दाँतको फोहोर वा पहेंलोपन हटाउने प्रभावकारी तरिका के हो ?

    • स्वास्थ्य पेज

  • २ कार्तिक २०७९, बुधबार

धेरैको समस्या हो, दाँतको फोहोर वा पहेंलोपन । जब–जब फोहोर जम्न थाल्छ, दाँतको चमक हराउँछ । दाँत पहेंलो र दुर्गन्धित हुन्छ । यस्तो दाँत देखाउँदा असहज त लाग्छ नै सास गन्हाउँछ भन्ने कुराले पनि ग्लानि भाव पैदा गर्छ ।

दाँतलाई सफा, चम्किलो बनाउने केही विधि तथा प्रविधि प्रचलनमा नभएका होइनन् । तर त्यसप्रति मान्छे ढुक्क छैनन् । कृत्रिम तरिकाले दाँत सफा गर्दा, चम्किलो बनाउँदा दाँतको प्राकृतिक इनामेल नष्ट हुने त होइन ? यसै सेरोफेरोमा दन्त चिकित्सक डा. विप्लव अधिकारीसँग मनिषा थापाले गरेको कुराकानीको सम्पादित अंश :

के कारणले दाँतमा फोहोर जम्ने वा पहेंलो हुने समस्या हुन्छ ?

खाना खाँदा मुख र दाँतको प्रमुख भूमिका हुन्छ । खाना खाइसकेपछि मुख र दाँतमा खानेकुराको अंश टाँसिने, अल्झिने हुन्छ । सही ढंगले ब्रस गरिएमा यस्तो खानेकुरा पखालिन्छ र दाँत सफा हुन्छ ।

तर दाँतमा अल्झिने र दाँतको कुनाकाप्चामा रहने खानेकुरा पखालिएन भने क्याल्कुलसमा परिणत हुन्छ । क्याल्कुलस सुरुसुरुमा पहेंलो रङको देखिन्छ । पछि हरियो हुँदै जान्छ ।

जसरी शौचालयको कमोड सफा नगर्दा पहेंलो हुँदै जान्छ, ठीक उसैगरी दाँतमा पनि फोहोर जमेपछि पहेंलो हुन्छ । यदि खाना खाइसकेपछि राम्ररी कुल्ला गर्ने, सही ढंगले ब्रस गर्ने हो भने यस्तो समस्या नआउन सक्छ ।

प्रायःले नियमित नै ब्रस गर्छन्, तर यस्तो समस्या देखिन्छ नि ?

नियमित ब्रस गर्दा पनि कतिपयमा यस्तो समस्या देखिन्छ । किनभने हाम्रो मुख र दाँतको सतह एकनासको हुँदैन । कतै खाल्डाखुल्डी, कतै खप्टिएको हुन्छ, कतै उछिट्टिएको हुन्छ । गिजाकै भित्री भागमा पनि फोहोर जम्ने हुन्छ । यस्तो अवस्थामा नियमित ब्रस गरे पनि दाँतमा फोहोर जम्न सक्छ ।

दाँतको फोहोर वा पहेंलोपन हटाउने प्रभावकारी तरिका के हो ?

यसको सबैभन्दा प्रभावकारी तरिका भनेकै राम्ररी अर्थात् सही ढंगले ब्रस गर्नु हो । दाँत माझ्दा अगाडि, पछाडि घोटेर मात्र गरिन्छ, जुन सही होइन । ब्रस गर्ने पनि खास तरिका हुन्छ । तलमाथि गर्दै नरम ब्रसले मोडिफाइड वास टेक्निक अपनाएर ब्रस गर्दा दाँत धेरै हदसम्म सफा हुन्छ ।

यदि दाँत गन्हाउने वा गिजा सुन्निने समस्या भएमा नुन राखेर मनतातो पानीले नियमित कुल्ला गर्नुपर्छ । दिनमा दुई पटक ब्रस गर्नु अनिवार्य हो । फ्लोराइडयुक्त मन्जन राखेर नरम ब्रसले बिहानको र साँझको खानापछि ब्रस गर्नुपर्छ । साँझ ब्रस गरेपछि सकेसम्म खानेकुरा खानु हुँदैन ।

दाँतलाई अझ राम्ररी हेरचाह गर्ने हो भने स्केलिङ गराउन सकिन्छ । आवश्यकता अनुसार ६ महिनामा एक पटक स्केलिङ गराउन सकिन्छ । यो भनेको दाँतमा जमेको फोहोरलाई निकाल्ने विधि हो ।

क्लिनिक वा अस्पतालमा गएर स्केलिङ गराउँदा दाँतको प्राकृतिक इनामेल नष्ट हुन्छ भनिन्छ नि ?

दाँत सफा गर्नका लागि स्केलिङ एउटा संवेदनशील विधि हो । यदि गलत तरिकाले यो विधि अपनाए त्यसले दाँतलाई अरु बढी खराब बनाइदिन सक्छ । स्केलिङ जथाभावी र जस्तोसुकै व्यक्तिबाट गराउनु हुँदैन । अनुभवी र सम्बन्धित विषयमा दक्षता हासिल गरेका चिकित्सकबाट मात्र स्केलिङ गराउनुपर्छ ।

दाँतको इनामेल भनेको सिसा जस्तो चिज हो । स्केलिङ गरिरहँदा त्यसको कम्पनले दाँतको प्राकृतिक इनामेल नष्ट हुनसक्छ । साथै यसले गिजामा पनि दख्खल पार्ने, दाँत खिइने, सिरिङ्ग हुने समस्या आउन सक्छ । स्केलिङ राम्ररी र सही ढंगले भएन भने इनामेल नष्ट हुन्छ र दाँत टुक्रिन सक्छ ।

प्रायः एकपटक स्केलिङ गराइसकेपछि दाँत फाटिन्छ भन्ने गुनासो सुनिन्छ नि ?

पहिले नै हड्डी कमजोर भएको, दाँत हल्लिएको र बढी फोहोर छ भने सफा गर्दा दुई दाँतबीचमा खाली भाग देखिन्छ । यदि दाँत कमजोर छ, हल्लिएको छ भने एकैपटक सफा नगरी सेक्सन छुटाएर क्रमशः सफा गर्नुपर्ने हुन्छ, जुन दक्ष चिकित्सकले मात्र गर्न सक्छन् । उनीहरुका लागि एन्टिबायोटिक औषधि समेत प्रयोग गर्नुपर्छ ।

स्केलिङ गराएपछि के कुरामा ध्यान दिने ?

स्केलिङ गराउने बित्तिकै आधा घण्टासम्म केही खान हुँदैन । धेरै तातो वा चिसो खानेकुरा २४ घण्टापछि मात्र खानुपर्छ । कडा चिज खानुहुँदैन । दाँतमा अल्झिने खानेकुरा पनि नखाएकै उचित हो ।

दाँत कति अवधिमा सफा गर्नु उचित हुन्छ ?

दाँत ६ महिनादेखि एक वर्षको अवधिमा सफा गर्ने गर्नुपर्छ । सास गन्हाउने समस्या छ र दाँतमा बढी नै फोहोर जम्मा हुन्छ भने त्यो भन्दा छिटो पनि सफा गर्नुपर्ने हुन्छ ।

यसका लागि कति खर्च लाग्छ ?

दाँत स्केलिङको शुल्क ठाउँ र दाँतको अवस्था हेरेर लिने गरिन्छ । सामान्यतः एक हजार रुपैयाँदेखि पाँच हजारसम्म वा त्यो भन्दा पनि बढी शुल्क लाग्न सक्छ ।

दाँतलाई कसरी सफा, चम्किलो वा सेतो बनाउन सकिन्छ ?

नियमित रुपमा, सही ढंगले ब्रस गरेर, मुख कुल्ला गरेर दाँत सफा राख्न सकिन्छ । दाँत चम्काउने वा सेतो बनाउने भन्ने कुरा चाहिं त्यति वैज्ञानिक कुरा होइन । हरेकको दाँतको आफ्नै प्राकृतिक रंग हुन्छ । सबैको सेतो वा चम्किलो हुन्छ भन्ने हुन्न । दाँत सफा राख्नु पहिलो सर्त हो । चम्किलो र सेतो बनाउने चक्करमा धेरै घोट्दा वा अरु उपाय खोज्दा दाँतको प्राकृतिक इनामेल नष्ट हुनसक्छ र समस्या निम्तिन सक्छ ।

  • २ कार्तिक २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech