प्राणायामका विधि के छन् ?

    • कमल पौडेल/ योगाचार्य

  • २९ बैशाख २०८०, शुक्रबार

प्राणायाम रोग निवारणको एक औषधि नै हो भन्दा पनि हुन्छ । दैनिक गरिने प्राणायामले मानिसको ७२ हजार नसामा रक्तप्रवाह राम्रो गराउन मद्दत गर्छ । यद्यपि प्राणायामका धेरै प्रकार छन् । तर यहाँ हामी ती प्राणायामको मात्र चर्चा गर्नेछौं । जसलाई बालबालिका, युवायुवती, वृद्धवृद्धा सबैले सहज रुपमा गर्न सक्छन् ।

प्राणायाममा श्वासप्रश्वासका तीन क्रिया पूरक, रेचक र कुम्भक गरिन्छ । पूरक श्वास भित्र लिने प्रक्रिया हो भने रेचक सास बाहिर निकाल्ने क्रिया हो । कुम्भक अर्थात् श्वासलाई केही समय रोकेर राख्ने क्रिया छन् ।  कुम्भक दुई प्रकारका हुन्छन । सासलाई शरीरभित्र रोकेर राखिएको छ भने त्यसलाई भित्री कुम्भक र शरीरबाहिर रोकेर राखिएको छ भने त्यसलाई बाहिरी कुम्भक भनिन्छ ।

पहिलोपटक गर्नेलाई साधारण प्राणायाम

-छातीमा भरिएको सास नाकबाट बिस्तारै बिस्तारै बाहिर निकाल्ने ।

-जति समय लगाएर सास निकालिएको हो, त्यसको एक चौथाइ समयसम्म सासलाई बाहिरै रोकिराख्ने ।

-पुनः बिस्तारै बिस्तारै सास लिन सुरु गर्ने र पेटदेखि फोक्सोसम्म पूर्ण रुपले हावा भर्ने ।

-पहिले जति समयसम्म सासलाई बाहिर रोकिएको थियो, त्यति नै समय सासलाई भित्र रोकिराख्ने ।

-यस अभ्यासलाई पहिलो दिन कम्तीमा ७ पटक र त्यसपछि दुई पटक बढाउँदै जाने ।

प्रत्येक क्रियासँगै मनमनै ‘ओम’ उच्चारण गरिरहने र प्राणायाम त्यतिबेलासम्म मात्रै गर्ने जति बेलासम्म सजिलैसँग सास रोक्न सकिन्छ । जबर्जस्ती लामो समयसम्म गर्नाले लाभको सट्टा हानि पनि हुन सक्छ ।

फोक्सोको हरेक भागमा हावा पुर्‍याउन प्राणायाम

-नाकबाट बिस्तारै सास तानेर इच्छाशक्तिसहित पहिले त्यसलाई फोक्सोको तल्लो भागमा भर्ने, यसो गर्नाले पेटको माथिल्लो भाग पनि केही फुल्नेछ । यसपछि त्यही सासलाई फोक्सोको मध्यभागमा पुर्‍याउने, यसले छातीको बीच भाग केही फैलिन्छ ।

-सास तान्दै फोक्सोको माथिल्लो भाग पुर्‍याउने, जसले छातीको माथिल्लो भाग फैलिन्छ ।

-फोक्सोका सम्पूर्ण कोषमा सास पूर्ण रुपले भरपूर मात्रामा भर्न केहीबेर सासलाई भित्रै रोकेर राख्ने । पुनः बिस्तारै बिस्तारै सास बाहिर निकाल्ने ।

पेट तथा आन्द्रासम्म प्राण पुर्‍याउन प्राणायाम

-सासलाई तानेर सिधा पेटसम्म लैजाने, ताकि पेट राम्रोसँग फुलोस् ।

-सासलाई बाहिर निकाल्ने र पेट जतिसम्म भित्र जान सक्छ सासको माध्यमले तान्दै जाने गर्नुपर्छ । बाहिर भित्र कुनै कुम्भक नगरी लगातार यो क्रियालाई केहीबेर गरिरहने ।

-अभ्यासको समय नाकको टुप्पोमा हेर्ने, थाकेपछि अन्त्यमा एकपटक कुम्भक गरेर अभ्यासलाई समाप्त गर्ने गर्नुपर्छ ।

शक्ति बढाउन प्राणायाम

-चिउँडोलाई करङको बीच छातीको माथि दुईवटा ब्युटीबोनको बीचमा जोड्ने र केहीबेर कुम्भक गर्ने ।

-बायाँ नाकलाई बुढी औंलाले बन्द गरेर दायाँ नाकबाट सास तान्ने ।

-चौथो र कान्छी औंलाले दायाँ नाकलाई बन्द गरेर बायाँ नाकबाट सास बाहिर निकाल्ने ।

-अर्को प्राणायाममा यसको उल्टो गर्ने अर्थात् बायाँबाट सास तानेर दायाँबाट निकाल्ने ।

-हरेक प्राणायामपछि उपयुक्त बदलाव ल्याउने । अर्थात्, एकपटक दायाँबाट तान्ने र बायाँबाट छोड्ने, अर्को पटक बायाँबाट तानेर दायाँबाट छोड्ने, अर्को पटक पुनः दायाँबाट तान्ने र बायाँबाट छोड्ने ।

मानसिक शक्ति बढाउन प्राणायाम

-दायाँ खुट्टाको कुर्कुच्चा, बायाँ खुट्टाको जाँघमाथि र बायाँ खुट्टाको कुर्कुच्चा मलद्वारमा राख्ने । चिउँडोलाई छातीमा टाँसेर राख्ने र आँखा बन्द गर्ने ।

-गहिरो तथा लामो सास तान्ने ।

-केहीबेरभित्रै रोकेर हावा बाहिर निकाल्ने ।

शरीरमा उष्णता बढाउन प्राणायाम

-पहिले साधारण तरिकाले बिस्तारै पूरक तथा रेचक गर्ने, यसमा कुम्भकको आवश्यकता पर्दैन ।

-क्रमशः श्वासप्रश्वास क्रियालाई छिटो छिटो बढाउँदै जाने, यहाँसम्म कि सास पंखा जसरी चल्न थालोस् ।

चित्तको एकाग्रताका लागि प्राणायाम

शवासन-शिथिलासनमा सुत्ने, शरीरलाई एकदमै लचिलो बनाउने ।

-कानमा कपास लगाएर आँखा बन्द गर्ने, जसबाट बाहिरको आवाज नसुनियोस् । दृष्टि नाकको टुप्पोमा राख्ने ।

-साधारण तरिकाले गहिरो सास लिने तथा छोड्ने गर्ने, बीचमा केही समय कुम्भक पनि गर्ने ।

-पुनः आँखाका पुतलीलाई माथि चढाएर आँखीभौंको बीचमा अर्थात् आज्ञाचक्रमा दिव्य तेजको ध्यान गर्ने ।

थकाइ मेटाउन प्राणायाम

साधारण तरिकाले पूरक गर्ने र त्यस्तै एकैछिन कुम्भक गर्ने ।

-रेचक मुखबाट गर्ने, मुख खुम्च्याएर सिट्टी बजाए जसरी हावालाई बाहिर फ्याँकिदिने ।

-पूरा हावा एकपटकमा बाहिर ननिकाली बिस्तारै रोकिंदै तीनपटकमा बाहिर निकाल्ने ।

ध्यान दिनुपर्ने कुरा

प्राणायामका लागि बिहानको समय सबभन्दा उपयुक्त हुन्छ । कुनै स्वच्छ, खुल्ला, एकान्त र शान्त स्थानमा आसन लगाएर बस्नुपर्छ । आरामदायी ढंगले पलेंटी मारेर वा सादा पद्मासनमा छाती, घाँटी तथा मस्तिष्क एक लाइनमा हुनेगरी बस्नुपर्छ । प्राणायामको समयमा मेरुदण्ड सिधा राख्नु अनिवार्य हुन्छ ।

एक प्राणायामलाई जति पटक गर्नुछ त्यति गरिसकेपछि अर्को सुरु गर्नेबेलामा केहीबेर विश्राम लिनुपर्छ र थकान मेटाउने खालको नवौं प्राणायाम एक-दुई पटक गर्नुपर्छ । सबै प्राणायाम सधैं गर्नुपर्छ भन्ने छैन । आफ्नो रुचि र आवश्यकता अनुसारका तीन-चार प्राणायाम छान्नु पर्छ र तिनैलाई अभ्यास गरिरहनुपर्छ ।

  • २९ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech