धूम्रपानले महिलाको प्रजननमा कस्तो असर पार्छ?

    • डा सृष्टी श्रेष्ठ प्रजापति/स्त्री क्यान्सर रोग विशेषज्ञ

  • १७ जेष्ठ २०८०, बुधबार

आधुनिक जीवनशैली, मोटोपना, शारीरिक गतिविधि धूम्रपान तथा सूर्तीजन्य पदार्थको सेवनले क्यान्सरको संभावनालाई बढाउँछ। सूर्तीजन्य पदार्थमा स्वास्थ्यलाई हानि गर्ने ७ हजार रासायनिक तत्व हुन्छन्  भने ७० भन्दा बढी क्यान्सरका कारक तत्वहरू हुन्छन् भन्ने प्रमाणित भइसकेको छ। जब कसैले धूम्रपान गर्छन, सो व्यक्ति र उसको वरपर बस्नेलाई पनि असर गर्दछ। यसले फोक्सोको समस्या, मुटुको रोग, पक्षघात, गर्भावस्थाका महिला तथा बच्चालाई समस्या हुने गर्दछ। धूम्रपानले सबैभन्दा बढी फोक्सोको क्यान्सर गराउँदछ भने यसले महिलाहरुमा प्रजनन् अंगको क्यान्सरको सम्भावना पनि उत्तिकै बढाउँदछ।

डिम्बास‌य‌को क्यान्सर

डिम्बास‌य‌को क्यान्सर विश्वमा १८ ‌औं स्थानमा पर्दछ भने महिलाहरूमा हुने क्यान्सरको ८ औ स्थानमा पर्दछ। यसको प्रमुख कारणहरूमध्ये बढ्‌दो उमेर, पारिवारिक पृष्ठभूमी अर्थात  वंशाणुगत, निसन्तान वा ढिलो सन्तान जन्माउने, हर्मोनको प्रयोग र छिटो महिनावारी सुरु भएर ढिला सुक्नु यसको प्रमुख कारक भए पनि विभिन्न शोधहरुले धूम्रपानले म्युसिनस प्रकारको डिम्बास‌य‌को क्यान्सरको जोखिम बढाउँछ भन्ने देखाएको छ।

पाठेघरको मुखको क्यान्सर

धूम्रपान गर्ने महिलाहरुमा पाठेघरको मुखको क्यान्सको सम्भावना धूम्रपान नगर्ने महिलाको भन्दा दुई गुणा बढी हुन्छ। धूम्रपान गर्ने महिलाहरुमा धूम्रपानको तत्वहरु पाठेघरको मुखको तहमा समेत भेट्टिने गरेको छ। यी तत्वहरुले पाठेघरको मुखको क्यान्सर गराउन मद्दत गर्दछ। त्यस्तै धूम्रपान गर्ने महिलाहरुमा शरीरको आन्तरिक शक्ति कमजोर हुने र एचपीभी भाईरसको संक्रमण हुने सम्भावना बढी हुन्छ। एचपीभी भाइरस पाठेघरको मुखको क्यान्सरको ९० प्रतिशत कारण मानिन्छ।

योनीको क्यान्सर

धूम्रपान नगर्नेहरुलाई भन्दा गर्ने महिलाहरुमा योनीको क्यान्सरको सम्भाबना पनि उतिकै बढी हुन्छ तथा कोही महिलाहरूलाई एचपीभी भाईरसको संक्रमण छ भने ति महिलाहरुलाई धूम्रपान गर्दा योनीको क्यान्सरको सम्भावना पनि बढी हुन्छ। धूम्रपान गर्ने महिलाहरुमा पाठेघरको मुखको र योनीको प्रि-क्यान्सर अर्थात क्यान्सर पूर्वको रोग लाग्ने सम्भावना पनि बढी हुन्छ। यदी यसको उपचार सही र समयमा भएन भने क्यान्सर समेत हुन सक्छ।

महिलाहरूले धूम्रपान नगर्नाले महिला प्रजनन  अंगको क्यान्सरको सम्भावना कम हुन्छ भने यदि धूम्रपान कर्ताले त्यागेमा पनि यसको सम्भावना विस्तारै कम हुदै जान्छ।

  • १७ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech