फिनेलले सफा गर्ने, पानी जम्न नदिने, नियमित सफाइ गर्ने ।
–सङ्क्रमित पशु मरेमा गहिरो खाल्डो खनेर पुर्ने ।
–यस्ता लक्षण देखिएमा तत्काल स्थानीय तहका पशुसेवा केन्द्र, जिल्ला पशुसेवा केन्द्र र भेटनरी विज्ञलाई तत्काल देखाउने ।
–सङ्क्रमित पशुबाट उत्पादित दूध बजारमा गएर नबेच्ने ।