दुब्लो-पातलो भएर जो हैरान छन्, तौल बढाउने कसरी ?

    • स्वास्थ्य पेज

  • ३० आश्विन २०७९, आईतवार

मान्छेहरु तनावमा छन्, मोटोपन बढ्यो भनेर । त्यसैले मोटोपन घटाउने अनेक सूत्रको खोजी हुने गर्छ । तर पुट्ट पेट वा मोटोपनका कारण जति मान्छेहरु चिन्तित छन्, त्यो भन्दा कम छैन दुब्लो–पातलोको जमात पनि ।

साथीभाइले ठट्टामै कटाक्ष गर्छन्, ‘हावा चलेको बेला गोजीमा ढुंगा राख्नु है ।’ आमाबुवा भन्छन्, ‘जति खाए पनि नलाग्ने ज्यान । खानेबेला घरबाहिर निकालेको जस्तो ।’

दुब्लो–पातलो ज्यान भएपछि लुगाफाटो पनि नमिल्ने । शरीर सुहाउँदिलो नदेखिने । तर दुब्लो पातलो हुनुको दुःख त्यति मात्र छैन । चिकित्सक पनि अस्वभाविक दुब्लोपनलाई राम्रो मान्दैनन् । किनभने उचाइ अनुरुप मान्छेको आदर्श तौल तय गरिएको हुन्छ, जसको सही अनुपात नै स्वस्थ शरीरको सूचक हो । तर अस्वभाविक दुब्लोपन मान्छेको स्वास्थमा कुनै गडबडी पो छ कि भनेर संशय जन्माइदिन्छ ।

खानपानको मात्रा बढाउनेदेखि औषधिको सेवन गर्ने समेत छन्, शरीरको तौल बढाउनका लागि । तर अपेक्षाकृत उनीहरुको तौल बढ्दैन । शरीर ज्यूँका त्यूँ हुन्छ । आखिर के कारणले यस्तो हुन्छ ? यसको समाधान के हो ?

दुब्लो पातलो व्यक्तिले शरीरको तौल बढाउन सन्तुलित दिनचर्या, खानपान र व्यायाममा ध्यान दिनुपर्छ । र, सबैभन्दा महत्वपूर्ण डाइट प्लान बनाउनुपर्छ ।

यसका लागि स्वस्थ क्यालोरीयुक्त खाना दिनको पाँच पटक खानुपर्छ । सकेसम्म जंकफुड, फास्टफुड, कोल्ड ड्रिंक नखाने । यस्तो खाना खाएपछि पेट त भरिन्छ, तर शरीरलाई जरुरी पोषण प्राप्त हुँदैन । यी खानेकुरासँगै दैनिक पाँच लिटर पानी पिउनु उचित हुन्छ ।

बिहानको नास्ता, खाना, फेरि नास्ता, साँझको खाना आदिमा सन्तुलन मिलाउन जरुरी हुन्छ ।

बिहानको नास्ता

बिहान नास्ता अनिवार्य गरौं । नास्तामा मौसमी फलफूल समावेश गर्नुपर्छ । यससँगै एक गिलास दूध पिउने गरौं । दूध खान मन नभए उसिनेको अण्डा खाए पनि हुन्छ । त्यससँगै ओट्स, सातु, सुख्खा रोटी, कर्नफ्लेक्स, गेडागुडीको झोलमध्ये कुनै एक खानुपर्छ ।

बिहानको खाना

बिहानको खाना सामान्य नेपाली दालभात नै उचित हुन्छ । सकेसम्म खानामा दालभातका अतिरिक्त तरकारी, साग, सलाद र माछामासु समावेश गर्ने ।

दिउँसोको नास्ता

दिउँसोको नास्तामा दही, फलफूल, गेडागुडी, मुंग दाल, हलुवा वा खीर बनाएर खानुपर्छ । यदि कार्यव्यस्तताले नास्ता खान नपाउनेले बदाम, काजु, किसमिस बोकेर हिंड्नुपर्छ ।

साँझ ५ बजे पनि यस्तै नास्ता गर्न सकिन्छ ।

रातको खाना

रातको खाना दिउँसोको खाना जस्तै दाल, भात खाए हुन्छ । त्यसैगरी रोटी, तरकारी, सलाद पनि उपयुक्त हुन्छ । तर दिउँसोको खानाभन्दा मात्रा केही घटाउनुपर्छ ।

के टन्न खाएर मात्र तौल बढ्छ ?

धेरै खानेकुरा खाँदैमा तौल बढ्छ भन्ने चाहिं छैन । खासमा तौल बढाउनु भनेको शरीरमा मांसपेशी बढाउनु हो । यसका लागि शरीरलाई पौष्टिक आहारको जरुरी हुन्छ । शरीरलाई शक्ति प्रदान गर्ने कार्बोहाइड्रेटसँगै प्रोटिन र फ्याटयुक्त खानेकुरा खानुपर्छ । भातभन्दा बढी दाल, तरकारी, सलाद खानु उचित हो । यस किसिमको खानपानले सही ढाँचाले शरीरको तौल बढ्छ ।

मोटाउनका लागि क्यालोरीको मात्रा बढाउनुपर्छ । तर यसको मात्रा जथाभावी हुनुहुँदैन । धेरै क्यालोरी खाँदा मधुमेह हुने, हृदयरोग लाग्ने सम्भावना हुन्छ । सारमा भन्नुपर्दा सन्तुलित, ताजा र स्वस्थ खानेकुरा खानुपर्छ । खानामा सागपात, माछामासु, दाल, गेडागुडी समावेश हुनुपर्छ ।

व्यायाम पनि जरुरी

मान्छेहरु तौल घटाउनका लागि व्यायाम गर्छन् । जबकि तौल बढाउन पनि व्यायाम जरुरी हुन्छ । व्यायाम किनभने, हामीले खाएको खानेकुरा शरीरले पचाउनुपर्छ । अतः व्यायामले पाचन क्रिया बलियो बनाउँछ । समुचित व्यायामले मेटाबोलिक दर सन्तुलनमा राख्छ ।

किन हुन्छ दुब्लोपन ?

दुब्लो पातलो हुनुमा वंशाणुगत कारण पनि हुन्छ । आमाबुवा दुब्लो भए छोराछोरी स्वभाविक रुपमा दुब्लो पातलो हुने गर्छ । त्यसैगरी गर्भावस्थामा समय नपुग्दै जन्मने बच्चाहरु पनि दुब्लो हुने गर्छ । गर्भावस्थामा आमाले पर्याप्त पोषकतत्व खाएका छ्रैनन् भने पनि गर्भका बच्चा कुपोषित हुन्छन् ।

कतिपयको मेटाबोलिज्म उच्च हुन्छ तर शरीरमा त्यस अनुसारको क्यालोरी पुगिरहेको हुँदैन । यस्तो स्थितिमा दुब्लाउने गर्छन् । हर्मोनल गडबडले गर्दा जति खाए पनि दुब्लोको दुब्लै हुने समस्या पनि हुन्छ । कतिपय अवस्थामा थाइराइडले पनि दुब्लोपनको समस्या निम्त्याइरहेको हुन्छ ।

के हुन्छ असर ?

धेरै दुब्लो पातलो हुँदा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । उनीहरुले जति क्यालोरी लिन्छन्, त्यति नै खपत भइरहेको छ भने वा सञ्चित हुन पाउँदैनन् भने उनीहरुलाई चाँडै रोगले गाँज्न सक्छ । खासगरी सरुवा रोगको जोखिम बढी हुन्छ ।

कति हुनुपर्छ तौल ?

मान्छेको तौल उचाइ अनुसार कति हुनुपर्छ भन्ने बडी मास इन्डेक्स (बीएमआई)ले जनाउँछ । १८ दशमल ५ देखि २५ सम्मको बडी मास इन्डेक्सलाई सामान्य मानिन्छ । २५ देखि २९ दशमलव ९ सम्मलाई मोटोपन भएको मानिन्छ ।

यस्तै, ३० देखिमाथि देखिएमा अत्यधिक तौल बढेको मानिन्छ ।

यता, विश्व स्वास्थ्य संगठनले भने दक्षिण एसियाको खानपान र जीवनशैलीको आधारमा १८ दशमलव ५ देखि २२ दशमलव ९ सम्म सामान्य तौल भएको र २३ भन्दा बढी बीएमआई भएको व्यक्तिको तौल बढी हुने उल्लेख छ । यद्यपि जिम गर्ने र गर्भवतीमा भने तौल घटबढ हुने हुँदा बीएमआई लागु हुँदैन ।

मोटोपन बढाउने औषधि खानु कति उचित ?

बजारमा अनेक किसिममा औषधि छन्, तौल बढाउने ।  ती औषधिले भोक जगाउने हुन्छ, जसकारण शरीरले खानेकुरा बढी माग्छ । तौल बढाउने औषधिले तौल वृद्धि त गर्न सकिएला, तर त्यसको साइड इफेक्ट पनि हुन सक्छ ।

औषधि खानु भन्दा दुब्लोपनको पहिचान गरी सही समाधान खोज्नु उचित हो ।

मेडिकल टुडेका अनुसार दुब्लोपन हुँदा धेरै स्वास्थ्य समस्याको सामाना गर्नुपर्छ । यसको प्रमुख कारण कम वजन भएको व्यक्तिले कम आहार खानु हुन सक्छ, जसले कुपोषण निम्त्याउन सक्छ । उदाहरणको लागि भिटामिन डीको कमीले हड्डीमा नकारात्मक असर पार्न सक्छ । क्यालरीको कमी हुँदा थकान बढी हुने, कपाल र छालामा समस्या आउने वाकवाकी लाग्ने जस्ता समस्या हुन्छन् ।

  • ३० आश्विन २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech