सस्तो र गुणस्तरीय भेरीको न्यूरो सेवा

डा.न्यौपाने नेतृत्वको टीमले भेरीमा न्यूरो सेवा दिन थालेपछि यसक्षेत्रका विरामीले कम खर्चमा उपचार सेवा पाउन थालेका छन् । विगत तीन वर्षदेखि नेपालगन्जलाई कर्मथलो बनाएर न्यौपानेले सेवा दिइरहनुभएको छ । काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालको अनुभव समेत हासिल गरिसक्नुभएका डा.न्यौपानेको आगमनले भेरीको न्यूरो सेवा प्रभावकारी र गुणस्तरीय हुने विश्वास गरिएको छ ।


    • डा.जोशन न्यौपाने, न्यूरो सर्जन

  • २१ श्रावण २०७९, शनिबार

भेरी अस्पतालमा न्यूरो सेवा प्रारम्भ भएको लामो समय भएको छैन । स्थापनाको करिव एक शताब्दी तीन दशकको हाराहारी पछिमात्रै भेरी अस्पतालमा न्यूरो सेवा प्रारम्भ भएको हो । अहिलेपनि न्यूरोको दक्ष जनशक्ति देशमै अभाव छ । उतिबेलाको अवस्था झन के थियो होला आफै कल्पना गरौं । त्यसैमा केन्द्रीकृत शासन व्यवस्थाको प्रभाव पनि हुन सक्छ । काठमाडौं बाहिर न्यूरो सेवा फस्टाउन नसक्नुमा । भलै, दुई चार वर्ष यता भने पश्चिम नेपालमा न्यूरो सेवा विस्तार हुँदै गएको छ । वीर अस्पतालसँगै स्थापना भएको भेरी अस्पतालमा न्यूरो सेवा प्रारम्भ भएको नै तीन वर्ष हाराहारी भयो । त्योपनि नियमित हुन सकेन् ।

भेरी अस्पतालमा २०७६ साल मंसिरबाट न्यूरो सेवा प्रारम्भ भएको हो । न्यूरोसर्जन डा.हरि पौडेल आएपछि भेरीमा न्यूरो विभाग स्थापना गरेर पश्चिम नेपालका सरकारी अस्पतालमा पहिलो पटक न्यूरोका बिरामीले सेवा लिने अवसर पाए । तत्कालिन मेसु डा.रुपानन्द अधिकारीको पालामा भेरीमा न्यूरो सेवा सुरु भएको हो । स्टोररुम खाली गरेर न्यूरोको ओपिडी सेवा प्रारम्भ गरिएको थियो । ओपिडी नं. ३ । न्यूरोसर्जन डा.पौडेल र ग्यास्ट्रोसर्जन ध्रुवनारायण शाहसँगसँगै भेरी अस्पतालमा आउनुभएको थियो । बार छुट्याएर न्यूरो र ग्यास्ट्रोको ओपिडी सेवा सुरुवात गरिएको थियो ।

न्यूरोसर्जन डा.पौडेल आएपछि भेरी अस्पतालमा अपरेटिङ्ग माइक्रोस्कोपको जडानसँगै माइक्रोस्कोपिक न्यूरोसर्जरी सेवा प्रारम्भ भयो । न्यूरो सेवा सुरु भएको वर्ष दिनमै डा.पौडेलको धनगढी सरुवा भयो । त्यसपछि न्यूरोसर्जन डा.हेमन्त शाह आउनुभयो । उहाँको बसाइपनि भेरीमा अर्धवार्षिक देखि बढी भएन् । पछिल्लो पटक म आफैले भेरीको न्यूरो सेवालाई निरन्तरता दिइरहेको छु ।

गत वर्षको चैत दोस्रो सातादेखि मेरो नेतृत्वमा भेरीले नशा शल्य चिकित्सा सेवा नियमित गरेको छ । साताको तीन दिन सोमवार, मंगलवार र विहीबार भेरीले न्यूरोको ओपिडी सेवा दिइरहेको छ । जहाँ टाउको तथा नशा सम्वन्धि समस्या भएका विरामीहरुले सहज, सरल, सस्तो र गुणस्तरीय सेवा पाइरहेका छन् । यो बीचमा जटिल प्रकृतिका शल्यक्रिया गरिएका छन् । अस्पतालमा स्पाइनमा भएको ट्युमरको सफल शल्यक्रियामात्र भएको छैन सवारी दुर्घटनामा परेर टाउकोमा गम्भीर चोट लागेको बच्चाको शल्यक्रिया गरेर ज्यान जोगिएको छ । यस्ता धेरै शल्यक्रियाहरु भेरीमा नियमित जस्तो भइरहेका छन् ।

सस्तो र गुणस्तरीय सेवा

दिमाग तथा मेरुदण्ड अत्यन्त संवेदनशील अंगहरु भएको हुँदा ससाना नशा तथा तन्तुहरुलाई अत्यन्त जतनका साथ चलाउनु पर्ने हुन्छ । त्यसैले पनि यसको शल्यक्रिया अत्यन्तै जटिल र जोखिमपूर्ण हुन्छ । जटिल र जोखिमपूर्ण मात्र होइन महंगो र खर्चिलो पनि उत्तिकै छ । तर भेरी अस्पतालमा सुरु गरिएको न्यूरो सेवाले यसक्षेत्रका नागरिकलाई ठूलो राहत दिएको छ । अझ यसो भनौं न्यूरोका विरामीका लागि यो बरदान नै हो । उपचार अभावमै ज्यान गुमाउनु पर्ने अवस्था छैन । भेरी अस्पतालमा मेजर शल्यक्रिया गरिएपनि २० हजार भन्दा बढी खर्च छैन । सायद त्यही शल्यक्रिया प्राइभेटमा गर्नु प¥यो भने बिरामीले एक लाखको हाराहारीमा खर्च गर्नु पर्ने अवस्था आउन सक्छ । यसले गर्दा गरिव तथा विपन्न समुदायका मानिसहरुको उपचारमा अभावमा अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता भेरीको न्यूरो सेवाबाट टरेको छ ।

उपकरण र जनशक्ति

न्यूरो सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन केही उपकरण थप्नै पर्ने आवश्यकता छ । किनभने नयाँ–नयाँ टेक्नोलोजीको विकास भइरहेको छ । ती टेक्नोलोजीसँग अभ्यस्त हुनै पर्छ । त्यसो गर्न सकियो भने विरामीलाई छिटोछरितो र उच्चतम् प्रविधिको सेवा दिन सकिन्छ । हुन त अहिले हामीसँग अपरेटिङ माइक्रोस्कोप छ । नाङ्गो आँखाले सहजै देख्न नसकिने यस्ता नशाहरुलाई अपरेटिङ माइक्रोस्कोपको सहायताले मेग्निफाई गरेर हेरिन्छ र सर्जनले आफुले चाहेको अनुसार सुरक्षित तरिकाले शल्यक्रिया गर्न सक्छन् ।

दिमागका नशा फुलेर फुटेकोमा बाँध्ने, रगतका नशाहरुको गुच्छाको गडबडी र दिमागको क्यान्सरको शल्यक्रिया जस्ता उपचारमा यस प्रविधिको प्रयोग हुने हुँदा यस क्षेत्रका धेरै बिरामीहरु लाभान्वित भएका छन् । योसँगै ड्रिल सिस्टम लगायतका उपकरण पनि थप्नु पर्ने आवश्यकता छ । अर्को महत्वपूर्ण कुरा भनेको दक्ष जनशक्ति हो । भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रेफरल अस्पताल हो । यहाँ विरामीको फ्लो बढी छ । सबै बिरामीलाई एक्लै सेवा दिन सकिदैन् । कम्तिमा पनि अर्का एक जना न्यूरोसर्जन हुने हो भने जटिल प्रकृतिका शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्न सहज हुन्छ । साथै, विभागले दिने ओपिडी सेवाका लागि बार तोक्नु पर्ने अवस्था रहदैन ।

त्यस्तै तालिम प्राप्त नर्सिङ स्टाफदेखि क्रिटिकल केयर गर्ने जनशक्तिको पनि आवश्यक्ता छ । हुन त हामीले क्रिटिकल केयर सम्वन्धि तालिमहरु दिने काम गरिरहेकै छौं । र, कर्मचारीहरु पनि दक्ष हुनुहुन्छ । उहाँहरुको सीप विकासलगायतमा अस्पताल प्रशासनले चासोका साथ सहयोग गरिरहेको छ ।

भेरीको अन्तर विभागीय समन्वय उदाहरणीय

भेरी अस्पतालको अन्तर विभागीय समन्वय र सहकार्य साच्चिकै सबैका लागि उदाहरणीय छ । जवसम्म अस्पतालभित्र रहेका विभागहरुबीचमा समन्वय र सहकार्य हुदैन तवसम्म विरामीले गुणस्तरीय सेवा पाउन सक्दैन भन्ने मलाई लाग्छ । जस्तैः दुर्घटनाको एउटा केश आयो । उसलाई टाउँकोमा पनि चोट छ । खुट्टामा पनि छ । म न्यूरो सर्जन भएकाले टाउकोमा भएको समस्याबारे थाहा होला अथवा हेरौंला तर खुट्टामा लागेको चोटको अवस्था हेर्न त अर्थोकै चिकित्सक चाहिएला । मलाई हात खुट्टा भाँचिएको उपचार त थाहा हुदैन् नि । तर यस्तो अवस्थामा विभागीय चिकित्सकहरु बीचको समन्वय र सहकार्य भेरीमा निकै राम्रो छ । यसले गर्दा विरामीले क्रिटिकल केयर पनि पाउने । र, अर्को तर्फ चिकित्सकबीचमा पनि सहकार्य र समन्वयको भावना जागृत भइरहने हुन्छ ।

अक्सिजन स्मारिकाबाट

  • २१ श्रावण २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech