कस्तो अवस्थामा गर्भनिरोधक चक्की खानै हुन्न ?

    • स्वास्थ्य पेज

  • ३ पुष २०७९, आईतवार

सन्तानको योजना नबनाएका दम्पतीलाई खुलेर शारीरिक सम्बन्ध बनाउन कठिन हुन्छ । खासगरी अनिच्छित गर्भ रहने भयले उनीहरुको यौन जीवन खल्लो बनाइदिन्छ । यद्यपि अहिले त्यस्ता थुप्रै सुविधा छन्, जसले अनिच्छित गर्भ रहनबाट बचाउँछ । यसमा पनि धेरै प्रचलित छ, गर्भनिरोधक चक्की ।

सुनौलो गुलाब, निलोकन ह्वाइट जस्ता गर्भनिरोधक चक्की एउटा प्रभावकारी विधि हो अनिच्छित गर्भ रोक्ने ।

यो नवविवाहित जोडी जसले तत्काल सन्तानको योजना बनाएका छैनन् उनीहरूको लागि सबैभन्दा प्रभावकारी गर्भनिरोधक उपाय हो । किनकि यो चक्की सेवन गर्न छोड्ने बित्तिकै गर्भ रहन्छ । यस्तो चक्की सही समयमा नियमित सेवन गर्दा यसले शतप्रतिशत गर्भ रोक्छ । यो ९९ प्रतिशत प्रभावकारी हुन्छ ।

महिनावारी भएको पहिलो दिनबाट नै यो चक्की सुरु गर्‍यो भने काम गर्न थालिहाल्छ । तर महिनावारी भएको पाँचौं दिनबाट सुरु गरेमा भने गर्भ रहने सम्भावना हुन्छ । यस्तो अवस्थामा सात दिन कण्डमको प्रयोग गर्नु उपयुक्त हुन्छ । लगातार २१ दिन यो चक्कीको सेवन गर्नुपर्छ  र सात दिन आइरन चक्कीको ।

कुन अवस्थामा यो चक्की खान हुन्न ?

टाउको दुख्ने, छातीमा मासु पलाएको, मोटोपन, उच्च रक्तचाप, मधुमेह, हाइपो कोलेस्टेरोल, मुटुको समस्या र  ३५ वर्षभन्दा माथिका महिलालाई यो औषधि सेवन नगर्ने सल्लाह दिइन्छ । क्यान्सरको जोखिम भएकाले भने प्याप जाँच गरेर मात्र यस्तो चक्कीको सेवन गर्नुपर्छ । स्वास्थ्य सामान्य अवस्थामा भएका महिलाले पनि यसको सेवन अघि चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ ।

उच्च रक्तचाप, मधुमेह र मुटुरोगको औषधि खाइरहेकाहरूले यो चक्की खान मिल्दैन । कुनै कुनै एन्टिबायोटिकको सेवन गरिरहेको बेलामा पनि यो चक्की खान मिल्दैन । आफूखुसी यो औषधि सेवन गर्ने अनि केही साइड इफेक्ट देखियो भने सेवन गर्न छाडेर गर्भ रह्यो भन्ने समस्या लिएर धेरै अस्पताल आउने गरेका छन् ।

चक्कीले कसरी काम गर्छ ?

यो हर्मोनल चक्की हो । यसले पाठेघरको मुखमा भएको पातलो पानीलाई बाक्लो बनाएर वीर्यलाई भित्र छिर्न दिंदैन र गर्भ रहनबाट रोक्छ । यो चक्कीले अण्डा निष्कासनलाई पनि कम गर्छ, जसले गर्दा गर्भ रहँदैन ।

यो चक्की सधैं एउटै समयमा खानु उपयुक्त हुन्छ तर बिर्सनु भएन । खानापछि बिहान वा बेलुकी जुन समयमा खाए पनि हुन्छ ।

साइड इफेक्ट

यो हर्मोनल चक्की भएकोले पाठेघरको लेयरमा काम गर्ने हो । महिनावारीको बीचमा पनि रगत जाने, मोटोपन, टाउको दुख्ने, बान्ता हुने, ल्युकोरिया लगायत साइड इफेक्ट हुनसक्छ ।

कुनै दिन खान छुटे के गर्ने ?

सेवन गर्नुपर्ने यो चक्की सकेसम्म छुटाउनु हुँदैन । महिनावारीको पहिलो दिनबाट औषधि सेवन गरेको छ र पहिलो हप्तामा कुनै दिन औषधि छुट्यो भने अर्को दिन दुईवटा चक्की सेवन गर्दा हुन्छ । पहिलो हप्तामा नै दुईवटा चक्की छुट्यो भने दुई दिन दुई-दुईवटा चक्की सेवन गर्नुपर्छ ।

तेस्रो हप्तामा दुई दिनभन्दा बढी औषधि छुट्यो भने औषधिसँगै अन्य गर्भनिरोधक उपाय पनि अपनाउनुपर्छ । लगातार सात चक्की छुट्यो भने औषधि सेवन नै बन्द गरेर फेरि अन्य उपाय अपनाउनुपर्छ र अर्को पटक महिनावारीपछि पुनः खान थाल्नुपर्छ ।

महिनावारी गडबडीमा पनि काम गर्छ

विवाहित महिलामा गर्भनिरोधकको रूपमा मात्र होइन, अविवाहितलाई महिनावारीको समयमा धेरै रगत बग्ने, धेरै पेट दुख्ने, महिनावारी गडबडी र पीओसीडीलगायत समस्यामा पनि यो चक्की सेवन गर्न दिइन्छ । तर यस विषयमा धेरैलाई जानकारी नभएको हुनसक्छ ।

यो गर्भ निरोधक चक्की र आकस्मिक गर्भ निरोधक चक्कीमा पनि धेरै जना झुक्किएको पाइएको छ । कति जना हामीले पिल्सको प्रयोग गरिरहेका छौं, तै पनि गर्भ रह्यो भन्दै आउनुहुन्छ । आकस्मिक गर्भनिरोधक चक्की र गर्भनिरोधक चक्कीमा फरक छ ।

  • ३ पुष २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech