मधुमेहमा मिठाई पटक्कै खान हुन्न ? यदि खानैपर्ने भए त्यसको कुनै मात्रा छ ?

    • स्वास्थ्य पेज

  • ६ कार्तिक २०७९, आईतवार

तिहारको खास परिकार हो, मिठाई । सेलरोटी, फिनी, झिनिया, अनरसा लगायत लड्डु, रसबरी, बर्फी जस्ता मिठाई यसबेला घरघरमा हुन्छ । हेर्दै मुख रसाउने यी मिठाई ढुक्कले खान भने सकिंदैन । चिनीको मात्रा बढी हुने भएकाले भरपेट मिठाई खाँदा केही स्वास्थ्य समस्या आउँछ कि भन्ने डर हुन्छ । यस्तो डर मधुमेहको समस्या भएकालाई अरु बढी हुन्छ ।के त्यसो भए मधुमेहमा मिठाई पटक्कै खान हुन्न ? यदि खानैपर्ने भए त्यसको कुनै मात्रा छ ?

मधुमेहमा मिठाई

सामान्य हिसाबले भन्दा शरीरमा चिनीको मात्रा बढी हुनुलाई मधुमेह भनिन्छ । यस्तो अवस्थामा गुलियो वा चिनीजन्य मिठाई खाँदा शरीरमा चिनीको मात्रा बढ्ने नै भयो । एक चम्चा चिनी होस् वा चार पिस मिठाई, यसमा उच्च क्यालोरी हुन्छ । यसले मधुमेह भएकालाई हानि गर्छ । त्यसैले सम्भव भएसम्म मिठाई खानु उचित हुँदैन ।

मिठाई मुखमा हाल्नै हुन्न ?

मधुमेह भएकाले मिठाई मुखमा हाल्नै हुन्न भन्ने कुरा पनि आउँछ । पटक्कै खानै नहुने, मुखमा हाल्नै नहुने भन्ने चाहिं होइन । कहिलेकाहीं मुड चल्छ वा साथीभाइले खुवाउँछन्, त्यसबेला खानैपर्ने हुन्छ । यसो मुख मिठ्याउनका लागि थोरै खाइदिए हुन्छ । मिठाई खाएको बेला सम्भव भएसम्म कार्बोहाइड्रेट कम गर्नु र शारीरिक गतिविधि वा व्यायाम गर्नु उत्तम हुन्छ ।

मनलाग्दो ढंगले मिठाई खान मिल्ला ?

कतिपय मिठाईका लोभी हुन्छन् । कोही मासु भनेपछि हुरुक्कै हुन्छन्, कोही दहीदूध भनेपछि हुरुक्कै । त्यस्तै कतिपय मान्छे मिठाई देख्नासाथ आफूलाई रोक्न सक्दैनन् । सामान्य अवस्थामा त मिठाई खाए खासै गाह्रो नहोला । तर मधुमेह छ भने मनलाग्दी ढंगले मिठाई खानै हुन्न । यसरी मिठाई खाँदा शरीरमा चिनीको मात्रा ह्वात्तै बढ्न सक्छ र बेहोसै पनि हुनसक्छ । कतिपयलाई आईसीयूमा समेत भर्ना गर्नुपर्ने अवस्था आउँछ । यसले दीर्घकालमा आँखा, नसा, मिर्गौलामा समस्या ल्याउन सक्छ ।

चिनीरहित मिठाई

मधुमेह भएको स्थितिमा सुगर फ्री मिठाई खान सकिन्छ । खासगरी चिल्लो र चिनी कम भएका मिठाई खाए हुन्छ । यस्तो मिठाई बजारमा पनि उपलब्ध हुन्छ । यद्यपि सुगर फ्री भन्दैमा जथाभावी खान चाहिं भएन ।

त्यसो त कतिले सुगर फ्री भनिएका कुरा खान हुन्न पनि भन्ने गर्छन् । यो अपवाह मात्र हो । सुगर फ्रीमा क्यालोरीको मात्रा कम हुन्छ ।

सेलरोटी र खीरको असर होला ?

यो पनि धेरैको मनमा आउने प्रश्न हो । तिहारमा सेलरोटी त पाक्ने नै भयो । सेलरोटी खाने चलन पनि छ । यद्यपि यी पनि चिनीजन्य परिकार नै भएकाले मधुमेह भएको स्थितिमा त्यति राम्रो हुँदैन । थोरै चिनी राखेर बनाइएको सेलरोटी नियन्त्रित मात्रामा खाए खासै हानि हुँदैन ।

मिठाई खानै परे सजगता

तिहारजस्तो चाडपर्वमा मुख मिठ्याउन थोरै मिठाई खान सकिन्छ । किनभने कहिलेकाहीं खाँदा उति धेरै हानि गर्दैन । यससँगै अन्य कुरामा भने सन्तुलन मिलाउनुपर्छ । जस्तो हल्का खाना खाने, मद्यपान–धुमपान नगर्ने, व्यायाम गर्ने, पर्याप्त निदाउने । यसरी सही जीवनशैली अपनाएको अवस्थामा सबै कुरा सन्तुलित हुन्छ ।

  • ६ कार्तिक २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech