गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठान बनाइन्छ: प्रधानमन्त्री दाहाल

    • स्वास्थ्य पेज

  • १५ माघ २०७९, आईतवार

नेपालगन्ज: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताउनु भएको छ । त्यसको प्रक्रियाबारे स्वास्थ्य मन्त्रालयमा बुझ्न उहाँले केन्द्रका पदाधिकारीलाई सुझाव दिनुभयो ।

आइतबार बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘तपाईंहरू पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् यसको प्रक्रिया बुझ्नुस् । सरकार यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न प्रतिवद्ध छ ।’

हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग केन्द्रका पदाधिकारीले राखेका थिए । ती मागलाई सरकारले पनि गम्भीरतापूर्वक लिएको प्रधानमन्त्री प्रचण्डले बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले गंगालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताउँदै भन्नुभयो, ‘जनताले यसलाई मुटुरोगको उपचार र आफ्नो भरोसाको केन्द्रका रूपमा बुझेका छन्। यसका लागि तपाईंहरू धन्यवादको पात्र हुनुहुन्छ । यसले आम रूपमा जनताको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई प्रमाणित गर्दछ । यो केन्द्र केवल स्वास्थ्य केन्द्र मात्रै होइन, यसको नामले नै केन्द्रको औचित्य प्रमाणित गर्दछ ।’

तानाशाही विरोधी, निरंकुशता विरोधी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने व्यक्तित्व गंगालाल श्रेष्ठको नामबाट स्थापित हुनुको नाताले हृदय केन्द्रको भूमिका मुटुरोगका साथै लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायसँग पनि जोडिएको प्रचण्डले बताउनु भयो । ‘विपन्न वर्गलाई सहज स्वास्थ्य सेवा प्रवाह गरेर यहाँहरूले लोकतन्त्र र सामाजिक न्यायप्रतिको भूमिका पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

आफ्नो दोस्रो प्रधानमन्त्रीकालमा स्वास्थ्य स्वास्थ्य वीमा लागू गरिएको र विभिन्न प्राणघातक रोगको उपचारमा जनतालाई राज्यले सहयोग गर्ने प्रबन्ध गरिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले अब तेस्रो कार्यकालमा सातै प्रदेशमा मुटु रोग युनिट सहितका प्रदेश अस्पतालहरू निर्माण गरिने बताउनु भयो ।

  • १५ माघ २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech