बालरोग विशेषज्ञ डा निरज आचार्यलाई प्रश्नः दादुरा के हो र कसरी सर्छ ?

    • प्रियास्मृति ढकाल

  • १९ पुष २०७९, मंगलवार

नेपाल सरकारले सन् २०२३ मा दादुरा उन्मुलनको लक्ष्य लिएको छ । नेपालमा खोपका प्रभावकारीताका कारण लगभग निर्मुल भैसकेको दादुरा नेपालगन्जमा एकै परिवारका ४ जनामा पुष्टि भएलगत्तै फेरि चर्चाको बिषय बनेको छ । डब्लुएचओको गाइडलाइन अनुसार, एक हप्ताको बीचमा एउटै टोलका पाँच जना वा त्यो भन्दा माथि बालबालिकामा दादुरा देखिनु महामारी हो । तर पाँच जनाको नमुना जाँच गर्दा चार जनामा देखिएकाले महामारीको संकेत देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । दादुराको खोप नेपाल सरकारबाट निशुल्क प्रदान हुने र यो खोप ९ महिना र १५ महिना गरि २ डोज लगाइन्छ । दुइ डोज खोप लगाएमा यसको प्रभावकारिता सत प्रतिशत हुने देखिएकाले र मृत्युदर रोकिने भएकाले खोप कार्यक्रमलाई सशक्त रुपमा संचालन गरिदै आएको छ ।  के हो दादुरा ? कसरी सर्छ ? नेपालगन्जमा देखिएको दादुराको संकेत के हो ? यिनै बिषयमा स्वास्थ्य पेजका लागि प्रियास्मृति ढकालले नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा बालरोग विशेषज्ञ डा निरज आचार्यसँग कुराकानी गर्नुभएको छ ।

दादुरा के हो र यो कसरी सर्छ ?
दादुरा स्वासप्रस्वासको माध्यमबाट सर्ने र सजिलै फैलिने खालको रोग होे । मिजल्स भाइरसका कारण हुने दादुरा छिट्टै सर्ने संक्रामक रोग हो । दादुरा रोग संक्रमित व्यक्तिको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा, र खोक्दा विषाणु हावामा फैलिएर सर्छ । दादुरा भएका व्यक्तिहरुले दादुराका लक्षण (ज्वरो, डाबर ) देखिनु २ दिन अघि र ५ दिन पछि पनि अरुलाई रोग सार्न सक्छन् ।

कस्ता व्यक्तिहरुलाई दादुरा सर्ने जोखिम बढी हुन्छ ?
दादुराको खोप नलगाएका व्यक्तिहरु, रोग प्रतिरोधात्मक शक्ति काम भएका जस्तै अबुर्द रोगका बिरामी, एड्सका बिरामी र कुपोषित बालबालिकामा दादुरा रोगको बढी जोखिममा हुन्छन् ।

दादुराका लक्षणहरु के के हुन ?
दादुरा रोगको पहिलो लक्षण उच्च ज्वरो आउनु हो । ज्वरो आएको ३ देखि ४ दिनमा अनुहारमा र कान पछाडि नचिलाउने खालको रातो दागहरु (डाबर) देखिन्छन् । यस्ता दागहरु मिसिएर अनुहारको पुरै भागमा फैलिने र डाबर आएकै समयमा उच्च ज्वरो आउने गर्दछ । यससँगै केही दिनपछि मुख तथा माथिल्लो गर्दनको भागसँगै शरीरमा फैलिदै जान्छ ।

दादुराले ल्याउने जटिलता के के हुन ?
सुरुमा यो भाइरस श्वासप्रश्वास नलीमा गएर बस्छ । विस्तारै विस्तारै यो भाइरस शरीरका अन्य भागमा पनि फैलिँदै जान सक्छ । दादुराले निकै सताउँदै गए फोक्सो, कानको बीच भाग, मस्तिष्कमा समेत समस्या हुन थाल्छ । उपचार नभए अन्ततः रोगीको मृत्युसम्म हुन पनि सक्छ ।

दादुराको उपचार के हो ?
दादुराको कुनै पनि उपचार नभएका कारणले खोप लगाई रोगबाट बच्नुनै यसको उचित ओखति हो । सामान्य खालका बिरामीहरुलाई लक्षण अनुसारको उपचार दिन सकिन्छ । जस्तै ज्वरो आएकालाई सिटामोल दिने, खोकी लागेकालाई खोकी नलाग्ने औषधि दिने त्यही नै हो । यस्तै बालबालिकालाई भिटामिन ए दिने पनि गरिन्छ ।

दादुरा रोकथाम गर्न के के उपाय गर्न सकिन्छ ?
नेपाल सरकारबाट निशुल्क प्रदान हुने दादुराको खोप ९ महिना र १५ महिना उमेरका बालबालिकालाई २ डोज लगाए यसबाट हुन सक्ने जोखिम निर्मुल पार्न सकिन्छ । यएसको खोपले जीवनभरी रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्छ । यस्तै रोग नै पुष्टि भएका बालबालिकालाई झोलिलो खाने कुरा खुवाउनु पर्छ ।

नेपालगन्जमा एकै परिवारका ४ जनामा संक्रमण देखियो । यो महामारीकै संकेत हो ?

यसलाई महामारी नै त अहिले नभनि हालौं । तर जनस्वास्थ्य समस्या चाही हो । दादुरा तीब्र गतिमा फैलिने भएकाले जोखिम हो । एउटै संक्रमित बालबालिकाले १७–१८ जनालाई रोग सार्न सक्छ । त्यसैले यसलाई जनस्वास्थ्य समस्याकै रुपमा बुझौं । दादुराका लक्षण (ज्वरो, डाबर) देखिनु २ दिन अघि र ५ दिन पछि पनि अरु लाई रोग सार्न सक्ने भएकाले सो समयमा बिरामी छुट्टै बस्ने र अन्य बालबालिकासँग घुलमिल नहुनु नै उचित हुन्छ ।

 

  • १९ पुष २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech