यौनाङ्गको सरसफाइ कसरी गर्ने ? डा. गरिमा श्रेष्ठको यस्तो छ सुझाव

    • स्वास्थ्य पेज

  • २ आश्विन २०७९, आईतवार

थुप्रै महिल जो आफ्नो समस्या लुकाएर बसिरहेका छन् । खासगरी प्रजनन् स्वास्थ्य वा यौनाङ्गका समस्यालाई उनीहरु खुलेर बताउन सकिरहेका हुँदैनन् । परिवारभित्र पनि यौन स्वास्थ्यका विषयमा खुलेर कुराकानी नहुनु र महिलाहरु बढी संकोच मान्ने भएकाले यस्ता समस्याले उनीहरुलाई भित्रभित्रै सताइरहेको हुन्छ ।

यौनाङ्ग चिलाउने, संक्रमण हुने, सेतो पानी बग्ने, दुर्गन्ध आउने जस्ता थुप्रै समस्या हुन्छन् । सामान्य सरसफाइको अभावमा हुने संक्रमणले कतिपय जटिल स्थिति पनि निम्त्याउने गरेका छन् । अतः यौनाङ्गको सरसफाइ कसरी गर्ने ? साबुन प्रयोग गर्न हुन्छ वा हुँदैन ? यौनाङ्गको रौं हटाउनु उचित हुन्छ वा हुँदैन ? यिनै विषयमा डा. गरिमा श्रेष्ठसँग अनलाइनखबरकी सुमित्रा लुइटेलले कुराकानी गर्नुभएको छ ।

महिला यौनाङ्गमा हुने आम समस्या के हो ?

महिला यौनाङ्गमा हुने आम समस्या ‘युरिनरी ट्रयाक इन्फेक्सन’ मूत्र नलीको संक्रमण, फंगल इन्फेक्सन, भाइरल इन्फेक्सन ‘ह्युमन पेपोल्युमा भाइरस’ जसको कारणले पाठेघरको क्यान्सर समेत हुन्छ । तर सबैभन्दा धेरै देखिने भनेको मूत्र नलीको संक्रमण नै हो । जसको कारण भनेको संक्रमणयुक्त कीटाणु हो ।

प्रजनन अंगमा बाह्य संक्रमण हुने भय कति हुन्छ ?

प्रजनन् अंगमा बाह्य संक्रमण हुने भय एकदमै धेरै हुन्छ, किनकि यो शरीरको सबैभन्दा संवेदनशील अंग हो । पुरुषको तुलनामा महिलाको प्रजनन् अंगमा संक्रमण हुने सम्भावना बढी हुन्छ । किनकि पुरुषको भन्दा महिलाको मूत्र नली सानो हुन्छ, जसले गर्दा संक्रमण छिटो भित्र पुग्छ । प्रजनन् अंगमा बाह्य संक्रमण हुने भए पुरुषको तुलनामा महिलामा ६० प्रतिशत बढी हुन्छ ।

के कस्ता संक्रमण हुन सक्छ र त्यसले कति गम्भीर असर पार्न सक्छ ?

प्रजनन् अंगमा मूत्र नलीको इन्फेक्सन, फंगल इन्फेक्सन, भाइरल इन्फेक्सन लगायतका धेरै प्रकारको संक्रमण हुन्छ । सबै प्रकारका संक्रमणले शरीरमा अन्य गम्भीर समस्या पनि निम्ताउन सक्छ । त्यसैले संक्रमणको समयमै उपचार गर्नुपर्ने हुन्छ ।

अन्यथा समयमा उपचार भएन भने त्यो संक्रमणको कीटाणु रगतसम्म पुग्छ र रगतमा संक्रमण गर्छ । रगतमा पनि संक्रमण हुन्छ जसलाई ‘सेप्सिस’ भनिन्छ । सेप्सिस भएपछि औषधिले मात्र उपचार नहुन पनि सक्छ बिरामीलाई भेन्टिलेटरमा नै राख्नुपर्ने हुनसक्छ । त्यसैले सबै प्रकारको संक्रमणको समयमा नै उपचार गरिनुपर्छ ।

मासिक स्राव, गर्भावस्था आदिमा यौनाङ्गको सफाइ नहुँदा के कस्ता समस्या हुनसक्छ ?

मासिक स्राव, गर्भावस्थामा यौनाङ्गको सफाइमा एकदमै ध्यान दिनुपर्छ । तर मासिक स्राव, गर्भावस्थामा मात्र हैन, अन्य समयमा पनि यौनाङ्गको सरसफाइमा ध्यान दिनुपर्छ ।

महिनावारीको बेला हाम्रो यौनाङ्गबाट रगत बगिरहेको हुन्छ । रगतमा कीटाणु छिटो फैलने भएकोले पनि महिनावारीको बेला यौनाङ्गलाई समय समयमा सफा गरिरहनुपर्छ । त्यसको साथै गर्भावस्थामा सेतो पानी बग्ने धेरै पटक पिसाब लाग्ने भएकाले गर्भावस्थामा पनि अन्य बेला भन्दा अझै बढी सरसफाइमा ध्यान दिनुपर्छ ।

यौनाङ्ग सरसफाइ गर्ने क्रममा आम महिलाले के कस्ता गल्ती गरिरहेका हुन्छन् ?

आम महिलाले यौनाङ्गको सरसफाइ गर्ने क्रममा गर्ने सामान्य गल्ती भनेको साबुनपानीको प्रयोग गरेर यौनाङ्ग सफा गर्नु हो । विभिन्न अध्ययनहरूलाई हेर्ने हो भने नेपाल मात्र होइन, प्रायः देशहरूमा यो गल्ती गरिएको देखिन्छ ।

मैले त यौनाङ्गको सरसफाइमा एकदमै ध्यान दिएको छु, दिनकै साबुन पानीले यौनाङ्ग सफा गर्छु तै पनि मलाई इन्फेक्सन भयो भन्दै धेरै जना अस्पताल आइरहेका हुन्छन् ।

साबुनपानीले यौनाङ्ग सफा गर्नु गलत हो । हामीले कहिले पनि साबुन पानीको प्रयोग गरेर यौनाङ्ग सफा गर्नु हुँदैन । किनकि यौनाङ्गमा ‘नर्मल फ्लोरा’ राम्रो कीटाणु हुन्छ जसले नराम्रो कीटाणुलाई रोक्न सहयोग गरेको हुन्छ । र त, यदि हामीले दैनिक रूपमा साबुनपानीले यौनाङ्ग सफा गर्‍यो भने त्यो राम्रो कीटाणु पखालिन्छ र नराम्रो कीटाणु छिटो भित्र पस्छ र संक्रमण गराउँछ । त्यसैले साबुनको प्रयोग नगरेर सफा पानीले मात्र यौनाङ्ग सफा गर्नुपर्छ ।

शारीरिक सम्पर्कपछि यौनाङ्गको सरसफाइ गर्नुपर्छ भन्ने चेत नेपाली समाजमा कति छ ? यस बेला सरसफाइ नगरिए के कस्ता संक्रमण हुनसक्छ ?

शारीरिक सम्पर्कपछि यौनाङ्गको सरसफाइ गर्नुपर्छ भन्ने चेत नेपाली समाजमा एकदमै कम छ । किनकि प्रजनन स्वास्थ्य र यौनको विषयमा मान्छेहरू खुलेर कुरा गर्न नै चाहँदैनन् र यसबारे जानकारी पनि कम छ । स्कुलस्तरदेखि नै यौन स्वास्थ्य र प्रजनन् स्वास्थ्यको बारेमा जानकारी दिइएको भए यस्तो समस्या हुने थिएन ।

शारीरिक सम्पर्कपछि यौनाङ्ग सफा गर्नु एकदमै जरुरी हुन्छ, किनकि यौन सम्पर्कपछि यौन रोग र मूत्र नलीको संक्रमण हुने सम्भावना एकदमै धेरै हुन्छ । त्यसैले यौन सम्पर्कपछि पिसाब फेर्नुपर्छ, यसो गर्दा मूत्र नलीको संक्रमण हुने सम्भावना कम हुन्छ । पिसाब गरिसकेपछि यौनाङ्गलाई सफा पानीले सफा गर्नुपर्छ ।

प्युबिक हेयर हटाउनु उचित हो वा होइन ?

प्युबिक हेयर हटाउनु उचित हो, यसले फंगल इन्फेक्सन लगायत विभिन्न इन्फेक्सनबाट बचाउँछ । तर हेयर हटाउँदा केही कुराहरूमा भने विशेष ध्यान दिनुपर्छ । प्युबिक हेयरलाई सेभ गरेर हटाउने हो भने राम्ररी सबै निस्कने गरी सेभ गर्नुपर्छ । राम्ररी सेभ गरिएन भने हेयरबाट नै संक्रमण हुने सम्भावना हुन्छ ।

अहिले बजारमा धेरै प्रविधिहरू भित्रिएका छन् । प्युबिक हेयरलाइ र वाक्स तथा लेजर हेयर रिमुभलबाट पनि हटाउन सकिन्छ । त्यसैले प्युबिक हेयर हटाउनु उचित हो, तर कुन तरिका अपनाउने त्यसमा भने ध्यान दिनुपर्छ ।

सामान्यतया इनर वेयर कति अवधिमा फेर्नु उचित हुन्छ ?

सामान्यतया दैनिक रूपमा इनर वेयर परिवर्तन गर्नु उचित हुन्छ । महिनावारी भएको समयमा भने दिनमा दुई पटक परिवर्तन गर्नुपर्छ । महिनावारीको समयमा तथा अन्य समयमा यौनाङ्गको सरसफाइमा ध्यान नदिएको कारणले नै पाठेघरको मुखको क्यान्सर हुने सम्भावना पनि हुन्छ ।

महिनावारी भएको बेला समय-समयमा प्याड परिवर्तन गर्ने र इनर वेयर परिवर्तन गरेर सरसफाइमा ध्यान दिइयो भने पाठेघरको मुखको क्यान्सर हुने सम्भावनालाई कम गर्न सकिन्छ

  • २ आश्विन २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech