स्वस्थ शरीरका लागि स्वःहेरचाह किन जरुरी छ ?

    • कमला कुमारी डाँगी \ मनोसामाजिक कार्यकर्ता

  • ३ भाद्र २०७९, शुक्रबार

हाम्रो जीवनमा उतारचढाव नियमित रुपमा भैरहने प्रक्रिया हो । जन्मपछिको मृत्यु हो । विपद, महामारी, दुर्घटना वा दैनिक जस्तो आइपर्ने नराम्रा भोगाईहरुले समेत मनमा दुःख, पीर वा चिन्ता पुर्याउन सक्दछ । त्यसैगरी अहिले कोभिडको कुनै न कुनै रुप रहिरहँदा वा फेरी कोभिडको अर्को चरण आईराखेको अवस्थाले पनि एक किसीमको अन्यौलता श्रृजना भएको छ । आफुलाई गाह्रो अप्ठ्यारो हुँदा तपाईको आफ्नै मानसिक स्वास्थ्यलाई सम्हाल्ने उत्तम तरिका भनेको तपाईंको शरीर र मनको ख्याल राख्नु नै हो ।

यस्तो भावना अचानक र अप्रत्याशित घटनापछि आउने सामान्य प्रतिक्रया हो भनेर बुझनु पर्दछ । तपाईं मात्रै यस्तो दुःख, समस्या, तनाव, पिर वा डरको सामना गरिराखेका छैनौं भन्ने कुरा बुझ्नु महत्वपूर्ण कुरा हो । यस्ता अनुभवहरु हुँदा वा मानिसलाई गाह्रो पर्दा सबैलाई चिन्ता र तनाव लाग्नु सामान्य कुरा हो । विभिन्न खालका विषम परिस्थिति होस् वा दैनिक असहज परिस्थिति हुँदा हामीले मनमा याद गर्नुपर्ने भनेको हाम्रो शरीर नै नरहे हामी रहँदैनौं भन्ने हो ।

विपदको बेला वा अप्ठ्यारो बेला मनमा विभिन्न खालका सोचाईहरु आउने गर्दछ । तर सोचाईहरुलाई राम्रो काममा परिणत गर्न सकिएन भने यसले तनाव सिर्जना गर्न सक्छ । आउनुहोस् आज हामी आफ्नो मनलाई कसरी स्वास्थ्य राख्ने भन्ने विषयमा छलफल गरौं ।

शरिरलाई ख्याल राख्ने तरिका

. निन्द्रा : वयस्कलाई प्रतिदिन ७ देखी ८ घण्टाको निन्द्राको आवश्यक पर्दछ । यदी तपाईलाई निदाउन ग्राह्रो भइरहेको छ भने , मोबाइल ल्यापटपको प्रयोग सिमित राख्नुहोस् । हरेक दिन बेलैमा ओछ्यानमा जाने र एउटै समयमा उठ्नुहोस् । घरमा हुँदा होस् वा बाहिर एउटै तालिका प्रयोग गर्नुहोस् ।

. शारिरीक व्यायाम : नियमित शारीरिक व्यायामले शारिरीक थकानलाई कम गर्न मद्दत गर्छ । साथै तपाईको उर्जा सुधार गर्छ । शारिरीक व्यायाम गर्दा पनि आफू रमाउने कुरा छान्नु भएमा यसको असर अझ राम्रो हुन सक्छ । जस्तै योग, बालबालिकासँग खेल्ने दगुर्ने, जिम जाने आदी गर्न सकिन्छ ।

. सन्तुलित आहार खानुहोस् : स्वास्थ्य खानेकुरा छान्नुहोस् । ताजा तरकारी, फलफुलजन्य बस्तु सेवन गर्नुहोस् । जंक फुड र परिष्कृत चिनी त्याग्नुहोस् । चिया र कफिको प्रयोग कम गर्नुहोस् । यसमा भएको क्याफिनजन्य तत्वले तनाव र चिन्तालाई बढाउने काम गर्दछ ।

. धुम्रपान तथा मध्यपान त्याग्नुहोस्ः यदी तपाई धुम्रपान गर्नुहुन्छ भने तपाई फोक्सो रोगको उच्च जोखिमा परिसक्नु भएको छ । मानिसहरु विभिन्न चिन्ता र तनावबाट मुक्त हुन मध्यपान (मदिरा) पिउने गर्छन् । यो गलत कार्य हो । एकातिर यसले स्वास्थ्यलाई प्रतिकूल असर गरिरहेको हुन्छ भने अर्को तर्फ धनको सत्यानाश ।

. विधुतीय उपकरणको कम प्रयोग : विधुतीय उपकरणहरु जस्तै टिभी, ट्यावलेट, कम्प्युटर, मोबाइल चलाउन सीमित गर्नुहोस् । सुत्नु अघि ३० मिनेट कुनै पनि यस्ता उपकरणहरुको प्रयोग नर्गनुहोस् ।

. आराम गर्नुहोस् : आफूलाईसमय छुट्रयाउनुहोस् । केही समय शान्त बस्नाले तपाईको दिमागलाई स्फूर्त बनाउन र तनाव कम गर्न मद्दत गर्दछ । साथै, तपाईले योग, गहिरो स्वासप्रश्वासको अभ्यास साथै आफूलाई आनन्द दिने कार्य जस्तैः गीत सुन्ने, किताव पढ्ने, नुहाउँने आदी कुराहरु गर्न सकिन्छ । यसलाई दैनिक रुपमा गर्दा पनि राम्रो हुन्छ ।
आफ्नो मनलाई कसरी ख्याल राख्नेः 

. दैनिक तालिका बनाउनुहोस्ः दैनिक तालिका बनाएर काम गर्दा मानसिक स्वास्थ्यको मद्दत पुग्ने गर्दछ । सुत्ने, खाने, नुहाउँने, लुगा लगाउने, व्यायाम गर्ने वा पढ्ने जस्ता कार्यको लागि तालिका बनाउनुहोस् । रमाईलो गर्ने गतिविधिहरुका लागि पनि समय छुट्याउन भुल्नु भएन ।

.व्यस्त रहनुहोस्ः व्यस्त रहनाले नकारात्मक सोचाईहरुबाट टाढा हुन मद्दत गर्दछ । खाली समयमा घरको बाकी रहेका काम गर्न सकिन्छ, रचनात्मक बन्न सकिन्छ, बालबालिकहसँग समय विताउन सकिन्छ, नयाँ कार्यको लागि योजना बनाउन सकिन्छ ।

.सकरात्मक सोचाइमा केन्द्रित हुनुहोसः जीवनमा घटेका सकारात्मक चिजहरुमा केन्द्रित हुनुहोस् । आफूलाई सहयोग गर्ने व्यक्तिहरुलाई धन्यवाद दिन नभुल्नुहोस् । आशाको भावना कायम राख्नुहोस्, परिवर्तन हुने बित्तिकै स्वीकार गर्न काम गर्नुहोस् र समस्याहरूलाई परिप्रेक्ष्यमा राख्ने प्रयास गर्नुहोस् ।

. प्राथमिकताहरु सेट गर्नूहोस्ः प्रत्येक दिन व्यवहारिक लक्ष्यहरू सेट गर्नुहोस् र ती लक्ष्यहरूमा पुग्नको लागि चरणहरू तय गर्नुहोस् । प्रत्यक चरणमा आफूले आफूलाई धन्यवाद दिनुहोस् । आगामी दिन यो भन्दा अझै राम्रो हुन्छ भन्ने अपेक्षा राख्नुहोस् ।

माथि उल्लेखित त केही उपायमात्रै हुन् । तर हामी जीवनको अहिले सम्मको समयमा आईपुग्दा सम्म मनमा गाह्रो पर्दा आफ्नो मनलाई सहज बनाउन गरिने सकरात्मक अभ्यासहरु पनि हुन सक्दछ । जसले आफ्नो असहजतालाई सहज बनाउन सक्दछ ।

तर २ हप्ताभन्दा बढी मनमा नरामाईलो लाग्ने, नकरात्मक सोचाईहरु मात्रै आउने, मर्न मन लाग्ने वा रिस मात्रै उठ्ने, निन्द्रामा गडबडी वा दैनिकी क्रियाकलापमा समेत नकरात्मक असर पारेको छ भने आफुलाई मन पर्ने व्यक्तिलाई अबिलम्ब कुरा गर्नु पर्दछ भने मनोचिकित्सक, मनोविद् , मनोसामाजिक परामर्शकर्तालाई भेट गरी मनोसामाजिक परामर्श लिनु पर्दछ ।

 

  • ३ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech