भिटामिन ‘ई’को कमी हुँदा के हुन्छ ?

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०८०, शनिबार

शरीरमा आवश्यक पर्ने पौष्टिक तत्व भिटामिन विभिन्न खानेकुराबाट मिल्छ । साधारणतया भिटामिन ए, बी, सी र डी लाई लिएर हामी सचेत हुन्छौं तर शरीरलाई अतिआवश्यक पर्ने भिटामिन ईको विषयमा भने धेरैले चासो दिएको पाइँदैन ।

भिटामिन ईको कमी भएमा शरीरमा सामान्यदेखि गम्भीर खालका समस्या देखिन सक्ने पोषणविद् लीलबहादुर नेपाली बताउनुहुन्छ । ‘सबैभन्दा बढी शरीरलाई चाहिने भिटामिन सी र डी जस्तै, भिटामिन ई पनि शरीरको लागि अतिआवश्यक तत्व हो । तर यसबारे धेरैको ध्यान पुगेको देखिंदैन,’ उहाँको भनाइ छ ।

भिटामिन ईको स्रोत

पोषणविद् नेपाली भिटामिन ई हामीले खाने खानाबाटै प्राप्त गर्न सकिने बताउँछन् । भिटामिन ईको कमी वनस्पतिको तेल, विभिन्न फलफूल र तरकारीका बीउ, सुख्खा फलफूल र हरियो सागसब्जीबाट पूर्ति गर्न सकिन्छ । बदाम, ओखर, सूर्यमुखीको बीउ, ब्रोकाउली र पालक, मासु, अण्डा साथै अन्य धेरै खाद्य पदार्थमा भिटामिन ई प्रचुर मात्रामा पाइने नेपाली बताउनुहुन्छ । ‘धेरैले भिटामिन ई पनि पूरकको रूपमा लिन्छन्,’ उहाँको भनाइ छ ।

भिटामिन ईका फाइदा अनेक

पोषणविद् नेपालीका अनुसार भिटामिन ई एक घुलनशील तत्व हो । यसमा हुने ‘अल्फा कोटोफेरल’ले शरीरमा बिकार उत्पादन हुन दिंदैन ।‘भिटामिन ई एन्टिअक्सिडेन्ट गुणले भरिपूर्ण भएकाले हाम्रो कोषिकाहरुलाई फ्री रेडिकलबाट जोगाउन मद्दत गर्छ,’ नेपाली उहाँको भनाइ, ‘अर्कोतर्फ जब हामी धुवाँ वा विकिरणको सम्पर्कमा आउँछौं, शरीरले खाद्य पदार्थ ग्रहण गर्दा बन्ने अणुहरूमा फ्री रेडिकल हुन्छ ।’

भिटामिन ई छाला र कपाल सुन्दर बनाउने भिटामिन भनेर पनि चिनिन्छ । यसले त्वचाको रुखोपन, चाउरी, समयभन्दा अगावै बुढो हुने तथा सूर्यको हानिकारक ‘अल्ट्रा भोइलेट’ किरणबाट बचाउन सक्ने पोषणविद् उहाँको भनाइ छ ।  यसले कुनै अंग भाँचिएको ठाँउमा जोड्न पनि मद्दत पुर्‍याउँछ । भिटामिन ईकै मद्दतले कोषिकाहरुलाई हानि पुग्न पाउँदैन । शरीरमा भिटामिन ईको मात्रा बढी हुने व्यक्तिमा मुटुरोगका खतरा कम हुने र स्तन क्यान्सरको लागि उपयोगी हुने विभिन्न अध्ययनले देखाएको छ । शरीरको प्रतिरोधात्मक क्षमता बढाउन र मस्तिष्कको लागि पनि यसको भूमिका हुने नेपाली बताउनुहुन्छ ।

भिटामिन ई कमी भए के हुन्छ ?

बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस)ले दिएको जानकारीअनुसार भिटामिन ईको कमी हुँदा मांसपेशी कमजोर हुने, सुन्निने, बेचैनी हुने, हिंड्न गाह्रो हुने, सधैं बिरामी महसुस हुने जस्ता लक्षण महसुस हुन्छ । भिटामिन कमीको सबैभन्दा ठूलो लक्षण मांसपेशी कमजोरी नै पोषणविद् नेपाली पनि बताउनुहुन्छ। उहाँका अनुसार यसको कमीले स्नायु र मांसपेशीमा क्षति पुर्‍याउन सक्छ । भिटामिन ईको कमीले आँखाको रेटिना पातलो हुने र आँखाको भित्री तहमा समस्या हुन्छ ।

‘यसको कमीले स्नायु र मांसपेशीको समस्या देखिन्छ । हातखुट्टा सुन्निने, झमझमाउने हुनसक्छ,’ उहाँको भनाइ छ, ‘भिटामिन ईको कमीले प्रतिरक्षा कोषिकालाई रोक्न सक्छ । उमेर बढ्दै जाँदा प्रतिरक्षा प्रणालीमा हुने परिवर्तनका कारण वृद्धवृद्धामा भिटामिन ईको आवश्यकता बढी हुन्छ ।’ भिटामिन ईको कमी भएको देखिएको छ र खानाबाट पूर्ति हुन नसकेको अवस्थामा चिकित्सकको सुझावमा सप्लिमेन्ट पनि लिन सकिने उहाँको भनाइ छ ।

कुन उमेरमा कति ?

अमेरिकी नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच)ले विभिन्न उमेरमा भिटामिन ई दैनिक सेवन गर्नुपर्ने उल्लेख गरेको छ ।

नवजात शिशु : ४ मिलिग्राम

६ महिनादेखि १ वर्ष : ५ मिलिग्राम

१ देखि ३ वर्ष : ६ मिलिग्राम

४ देखि ७ वर्ष : ७ मिलिग्राम

८ देखि १३ वर्ष : ११ मिलिग्राम

१४ वर्षभन्दा माथिः १५ मिलिग्राम

स्तनपान गराउने महिला : १७ मिलिग्राम

भिटामिन ई क्याप्सुल लिंदा सावधानी

भिटामिन ई क्याप्सुलको साइड इफेक्ट विरलै देखिन्छ । यद्यपि पछिल्ला केही अध्ययनले यसले छालामा दाग आउने समस्या देखिएको पोषणविद् उहाँको भनाइ छ । त्यस्तै, भिटामिन ई सप्लिमेन्टले रगत पातलो गर्ने र अन्य औषधि लिनेका लागि हानिकारक हुनसक्छ । कुनै पनि सप्लिमेन्ट लिनुअघि चिकित्सकसँग परामर्श भने लिनैपर्छ ।

  • १६ बैशाख २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech