किन हुन्छ हातखुट्टा झमझमाउने समस्या ?

    • डा. सुनिलराम कोइराला/न्युरोलोजिस्ट

  • ३० फाल्गुन २०७९, मंगलवार

धेरैबेरसम्म एउटै पोजिसनमा बस्दा हातखुट्टा झमझमाएको प्रायःले अनुभव गरेका हुन्छन् । तर यस्तो हुनुको कारणबारे भने धेरैले जान्ने प्रयास गरेका हुँदैनन् । हातखुट्टा झमझमाउने समस्या धेरैजसो स्वास्थ्य अवस्थासँग सम्बन्धित हुन्छ । हातखुट्टा झमझमाउनुका विभिन्न कारण हुन्छन् ।

भिटामिनको कमी हुँदा

शरीरमा भिटामिनको कमीका कारण पनि हातखुट्टा झमझमाउन सक्छ । स्वस्थ शरीरका लागि पर्याप्त पोषक तत्वको जरुरी हुन्छ । यसको कमीले शरीरका नसाहरु कमजोर हुने भएकाले झमझमाउने समस्या हुन्छ ।

एउटै स्थितिमा बस्दा

लामो समयसम्म एउटै पोजिसनमा बस्दा पनि हातखुट्टा झमझमाउन सक्छ । कहिलेकाही झमझमाउनु सामान्य भएपनि दिनमा चार-पटक नै यस्तो हुन्छ भने चाँडो परीक्षण गराइहाल्नुपर्छ ।

शरीरमा रक्तसञ्चार प्रभावित नहुँदा

शरीरमा रक्तसञ्चार सामान्य नहुँदा हातखुट्टा झमझमाउन सक्छ । शरीरमा रक्तसञ्चार नहुनु वा अवरोध भएमा यसले स्नायुमा असर पार्छ, जसकारण शरीरका धेरै भागमा अक्सिजन पुग्दैन ।

यीबाहेक हातखुट्टा झमझमाउने कारण विभिन्न रोगको संकेत हुन सक्छ । थाइराइड, हातखुट्टामा झुकेर काम गर्दा नसा च्यापिनु, मिर्गौला, मधुमेहका बिरामीमा पनि लक्षणको रुपमा हातखुट्टा झमझमाउनु एक संकेत हो ।

मिर्गौलाका समस्या भएका व्यक्तिमा प्रत्यक्ष असर स्नायुमा पर्छ, जसकारण स्नायु कमजोर हुन्छ । मिर्गौला फेल हुँदा पनि शरीरमा केही तरल पदार्थ जम्मा हुन थाल्छ, जसले स्नायुमा नराम्रो प्रभाव पार्छ र हातखुट्टा झमझमाउने हुन थाल्छ ।

त्यस्तै, महुमेहका बिरामीमा झमझम हुनु एक  लक्षण हुन सक्छ । मधुमेह रोगीको शरीरमा रगतमा चिनी र इन्सुलिन बढ्न थाल्छ, जसले स्नायुमा असर गर्छ । मधुमेह अनियन्त्रित हुँदा  बारम्बार यस्तो महसुस हुन्छ । यसैगरी बाथरोगका बिरामी, डिप्रेसन वा एन्जाइटीको समस्या भएकालाई पनि हातखुट्टा झमझझाउने समस्या देखा पर्न सक्छ ।

कुन बेला अस्पताल जाने ?

हातखुट्टा झमझम एक वा दुईपटक हुनु सामान्य हो । तर बारम्बार भइरहेको छ, शरीर कमजोर भएको महसुस हुँदैछ, हातखुट्टा सुन्निने र दैनिक जीवनमै प्रभाव पारेको खण्डमा तुरुन्त परीक्षण गराउनुपर्छ । किनकि यो विभिन्न रोगको लक्षण हुन सक्छ ।

समाधान के ?

हातखुट्टा झमझमाउने समस्याको समाधान भनेको रोग पत्ता लगाएर उपचार गर्नु नै हो । स्नायुमा अक्सिजन पुर्‍याउन  रक्तसञ्चार हुनु आवश्यक छ । त्यसका लागि शरीरको कुनै पनि अंगमा एकतर्फी भार हुन दिनु हुँदैन । वरपर हिंड्ने प्रयास गर्ने, हात झमझमाउँदा औंलालाई चलाइरहने, आफ्नो खुट्टा र हातको मसाज गर्ने गर्दा मांसपेशीलाई आराम मिल्छ र रक्तप्रवाह सुधार गर्न सकिन्छ ।

योग र ध्यानजस्ता अभ्यासले पनि रक्तसञ्चारमा सुधार गर्छ । स्नायुहरू स्वस्थ रहन मद्दत गर्छ । पोषणको कमीले झमझमाउने हुँदा दैनिक आहारमा विभिन्न प्रकारका स्वस्थकर खाना समावेश गर्नुपर्छ । यसले शरीरमा भिटामिन र खनिजको मात्रा कायम राख्न मद्दत गर्छ ।

  • ३० फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech