बर्दिया अस्पताल गुलरियामा नसर्ने रोगको निःशुल्क उपचार सुरु

    • स्वास्थ्य पेज

  • १८ माघ २०७९, बुधबार

नेपालगन्जः सेवा प्रवाह र सुशासनमा लुम्विनी प्रदेशकै उत्कृष्ट अस्पतालका रुपमा रहेको बर्दिया अस्पताल गुलरियामा नसर्ने रोगको निःशुल्क उपचार सेवा सुरु गरिएको छ ।

पेन–प्लस परियोजना मार्फत नसर्ने रोगको निःशुल्क उपचार सेवा सुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले जानकारी दिनुभयो ।

पछिल्लो समय नेपालमा नसर्ने रोगका कारण अकालमा मृत्यु हुने गरेको तथ्यांकका आधारमा नसर्ने रोगलाई पनि सरकारी तवरबाटै उच्च प्राथमिकतामा राखेर बर्दिया अस्पतालमा नसर्ने रोगको उपचार सेवा सुरु भएको हो ।

नसर्ने रोगको निःशुल्क उपचार सेवा सुरु भएसँगै सुगर, प्रेसर, मुटु, क्यान्सर तथा सिकलसेलका विरामीले राहत पाउने डा. पाण्डेको भनाइ छ । ‘नसर्ने रोगको पहिचाननै चुनौतिपूर्ण थियो डा. पाण्डेले भन्नुभयो–‘पेन–प्लस परियोजना सुरु भएपछि रोगको पहिचान गरेर सम्भव भएका विरामीलाई यही उपचार गरिने छ भने जटिल खालका विरामीलाई उचित परामर्शसहित अन्यत्र पठाइने छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको साझेदारीमा संचालन गरिएको परियोजना अन्तर्गत पेन–प्लस क्लिनिकको मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले उद्घाटन गर्नुभएको हो ।

सचिव पोख्रेलले अस्पतालमा नसर्ने रोगको उपचार सेवा सुरु भएपछि लक्षित विरामीहरु जिल्ला बाहिर जानुपर्ने बाध्यता र दुख टरेको बताउनुभयो । सरकारले प्रत्येक नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउने गरी काम गरिरहेको पनि उहाँको भनाइ छ ।

यसैगरी काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले उपचार सेवालाई प्रभावकारी गराउन अस्पतालका जनशक्तिलाई तालिम प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले रोगको पहिचानकै लागि ठाउँठाउँमा भौतारिनु पर्ने र विरामीलाई थप सास्ती नहोस् भन्ने उद्देश्य पनि पेन–प्लस परियोजनाको रहेको जानकारी दिनुभयो ।

उहाँले अस्पतालमा आएका विरामीको उपचार प्रक्रिया, उपचारबाट लाभान्वित विरामीको संख्याको तथ्यांक राख्न सकियो भने परियोजनाको उपयोगिता झल्किने बताउनुभयो ।

कार्यक्रममा संघीय सांसद तथा पूर्वमन्त्री संजय गौतम, प्रदेश सांसद मालती सोडारी, राजकुमार चौधरी, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाई, सिकलसेल विज्ञ डा. राजन पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

  • १८ माघ २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech