भेरी अस्पताललाई प्रजनन् सम्वन्धि औषधि हस्तान्तरण

    • स्वास्थ्य पेज

  • २८ आश्विन २०७९, शुक्रबार

नेपालगन्जः नेपाल रेडक्रस सोसाइटी बाँकेले भेरी अस्पताललाई प्रजनन् सम्वन्धि औषधि हस्तान्तरण गरेको छ । जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा रेडक्रसले करिव ६ लाख मूल्य बराबरको प्रजनन् सम्बन्धि औषधि हस्तान्तरण गरेको नेपाल रेडक्रस केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक नगेन्द्र अर्यालले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको आर्थिक सहयोगमा आपतकालीन अवस्थाको लागि व्यवस्थापन गरिएका औषधिमध्ये आज हस्तान्तरण गरिएका औषधि भेरी अस्पतालको आसीएमसी र प्रसूति विभागका लागि उपयोगि हुने अस्पतालले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले अस्पताल विकास समितिका अध्यक्ष सकिल अहमद सजगढलाई हस्तान्तरण गर्नुभएको हो ।

त्यसक्रममा प्रमुख जिल्ला अधिकारी खत्रीले प्रजनन् स्वास्थ्यका लागि आवश्यक औषधि उपलब्ध गराएकोप्रति नेपाल रेडक्रस सोसाइटी र संयुक्त राष्ट्र संघीय जनसंख्या कोषलाई धन्यवाद दिँदै त्यसको सहि सदुपयोग गर्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । उक्त कार्यक्रममा सदस्य कृष्णप्रसाद श्रेष्ठ र अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा बद्री चापागाई, संयुक्त राष्ट्र संघीय जनसंख्या कोष मानवीय सेवा कार्यक्रमका संयोजक हरि कार्की, रेडक्रसकर्मी लगायतको सहभागिता रहेको थियो ।

रेडक्रसले कोषसँगको आर्थिक सहयोगमा बर्दिया र कैलालीमा मौसम पूर्वानुमान अग्रिम सहायता कार्यक्रम अन्तर्गत प्रजनन् उमेरका करिव ८ हजार महिलाहरुलाई मर्यादा सामाग्री वितरण सुरु गरिएको छ । कर्णाली नदीबाट प्रभावित ति महिलाहरुलाई ३ हजार ५ सय मूल्य बराबरको मर्यादा सामाग्री वितरण सुरु गरिएको रेडक्रसका कार्यक्रम संयोजक अर्यालले बताउनुभयो ।

  • २८ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech