नेपालगन्जमा भित्रिए अब्बल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, जसले दुलर्भ शल्यक्रिया गरेका थिए

    • स्वास्थ्य पेज

  • १ आश्विन २०७९, शनिबार

करिव दुई वर्ष अघि थापाथलीस्थित प्रसूति गृह अस्पतालमा एकैपटक पाँचवटा बच्चाको जन्म भएको दुर्लभ घटना सार्वजनिक भयो । पाँच बच्चा जन्माएका दम्पतिले यो दुर्लभ घटनाबाट आफूहरूलाई भाग्यमानी ठानेको र निकै खुसी लागेको प्रतिक्रिया दिए ।

नुवाकोटकी स्थायी बासिन्दा सोमिका तामाङ्ले शल्यक्रियामार्फत चार छोरी र एक छोरालाई जन्म दिनुभएको थियो । तर छोराको भने गर्भमा नै मृत्यु भैसकेको चिकित्सकहरूले बताएका थिए । शल्यक्रियामार्फत ती छोरी जन्मिए । एकैपटक पाँचवटा बच्चाको जन्म भएको घटना सम्भवतः नेपालमा पहिलो नै हो ।

शल्यक्रियामा संलग्न हाल भेरी अस्पताल नेपालगन्जमा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदी त्यो घटना स्मरण गर्दै अहिलेपनि रोमाञ्चित हुनुहुन्छ । ‘मेरो अहिलेसम्मको अनुभवमा पाँचवटा शिशुको जन्म पहिलो पटक देखेको हुँ उहाँ भन्नुहुन्छ–‘यस्तो विदेशतिर पनि एकदम दुर्लभ मानिन्छ ।’

त्यतिबेला डा.सुवेदी प्रसूति गृह थापाथलीमा कार्यरत हुनुहुन्थ्यो । डा.सुवेदी नेतृत्वकै टिमले शल्यक्रिया गरेर चम्ल्याह बच्चाको जन्म दिएको थियो । प्रसूति गृह अस्पतालमा करिव आधा दशक सेवा दिनु भएका डा.सुवेदी सरुवा भएर भेरी अस्पताल आइपुग्नु भएको छ ।

दुई साता अघि भेरी अस्पतालमा आउनु भएका डा.सुवेदीले पहिलो पटक भेरी अस्पतालमा स्त्री रोग सम्बन्धि ल्याप्रोस्कोपी सेवा सुरु गरिसक्नु भएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालकोरुपमा रहेको भेरी अस्पतालमा डा.सुवेदीको आगमनसँगै प्रसूति तथा स्त्री रोग विभाग थप दरबिलो बनेको छ ।

प्रसूति गृह अस्पतालमा ६ वर्ष सेवा दिइसक्नु भएका डा सुवेदीको आगमनले अस्पतालको सेवा प्रवाहलाई थप गुणस्तरीय र अब्बल बनाउने विश्वास लिइएको छ ।

को हुन् डा.कीर्तिपाल सुवेदी
विस २०४० साल साउनमा घोराही उपमहानगरपालिका–१४ दाङमा जन्मनुभएका डा.सुवेदीले २०५६ सालमा दिपशिखा मावि घोराहीबाट एसएलएसी उर्तिण गर्नुभयो । २०५८ सालमा निष्ट उच्च मावि लैनचउरबाट उच्च मावि अध्ययन पूरा गरेपछि उहाँ एमबिबिएस अध्ययनका लागि नेपाल मेडिकल कलेजमा भर्ना हुनुभयो ।

उहाँले २०६४ सालमा एमबिबिएस उर्तिण गर्नुभयो । एमडी भने टिचिङ हस्पिटलबाट २०७३ मा गर्नुभएको हो । २०६६ सालमा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीबाट जागिरे सेवा प्रारम्भ गर्नुभएका डा सुवेदीले चितवनको खैरेनी प्राथमिक स्वास्थ्य केन्द्र, भरतपुर अस्पताल र प्रसूति गृह अस्पतालमा रहेर सेवा दिइसक्नुभएको छ ।

दशौं तहका डा सुवेदी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ बन्नुको खास कारण उहाँको आमाको प्रेरणा हो । उहाँको आमा पूर्णा सुवेदी नर्स हुनुहुन्थ्यो । त्यही कारण उहाँले महिलाका समस्यालाई नजिकबाट नियाल्नुभएको थियो । डाक्टर नै बन्ने सोच कसरी आयो रु डा.सुवेदीको सहज जवाफ छ–‘मेरै घरै नजिक अस्पताल भएकाले पनि मलाई डाक्टर बन्ने चाहनालाई मूर्तरुप दियो ।’

डा.सुवेदीले अस्पतालमा बसेर प्रसूति तथा स्त्री रोग उपचार सेवामात्र दिनु भएको छैन उहाँले विभिन्न विकट ठाउँमा पुगेर निःशुल्क स्वास्थ्य शिविरमा समेत सघाउने गर्नुभएको छ । ‘अहिलेपनि थुप्रै महिला दिदीवहिनीहरु आफ्नो समस्या लुकाएर बस्नुभएको छ उहाँ भन्नुहुन्छ–‘सहि समयमा विशेषज्ञ डाक्टरलाई समस्याबारे खुलेर भन्ने हो भने त्यस्ता समस्या समाधान गर्न सकिन्छ ।’

करिव डेढ दशकको चिकित्सकिय अनुभवबारे डा.सुवेदी महिलाहरुले खुलेर आफ्ना समस्या भन्न नसक्दा थुप्रै रोगबाट पीडित भएको बताउनुहुन्छ । अधिकांश महिलामा पाठेघर सम्बन्धि समस्या देखिएको पाइएको उहाँको भनाइ छ ।

  • १ आश्विन २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech