गर्भवती महिलालाई गाउँमै भिडियो एक्स-रे सेवा

    • स्वास्थ्य पेज

  • १७ भाद्र २०७९, शुक्रबार

नेपालगन्जः गाउँमै भिडियो एक्स-रे सेवा पाउँदा गर्भवती महिला खुसी भएका छन् । गाउँमै भिडियो एक्स-रे सेवा पाएपछि दिनभरको समय र पैसा खर्चेर अन्यत्र जानुपर्ने बाध्यता हटेको गर्भवती महिलाको भनाइ छ ।

निस्दी गाउँपालिकाले गाउँमा भिडियो एक्स-रे सेवा प्रदान गरेपछि जिल्ला सदरमुकाम तानसेन र रामपुर जानुपर्ने बाध्यता हटेको उहाँहरूको भनाइ छ । निस्दी गाउँपालिकाको लगानीमा गाउँमै निःशुल्क भिडियो एक्स-रे सेवा लिन पाउँदा आफूहरू खुसी भएको गर्भवती महिलाले बताउनुभयो ।

गर्भवती महिलाले गाउँमै सेवा पाएपछि समय र खर्च समेत बचेको उहाँहरूको भनाइ छ । ‘पहिले भिडियो एक्स-रेका लागि तानसेन र रामपुर जानुपर्ने बाध्यता थियो निस्दी –४, का स्थानीय बासिन्दा हिराकुमारी खाम्चाले भन्नुभयो “अब गाउँमै सहज रूपमा सेवा पाउँदा खुसी लागेको छ ।” गाउँमा यो सेवा उपलब्ध भएपछि खर्चको अभावमा सदरमुकामसम्म जान नसकेका गर्भवतीसमेत जाँचका लागि आउने उहाँले बताउनुभयो ।

पालिकाभित्रका सात वटै वडाका गर्भवतीलाई गाउँमै भिडियो एक्स-रे सेवा प्रदान गरिएको छ । गर्भवती महिलालाई लक्षित गरी निःशुल्क ग्रामीण भिडियो एक्स-रे सेवा सञ्चालन गरेपछि गर्भवती महिलाले आफ्नो र बच्चाको स्वास्थ्य अवस्था बुझ्न सजिलो भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशाले बताउनुभयो ।

सदरमुकाम सम्म जान पैसाको अभाव र समय मिलाउन नसकेका गर्भवतीले समेत स्वास्थ्य जाँच गर्न सहज भएको प्रमुख दिशाले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले तालिमप्राप्त जनशक्ति व्यवस्था गरेपछि सेवा दिन सहज भएको पालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो ।

  • १७ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech