डेंगी जनस्वास्थ्य समस्या भएकाले नियन्त्रणमा सबैको सहकार्य जरुरी छः डा रिसाल

    • स्वास्थ्य पेज

  • १ आश्विन २०७९, शनिबार

पछिल्लो समय डेंगीको महामारी नै फैलिएको छ । दुई साता यता भेरी अस्पताल नेपालगन्जमा पनि डेंगीका बिरामीको चाप बढेको अस्पतालले जनाएको छ । बर्षायाम सुरु भएसँगै खासगरी डेंगीको जोखिम बढ्ने चिकित्सकहरु बताउँछन् । डेंगीको बढ्दो जोखिम, अपनाउनु पर्ने सावधानी र सचेतनाका बारेमा पत्रकार शुक्रऋषि चौलागाईले भेरी अस्पतालका वरिष्ठ फिजिसियन तथा सूचना अधिकारी संकेत कुमार रिसालसँग कुराकानी गर्नु भएको छ ।

भेरी अस्पतालमा अहिले कस्ता खालका बिरामी बढी आइरहेका छन् ?
पछिल्लो दुई सातादेखि भेरी अस्पतालमा डेंगीका बिरामी बढेका छन् । हुन त नेपालभरी नै डेंगीका बिरामी बढेका छन् । मुलुकभर अहिलेसम्म १३ हजार बढीमा डेंगीको संक्रमण देखिसकेको छ । १३ जना भन्दा बढीले ज्यान गुमाइसकेका छन् । स्वभाविकरुपमा डेंगीको जोखिमबाट बाँके पनि अछुतो छैन । किनभने नेपालनै डेंगीको उच्च जोखिममा छ । यो मौसम पनि डेंगीकै हो । बर्खायाममा डेंगीको जोखिम उच्च हुने भएकाले भेरी अस्पतालमा पनि डेंगीका बिरामी आउनेक्रम बढेको छ । अहिलेसम्म उपचारका क्रममा दुई जनाको मृत्यु भइसकेको छ । ती जिल्ला बाहिरका हुन् ।

डेंगी के हो ?
डेंगी भनेको एक प्रकारको भाइरसबाट लाग्ने रोग हो । यो एडीस प्रजातीको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्दछ । यो प्रजातीका लामखुट्टेले डेंगी रोग भएको मानिसलाई टोकेमा ती भाइरस उक्त लामखुट्टेको पेटमा पुग्दछन् र फेरि स्वस्थ व्यक्तिलाई टोक्दा ती भाइरस स्वस्थ मानिसको शरीरमा प्रबेश गर्दछन् । जसका कारण डेंगीको संक्रमण हुने गर्छ ।

उसो भए डेंगी सिधै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन ?
डेंगी सिधै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । यो रोग सार्नको लागि माध्यम लामखुट्टे नै हो । डेंगी लामखुट्टेले संग्लो, जमेको पानीमा बसेर प्रजनन् क्रिया तिब्र बनाउने गर्छ । जस्तै : टायर, गमला, कुलरलगायतका ठाउँ यसका अत्यन्तै उपयोगी, सुरक्षित र अनुकूल ठाउँ हुन् ।

यो कति जटिल रोग हो ?
रोग आफैमा पनि जटिल हुन्छ । तर यो रोगले गर्भवती महिला, साना बच्चाहरुमा र दोहोरिएर भएको डेंगी रोगमा जटिल समस्याहरु आउन सक्छ ।

यसका लक्षणहरु कस्ता हुन्छन् ?
यसका विभिन्न खालका लक्षण छन् । जस्तै अत्याधिक ज्वरो आएपछि डेंगीको शंका गरिहाल्नु पर्छ । आँखाको वरीपरी ठिक पछाडीको भागमा अत्याधिक दुख्छ । लामा रातो डाबर वा धब्बा आउछ । हड्डी दुख्छ । यी डेंगीका मुख्य लक्षणहरु हुन् र यस्ता लक्षण देखा परेमा डेंगु रोग भएको अनुमान गर्न सकिन्छ । त्यस्तै वाकवाकी लाग्ने, छटपटी हुने, बान्ता हुने, शरीरमा बिबिरा आउने, नाडी कमजोर तथा रक्तचाप कम हुनेलगायतका लक्षण पनि डेंगुका हुन् । यदि शरीरमा प्लेटलेटको मात्रा कम भएमा शरीरको कुनै पनि ठाउँबाट रक्तश्राब हुन सक्ने सम्भावना हुन्छ । जसले गर्दा धेरै रक्तश्राब भएरा बिरामी बेहोस हुने अवस्था पनि आउन सक्छ । र, समयममा उपचार नभएमा मानिसको मृत्यु पनि हुनसक्छ ।

पत्रकार शुक्रऋषि चौलागाई र वरिष्ठ फिजिसियन डा संकेत रिसाल

यसको उपचार के हो त ?
यो डेंगी भाइरसका कारण गर्दा हुने रोग हो । विश्वमा अहिलेसम्म यो भाइरसलाई मार्ने औषधि बनेको छैन । त्यसैले गर्दा यसमा लक्षण अनुसारको उपचार नै हो गर्ने । ज्वरो कम गर्न प्लेन सिटामोलको प्रयोग गर्ने । बिरामीले आराम लिने, झोलिलो खाने कुरा खाने गर्नु पर्छ । यदी बिरामीमा ज्वरो कम भएन् । नजिकैको स्वास्थ्य संस्था वा चिकित्सक कहाँ जानु नै उत्तम उपाय हो ।

डेंगी बाट कसरी सावधानी अपनाउने ?
डेंगी सार्ने लामखुट्टे सफा जमेको र एकदम कम पानीमा पनि यसले आफ्नो प्रजनन् प्रक्रिया पूरा गरी संख्या बढाउने हुँदा पानी जम्न नदिनु नै उपयुक्त सावधानी हो । यो प्रजातीको लामखुट्टे उज्यालो समयमा बढी सक्रिय हुने हुँदा बिहान सूर्य उदाएपछि र बेलुका सूर्य अस्ताउनु भन्दा अगाडी यसबाट बच्ने उपायहरु अपनाउनु पर्छ ।

घर वरपर सफा राख्ने, खाल्डाखुल्डी पुर्ने, गमलामा पानी जम्न नदिने, झुल टाँगेर मात्र सुत्ने बानी बसाल्ने लगायतका सावधानी अपनाउन सकियो भने डेंगीको जोखिम कम गर्न सकिन्छ । डेंगी  ज्वरो रोकथाम गर्न सकिने जनस्वास्थ्य समस्या भएकोले यसको रोकथाम तथा नियन्त्रणका लागी केवल राज्यमात्र उत्तरदायित्व भएर हुँदैन। यसका लागि हामी आमनागरिक, स्थानीय तह, विभिन्न संघसस्था, प्रदेश सरकार लगायत केन्द्रीय सरकारको पनी जिम्मेवारी हो। उपचारात्मक प्रकृया भन्दा रोगथाम तथा नियन्त्रण प्रकृयामा जोड दिए राज्यको खर्चलाई न्युनीकरण गर्न सकिन्छ।

 

 

  • १ आश्विन २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech